तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल निर्वाचनः कञ्चनपुरमा ‘हेपिएको’ एकीकृत समाजवादीको माओवादीसँग 'एकीकरणको झल्को' दिने तालमेल
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली, कञ्चनपुर
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल हो। तर यही प्रदेशको कञ्चनपुर जिल्लामा सत्तापक्षीय गठबन्धनबीच चुनावी तालमेल हुन सकेन।
यहाँका नेताहरूले त्यसको मुख्य दोष सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमाथि लगाएका छन्।
बेदकोट नगरपालिका पुग्दा त्यहाँ माओवादी केन्द्र र एकीकृत समाजवादीको चुनाव चिह्न अङ्कित झण्डासहित चुनावी प्रचारप्रसार भइरहेको थियो।
उक्त नगरपालिकाका प्रमुख समेत रहेका एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य अशोक चन्दले भने, “माओवादी केन्द्रले जितेका र हाम्रो दलका नेता प्रमुख रहेका पालिकामा पनि कांग्रेसको दाबी सशक्त रूपमा रह्यो जसले गर्दा तालमेल हुन सकेन।”
तसर्थ "मित्रवत् प्रतिस्पर्धा" गर्ने निष्कर्षका साथ चुनावी मैदानमा ओर्लिएको उनको भनाइ छ।
कांग्रेसलाई आरोप
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूले बेलाबखत सत्तापक्षीय गठबन्धनभित्र आफूहरूप्रति गरिएको व्यवहारलाई लिएर असन्तुष्टिपूर्ण आक्रोश र चेतावनी व्यक्त गरेका थिए।
उनीहरूको निसाना मुख्य रूपमा कांग्रेसलक्षित रहेको बताइन्छ।
कांग्रेसभित्रकै दुईपक्षीय खेमाका नेताहरूले आआफ्नो इलाका छाड्न नमिल्ने अडान पनि तालमेलको बाधक बनेको हो भन्ने नेता चन्दको बुझाइ छ।
उनी भन्छन्, “एक्लै पनि हामी चुनाव जित्छौँ भन्ने उहाँहरूको दम्भका कारणले तालमेल नभएको हो।”
कञ्चनपुरमा देउवापक्षीय नेताहरू रमेश लेखक र एनपी साउदबीच राजनीतिक प्रतिस्पर्धा रहेको बताइन्छ।
दुवै नेताले आआफ्नो निर्वाचन क्षेत्रका पालिका आफ्नै दलमा राख्ने प्रयास गर्नुलाई कतिपय कांग्रेस नेता स्वाभाविक ठान्छन्।
के भन्छ कांग्रेस
तर नेपाली कांग्रेस कञ्चनपुरका सचिव भीम भट्टले केन्द्रीय तहले निर्धारण गरेको मापदण्ड माओवादी केन्द्र र एकीकृत समाजवादीले नै नमानेका कारण तालमेल हुन नसकेको बताए।
उनी भन्छन्, “मापदण्डअनुसार हामीले छवटा पालिका पाउने हुँदाहुँदै पनि हामी पाँच वटा लिएर पनि तालमेल गर्ने पक्षमा थियौँ। तर उहाँहरूले मान्नुभएन, अलि बढी दाबी आयो।”
जिल्लामा तालमेलको प्रयास असफल भएपछि प्रदेशस्तरमा पनि छलफल भएको थियो। त्यहाँ पनि सहमति जुट्न सकेन।
नेता भट्टले कांग्रेसको आन्तरिक समीकरणका कारण तालमेल हुन नसकेको भन्ने कुरा पनि असत्य रहेको बताए।
कांग्रेससँग कुरा नमिले पनि दुई कम्युनिस्ट पार्टीबीच भने तालमेल भएको छ।
पार्टी एकीकरणको झल्को?
प्रमुख र उपप्रमुखमा आआफ्नो चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति गरेका माओवादी केन्द्र र एकीकृत समाजवादीका उम्मेदवार वडा तहमा भने एउटै चुनाव चिह्नबाट उठेका छन्।
नेता चन्दका अनुसार जहाँ जसका वडाध्यक्ष छन् त्यहाँ उही पार्टीको चुनाव चिह्नबाट उम्मेदवार उठाइएको छ।
केन्द्रीय तहमै सुरुमा एउटै चुनाव चिन्हबाट उम्मेदवार बन्ने सामान्य चर्चा चले पनि त्यसमा सहमति हुन सकेन। तर कञ्चनपुरले के दुई दलबीच कतिपयले अनुमान गरे जस्तै पार्टी एकीकरणको सङ्केत गरेको हो त?
चन्द भन्छन्, “चुनावी तालमेल सार्थक बनेमा सफल भएमा त्यसले एक खालको ध्रुवीकरण र पार्टी एकताको निम्ति ढोका पनि खोल्न सक्छ।”
त्यसलाई चुनावी परिणामले निर्देशित गर्ने उनको भनाइ छ।
चुनाव चिह्नले ल्याउने अलमल र स्थानीय आवश्यकताका आधारमा त्यसो गरिएको बताउँदै भन्दले केन्द्रीय नेतृत्वलाई त्यसबारे मनाउने पनि बताए।
उनी भन्छन्, “जिल्ला र प्रदेश कमिटीको समन्वयमा यसो गरिएको हो, नीतिविपरीत होइन।”