युक्रेन-रुस युद्धः मारिओपोलका ८० प्रतिशत भवन क्षतिग्रस्त, रुसी सेना पुगेपछि भिडन्त जारी

मारिओपोलमा सेना

तस्बिर स्रोत, Getty Images

रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ।

रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए। मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे।

"सहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन," उनले भने।

यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्।

ढिलो नगरी शान्तिवार्ता गर्न आह्वान

युक्रेनका राष्ट्रपतिले मस्कोलाई "अविलम्ब" अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन्।

जेलेन्स्की

तस्बिर स्रोत, Telegram/Zelensky Official

युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना "गल्ती" बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ।

राति गरेको भिडिओ सम्बोधनमा उनले भने, "रुसका लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केवल यो मात्र एउटा अवसर हो।"

"यो भेट्ने बेला हो, यो कुरा गर्ने बेला हो, यो भूमिको अखण्डता र युक्रेनका लागि न्याय पुनर्स्थापित गर्ने बेला हो।"

"अन्यथा रुसको क्षति यस्तो हुन्छ कि त्यो पूर्ति गर्न धेरै पुस्ता लाग्छ।"

मारिओपोल

तस्बिर स्रोत, Reuters

मारिओपोलमा आतङ्क

मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।

तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, "हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।"

"उनीहरूले सहरका सबै वस्तुमाथि प्रहार गरिरहेका छन्। अनेक अस्त्रहरू प्रयोग भएका छन्," उनले भनिन्।

युलिया याशेन्को

उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। "तर ती शव जम्मा गर्ने कोही छैन।"

रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ।

दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्।

विभिन्न भवनको अंश र किनमेल गर्ने केन्द्रहरू पूरै ध्वस्त भएको भिडिओहरू सार्वजनिक भएका छन्।

रुसी आक्रमणका कारण उक्त सहरमा विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ।

अधिकारीहरूका अनुसार आजोभ सागरसँग मारिओपोलको पहुँच पनि अवरुद्ध भएको छ।

मारिओपोल युक्रेनको प्रमुख व्यापारिक बन्दरगाह सहर हो। त्यहाँको जनसङ्ख्या साढे चार लाख थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युक्रेन युद्धः के सर्वसाधारण नागरिकले कहिलेकाहीँ फौजलाई रोक्न सक्छन्?

नाटकघरको भग्नावशेषमा खोजी जारी

बुधवार रुसी बम आक्रमणमा परेको सयौँ मानिसहरूले आश्रय लिइरहेको नाटकघरको भग्नावशेषमा खोजी कार्य जारी छ।

राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त नाटकघरको भूमिगत तलामा १,३०० जनाजतिले आश्रय लिएका थिए।

रुसले तीन साताअघि युक्रेनमा आक्रमण सुरु गरेदेखि हालसम्म ३० लाखभन्दा बढी मानिसले युक्रेन छोडेको राष्ट्रसङ्घले जनाएको छ।

जेलेन्स्कीका अनुसार नाटकघरको भूमिगत तलाबाट १३० जनालाई जीवित फेला पारिएको छ भने सयौँ मानिस अझै त्यहाँ फसिरहेका छन्।

नगर परिषद्का अनुसार गम्भीर रूपमा घाइते भएका एक व्यक्ति उद्धारकर्मीहरूले फेला पारेका थिए। तर कसैको मृत्यु भएको विवरण आएको छैन।

मस्कोमा पुटिनको भाषण

युक्रेनमा युद्ध जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया रुसमा गाभिएको आठौँ वार्षिकोत्सव मनाउँदै मस्कोको लुज्निकी रङ्गशालामा हजारौँ रुसीहरूलाई सम्बोधन गरे।

पुटिनले देशप्रतिको प्रेम पुष्टि गर्न नियमित रूपमा वार्षिकोत्सवको प्रयोग गर्दै आएका छन्।

पुटिनको संबोधनमा उपस्थितहरू।

तस्बिर स्रोत, RAMIL SITDIKOV/POOL/AFP

रुसी अधिकारीहरूका अनुसार रङ्गशालामा दुई लाखभन्दा बढी मानिस उपस्थित थिए।

यद्यपि उक्त सङ्ख्या प्रमाणित हुन भने सकेको छैन। किनभने उक्त रङ्गशालाको आधिकारिक क्षमता ८१,००० छ।

समारोहका क्रममा रङ्गशाला बाहिर पनि मानिसहरूको ठूलो भिड थियो।

र्‍यालीमा उपस्थित थुप्रै मानिसले बीबीसीसँग आफू सार्वजनिक सेवामा रहेको र आफ्नो रोजगारदाताले त्यहाँ आउन दबाव दिएको बताए।

