के रुसी अन्तरिक्षयात्री युक्रेनी रङ्गमा अन्तरिक्ष स्टेशन पुगेका हुन्?

रुसी अन्तरिक्ष एजेन्सीले रुसी अन्तरिक्षयात्रीहरू युद्धको विरोधमा युक्रेनको झन्डाको रङ्गको पोसाकमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन आईएसएस प्रवेश गरेको कुरा अस्वीकार गरेको छ।

युक्रेन युद्ध सुरु भएयता पहिलो पटक रुसी अन्तरिक्षयात्री आईएसएस पुग्दा उनीहरूले नीलो मिसिएको पहेँलो रङ्गको पोसाक लगाएका थिए।

उनीहरूलाई आईएसएसमा रहेका अमेरिकी, रुसी र जर्मन अन्तरिक्षयात्रीहरूले स्वागत गरेका थिए र संसारभर उनीहरू युक्रेनी रङ्गमा त्यहाँ पुगेको प्रचार भएको थियो।

"कहिलेकाहीँ पहेँलो भनेको पहेँलो रङ्ग मात्रै हुन्छ," रोसकसमस अन्तरिक्ष एजेन्सीले भनेको छ।

आईएसएस रुस, अमेरिका, क्यानडा, जापान र अन्य युरोपेली देशहरूको संयुक्त परियोजना हो।

यसको नेतृत्व अमेरिका र रुसले गर्छन् र विगत दुई दशकमा यी दुई देशबीच तनावको अवस्थामा पनि यो साझेदारी कायम छ।

रुसी अन्तरिक्षयात्रीहरू डेनिस माट्भेयभ, ओलेग आर्टेमयेभ र सेर्गेइ कोर्साकोभ काजाखस्तानस्थित रुसी अन्तरिक्ष केन्द्रबाट तीन घण्टा लामो यात्रा गरेर आईएसएस पुगेका थिए।

आईएसएसमा जोडिएको केही घण्टापछि उनीहरूका लागि आईएसएसको प्रमुख कक्षको ढोका खोलिएको थियो। त्यसपछि तीन हँसिला अन्तरिक्षयात्री तैरिँदै प्रवेश गरेका थिए।

रुसी अन्तरिक्षयात्रीहरूले सामान्यतया नीलो पोसाक लगाउँछन् र तीनमध्ये कम्तीमा एक यात्रीले पृथ्वीमा यानमा प्रवेश गर्दा नीलो पोसाक लगाएको बताइएको छ।

उनीहरू आईएसएस प्रवेश गरेको दृश्य नासा र रोसकसमस दुवैले प्रत्यक्ष प्रसारण गरेका थिए।

"हाम्रो पोसाक छान्ने पालो थियो," किन त्यस्तो रङ्गको लुगा लगाएको भन्ने प्रश्नमा आर्टेमयेभले भने।

"हामीसँग धेरै पहेँलो सामग्री थियो जसको हामीले प्रयोग गर्नु थियो। त्यसैले हामीले पहेँलो लगाउनु पर्‍यो।"

युक्रेनमाथि रुसले आक्रमण गरेयता विश्वभर मानिसहरूले ऐक्यबद्धता जनाउन पहेँलो र नीलो रङ्गको प्रयोग गर्दै आएका छन्।

तर रोसकसमसले उनीहरूले युद्धको विरोध गरेको कुरालाई विदेशी ब्लगर र सञ्चारमाध्यमको 'हाँस उठ्दो आविष्कार' भनेको छ।

"तीनै अन्तरिक्षयात्री पढेको बौमन मस्को स्टेट टेक्निकल युनिभर्सिटीको प्रतीक चिन्हको रङ्गको आधारमा पोसाक बनाइएको हो... सबै कुरा र सबैतिर युक्रेनी झन्डा देख्नुहुन्न," रोसकसमसले भनेको छ।

रोसकसमसले पछि आर्टेमयेभले अर्को पोसाक लगाएको तस्बिर प्रकाशन गरेको छ।

यी तीन रुसी अन्तरिक्षयात्रीले छ महिना आईएसएसमा बिताउने छन्। तीन अन्य अन्तरिक्षयात्री मार्च ३० मा पृथ्वीमा फर्किने छन्।