अन्तरिक्ष स्टेशनमा पहिलो अश्वेत महिला, इतिहास रच्ने जेसिका वाट्किन्स को हुन्?

नासाकी अन्तरिक्षयात्री जेसिका वाट्किन्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन आईएसएसमा जाने पहिलो अश्वेत महिलाको रूपमा इतिहास बनाएकी छन्।

उनी आईएसएसको स्पेसएक्स क्र्यु-४ अभियान अन्तर्गत चालक दलको चार जनामध्ये एक हुन्।

वाट्किन्सको अन्तरिक्षमा यो पहिलो यात्रा हो त्यहाँ उनले छ महिना वैज्ञानिक प्रयोग गर्नेछिन्।

को हुन् वाट्किन्स?

उनी अमेरिकाको मेरिल्यान्ड राज्यमा जन्मिएको हुन्। यद्यपि हाल उनको गृह नगर कोलोराडो हो।

यी अन्तरिक्षयात्रीले स्ट्यानफोर्ड विश्वविद्यालयमा भूगर्भ र पर्यावरण विज्ञान अध्ययन गरेकी हुन् र लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयबाट भूविज्ञानमा विद्यावारिधि गरेकी हुन्।

भूविज्ञान पृथ्वीको संरचना र सामग्रीहरूको अध्ययन हो।

वाट्किन्स भन्छिन्: "मेरो सहकर्मी अन्तरिक्षयात्रीहरूले मलाई चट्टानप्रति अति रुचि राख्ने व्यक्तिको रूपमा वर्णन गर्छन्।"

वाट्किन्स सन् २०१७ मा नासामा अन्तरिक्षयात्री सम्बन्धी कक्षामा सहभागी हुन चयन भएकी थिइन् र अन्तरिक्षयात्री उम्मेदवारको रूपमा दुई वर्ष लामो प्रशिक्षण लिइन्।

अन्तरिक्षयात्री बन्ने तयारीको क्रममा उनले उडान प्रशिक्षण, जल र जङ्गलमा बाँच्न सक्ने तालिम लिइन् र र अन्तरिक्षमा हिँड्ने अभ्यास गरिन्।

हालसालै वाट्किन्सले नासाको मङ्गल ग्रह पठाइएको यानको वैज्ञानिक समूहको सदस्यको रूपमा काम गरिरहेकी छन्।

उनी अन्तरिक्षसम्बन्धी कार्यमा संलग्न नहुँदा रग्बी, बास्केटबल, फुटबलजस्ता खेल खेल्छिन्, स्कीइङ गर्छिन्, चलचित्र हेर्छिन् र लेखनको आनन्द लिन्छिन्।

इतिहास रच्दै

वाट्किन्सले आफू संलग्न अभियानले अश्वेत युवतीहरूका लागि "उनीहरू सहभागी हुन र सफल बन्न सक्ने उदाहरण कायम गर्ने" न्यूयोर्क टाइम्ससँग बताएकी छन्।

आफूले अन्तरिक्षमा इतिहास बनाएका अन्य धेरै अफ्रिकी अमेरिकीहरूलाई पछ्याउने उनले बताइन्।

गुइओन ब्लूफोर्ड सन् १९८३ मा एक मिसनअन्तर्गत अन्तरिक्षमा पुग्ने पहिलो अफ्रिकी अमेरिकी बने।

सन् १९९२ मा अन्तरिक्षमा यात्रा गर्ने पहिलो अफ्रिकी अमेरिकी महिला डा. मे क्यारोल जेमिसन थिइन्।

त्यस्तै सन् १९९५ मन बर्नार्ड ह्यारिस स्पेस वाक गर्ने पहिलो अफ्रिकी अमेरिकी बने।

अभियानमा अरू को छन्?

वाट्किन्स अभियानका निम्ति नासा अन्तरिक्ष यात्रीहरू केजेल लिन्डग्रेन र रोबर्ट हिन्स साथै युरोपेली अन्तरिक्ष एजेन्सी ईएसएकी अन्तरिक्षयात्री सामन्था क्रिस्टोफोरेटीसँग सहभागी हुँदैछिन्।

आईएसएसले २१ वर्षभन्दा लामो समयदेखि पृथ्वीको परिक्रमा गरिरहेको छ।

मिसनमा सहभागीहरू त्यहीँ बस्छन् र काम गर्छन्।

त्यहाँ विज्ञानसम्बन्धी विभिन्न प्रयोगहरू सञ्चालन गरिन्छ, नयाँ प्रविधिहरूको परीक्षण र पृथ्वीमा सम्भव नभएका अनुसन्धान गरिन्छ।