मस्को मेट्रोमा कार्यरत एक मानिसले आफू र अन्य सहकर्मीलाई त्यहाँ उपस्थित हुन दबाव दिइएको बताएका छन्।

"हामीलाई थाहा छ हामीले अब के गर्नुपर्छ," रुसी राष्ट्रपतिले सम्बोधनमा भने। "हामीले बनाएका सबै योजनाहरू अवश्य पूरा हुनेछन्।"

सभामा सम्बोधन गर्दै पुटिनले सेनाको प्रशंसा गर्दै उसले रुसी एकता प्रदर्शन गरेको बताए।

पुटिन

तस्बिर स्रोत, Kremlin Pool/EVN

"आवश्यक परेको बेला उनीहरू दाजुभाइ जसरी एकअर्कालाई गोलीबाट जोगाउन आफ्नो शरीरले छेक्छन्। त्यस्तो एकता लामो समयदेखि थिएन।"

रुसी सेनाले पूर्वी युक्रेनमा मानिसहरूलाई नरसंहारबाट जोगाइरहेको मिथ्या दाबी उनले फेरि गरे।

सरकारी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण भएको उनको सम्बोधन बीचमै काटिएर राष्ट्रवादी गीत बजेको थियो।

क्रेम्लिनले त्यसलाई प्राविधिक त्रुटि भएको बताएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, रुससँग कतिवटा परमाणुअस्त्र छन्?

मुद्दा चलाउन माग

ब्रिटेनका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले युक्रेनमा गरेको आक्रमणका लागि भ्लादिमिर पुटिनलाई एउटा अन्तर्राष्ट्रिय न्यायाधिकरणमा मुद्दा चलाइनुपर्ने माग गरेका छन्।

उनीसहित १४० प्राज्ञ, वकिल र नेताले दोस्रो विश्वयुद्धपछि नाजी युद्ध अपराधीहरूलाई मुद्दा चलाए जसरी एउटा न्यायिक प्रणाली निर्माण गर्न आह्वान गरेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले रुसी राष्ट्रपतिविरुद्ध युद्ध अपराधको आरोपमा यसअघि अनुसन्धान सुरु गरिसकेको छ। यद्यपि जानकारहरूले आईसीसीको शक्ति सीमित भएको बताएका छन्।

न्यायाधिकरणले अन्तर्राष्ट्रिय कानुनको एउटा कमजोरी "जुनलाई पुटिनले न्यायिक प्रक्रियाबाट जोगिन प्रयोग गर्न सक्छन्" त्यसलाई हटाउन सक्ने गर्क ब्राउनले डेली मेलमा प्रकाशित लेखमा गरेका छन्।

पूर्वराष्ट्रपतिहरूको ऐक्यबद्धता

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जर्ज डब्ल्यू बुशले युक्रेनी नागरिकको समर्थन जनाउँदै शिकागोस्थित एउटा युक्रेनी चर्चको भ्रमण गरेका छन्।

उनीहरूले सेन्ट्स भोलोदिमिर र ओल्हा क्याथोलिक चर्चमा नीलो र पहेँलो रिबनले बेरेको सूर्यमुखी फूल चढाए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

क्लिन्टनले भ्रमणबारे ट्वीट गरेका छन्।

उनले स्वतन्त्रताका लागि र दमनविरुद्ध सङ्घर्ष गरिरहेका युक्रेनी नागरिकसँगै अमेरिका उभिएको लेखेका छन्।

अमेरिकाको चेतावनी

रुससँग सम्बन्धका भएका झन्डै १०० वटा विमानलाई अमेरिकामा सरकारले उड्न रोकिदिएको छ।

तीमध्ये रुसी धनाढ्य रोमन अब्रामोभिचको एउटा निजी विमान पनि छ।

पचपन्न वर्षीय अब्रामोविच चेल्सी फुटबल क्लबका मालिक हुन्। उनको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकट सम्बन्ध रहेको बताइन्छ। तर उनले यस कुरा स्वीकार गरेका भने छैनन्।

अमेरिकी वाणिज्य मन्त्रालयले ती विमानलाई रुससहित विश्वमा जुनसुकै स्थानमा सेवा उपलब्ध गराएको पाइए ठूलो जरिवाना र जेल सजाय हुनसक्ने चेतावनी दिएको छ।

रुसमाथि लगाइएका प्रतिबन्धका कारण ती विमानमा पनि प्रतिबन्ध लगाइएको अमेरिकी भनाइ छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, घाइते सैनिकलाई भेट्दै युक्रेनी राष्ट्रपति