युक्रेनमा अर्को सामूहिक चिहान फेला, ‘नियोजित रूपमा गैर सैनिकलाई निशाना बनाइएको’ ब्रिटेनको आरोप

युक्रेन

तस्बिर स्रोत, Reuters

ब्रिटेनको रक्षा मन्त्रालयले रुसी फौजहरूले युक्रेनमा गैरसैनिकलाई निशाना साँध्ने नियोजित रणनीति अवलम्बन गरेको थप प्रमाणहरू भेटिएको जनाएको छ।

मस्कोले विस्फोटक सामग्रीहरूको प्रयोग गरेको र पूर्वाधारमा आक्रमण गर्दा उच्च जोखिम देखिएको ब्रिटेनले बताएको छ।

रुसी फौजहरूले पूर्वी युक्रेनमा ध्यान बढाउँदा गैरसैनिकलाई लक्षित गरिएको उत्तरतर्फ सामूहिक चिहान र बन्धकहरूलाई मानव ढालका रूपमा प्रयोग गरिएका प्रमाण त्यसै छाडिएको मन्त्रालयको भनाइ छ।

ब्रिटेनको विश्लेषणमा रुसले बढ्दो मानवीय क्षतिका कारण सन् २०१२ यता अवकाशमा गएका सैनिकहरूलाई रुसले पुन प्रयोगमा ल्याउन चाहिरहेको छ।

उसले रुसले आफ्नो क्षमता अभिवृद्धिका लागि मल्डोभाको एउटा क्षेत्रबाट फौज भर्ना गर्न खोजिरहेको उल्लेख गरेका छन्।

ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसनले अप्रत्याशित रूपमा युक्रेनको भ्रमण गरेका तस्बिर सार्वजनिक भएका छन्।

ब्रिटिस प्रधानमन्त्रीको कार्यालयले युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउन उक्त भ्रमण भएको उल्लेख गरेको छ।

यसैबीच यूकेका प्रहरी मामिलासम्बन्धी मन्त्री किट माल्टहाउसले यूकेले युद्ध अपराधमा संल्गन रुसी फौज र संदिग्ध सैनिक अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएका छन्।

स्काइ न्यूजसँग कुरा गर्दै उनले द्वन्द्वका क्रममा भएका जघन्य अपराधहरूबारेका प्रमाण 'स‌म्भव भएसम्म खोजिने' बताए।

नयाँ सामूहिक चिहान फेला

उता युक्रेनले रुसी फौज फिर्ता भएपछि किएभनजिकै नयाँ सामूहिक चिहान फेला परेको बताएको छ।

बुजोभा गाउँ नजिकै फेला परेको चिहानमा दर्जनौँ गैरसैनिकका शव रहेको र तीनलाई एउटा पेट्रोल पम्प नजिकै खाल्डोमा पुरिएको जनाइएको छ।

यसको स्वतन्त्र पुष्टि भएको छैन तर हालसम्म किएभ नजिकैका विभिन्न क्षेत्रमा यस्ता सामूहिक चिहान फेला परेका छन्।

युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म उक्त क्षेत्र कब्जा गरेको थियो।

युक्रेन

युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रिय स्तरबाट नै मस्कोको निन्दा भएको छ।

तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकारले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि 'वास्तविक प्रतिबन्ध' लगाएमा युक्रेनमा जारी युद्ध रोकिन सक्ने बताएका छन्।

सन् २००५ सम्म पुटिनसँग काम गरेका आन्द्रेइ इलारीनोभले बीबीसीसँग कुरा गर्दै ऊर्जाको प्रयोग घटाउने अरू देशका चेतावनीलाई क्रेमलीनले गम्भिरतापूर्वक नलिएको बताए।

अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले मस्कोको सरकारको बजेटको एकतिहाइ भन्दा बढी ओगटेको थियो।

इलारीनोभले राम्रोसँग प्रतिबन्ध लगाइए युक्रेनमा जारी रुसी कारबाही एक वा दुई महिनामा नै बन्द हुने बताए।

युरोपेली सङ्घ एक्लैले रुसलाई ऊर्जाका लागि प्रतिदिन एक अर्ब युरो तिर्ने गर्छ।