युक्रेन युद्ध: रुस नियन्त्रित युक्रेनी सहरमा मानिसहरू कसरी बाँचिरहेका छन्

मारिओपोलमा आगजनी

तस्बिर स्रोत, Reuters

    • Author, डिआना कुरिस्को
    • Role, बीबीसी युक्रेनियन

रुसी फौजले घेरा हालेका वा कब्जा गरेका युक्रेनका सहर र गाउँहरू सहयोगको याचना गरिरहेका छन्।

गोलाबारीको त्रास त छँदै छ, त्यस्ता स्थानका बासिन्दाहरू भोकमरी र चिसोले समेत प्रताडित बनेका छन्।

ती सहर र गाउँमा पानी छैन, तातो बनाउने कुनै उपकरण छैन र बिजुली पनि छैन।

किएभको उत्तर र पश्चिमका गाउँहरू र मारिओपोलममा मानवीय सङ्कट छ।

बीबीसी न्यूज युक्रेनलाई बताइएअनुसार मानिसहरू रुस नियन्त्रित स्थानमा यसरी बसिरहेका छन्:

मारिओपोल: खुला ठाउँमा आगो बालेर खाना

मारिओपोल देखिने हरेक भिडिओहरूमा अन्ना तोकमाक्ची आफ्नो घर खोज्ने प्रयास गरिरहेकी छिन्।

रुसी सेनाले घेरा हालेको उक्त सहरमा रहेकी आमासँग उनको पाँच दिनदेखि सम्पर्क हुन सकिरहेको छैन।

मारिओपोलमा भएको भीषण गोलाबारीका कारण सहर पूर्ण भग्नावशेषमा रूपान्तरण भएको छ। यो ठाउँ एक साताभन्दा लामो समयदेखि रुसी कब्जामा छ।

यहाँ बिजुली, पानी र खानाको अभाव छ। सञ्चार सम्पर्क नियमित छैन।

बाटोहरू ध्वस्त भएका कारण सहर छोड्न कठिन छ। यहाँबाट मानिसहरूलाई उद्धार गरेर अन्यत्र लैजाने प्रयासहरू भइरहे पनि मानवीय निकासमार्गहरूमा निरन्तर आक्रमण भइरहेको छ।

"मैले भिडिओमा मेरो घर भेट्टाएँ, त्यो अझैसम्म जस्ताको त्यस्तै रहेछ। म हरेक नयाँ भिडिओ आउँदा आफ्नो घर हेर्छु। अझैसम्म घर त्यहीँ भेट्दै छु। मलाई आमा जीवितै होलिन् भन्ने आशा छ। गोला बारुद टाउकै माथिबाट बहँदा त्यो ठाउँ कति डरलाग्दो हुन्छ होला भन्ने म कल्पना गर्छु," उनले फेसबुकमा लेखेकी छन्।

खुला आकाशमा खाना पकाउँदै युक्रेनि महिला

तस्बिर स्रोत, Azov.org.ua

उनले सामाजिक सञ्जालमा रहेका मारिओपोलका सबै समूहहरूमा लेखिएका कुराहरू पढ्ने र स्वयंसेवकहरूलाई उक्त ठेगानाको अवस्था बुझ्न आग्रह गर्ने गरेकी छन्।

अहिलेसम्म केही जानकारी हात लागेको छैन। यद्यपि मारिओपोलकी एक जना साथीसँग टेलिफोनमा कुरा गर्न उनी सफल भएकी छन्।

"त्यहाँ सम्पर्क एकदमै खराब छर बीचबीचमा सम्पर्क टुट्छ। उताबाट बोलेको सुन्न नै मुस्किल हुन्छ। उनीहरू त्यहाँ अड्किएका छन्, बाटोमा आगो बालेर खाना पकाउँछन् र पानीको खोजीमा छन्," साथीसँगको कुराकानी सम्झँदै उनले सुनाइन्।

मारिओपोलबाट पठाइएका भिडिओहरूमा मानिसहरू पानीको लागि लामबद्ध भएको, आगो वरपर झुम्मिएको र धेरै जनालाई एकै ठाउँमा खाना पकाइएको देखिन्छ।

सहरमा हिउँ परिरहेको छ। मानिसहरू कुराकानी गर्ने सामाजिक सञ्जालका समूहहरूमा हिउँ पगालेर पानीको अभाव कम गर्न सकिन्छ भन्दै ठट्टा गरिरहेको भेटिन्छ।

फोन सम्पर्क हुने ठाउँ भेट्टाएर मारिओपोलकी ओक्सानाले आफ्नी नातिनी तातिनालाई सम्पर्क गर्न सफल भइन्।

"हामी भएको ठाउँमा निरन्तर गोलाबारी भइरहेको छ। हामी बिजुली र ग्यासको अभावमा छौँ। हामीले बालबच्चा र बुढाबुढीलाई सहयोग गरिरहेका छौँ। हामीसँग भएको पानीदेखि खानेकुरासम्म बाँडेर खाइरहेका छौँ," उनले सुनाइन्।

सहरमा लुटपाट गर्ने विरुद्ध कसैले प्रतिकार नगरेको र सङ्गठित सहायता नपुगेकोमा उनी आक्रोशित छिन्। उनले टेलिफोन कुराकानी गरेको अघिल्लो दिन मात्रै रेडक्रसको कार्यालयमा बम प्रहार भएको थियो।

ओक्सानाका अनुसार मारिओपोलमा मानवीय सङ्कट छ। मानिसहरू भूमिगत तल्लामा बसिरहेका छन् र निरन्तर बम आक्रमण भइरहेको छ।

"हामी थुनिएका छौँ। हामीले चार पटकसम्म यहाँबाट भाग्न कोसिस गरे पनि सकेनौँ। हामी सहयोगका लागि याचना गर्दैछौँ," उनले टेलिफोनमा भनिन्।

उद्धार

तस्बिर स्रोत, AFP

यो सहरका मानिसहरूले दोस्रो विश्वयुद्धमा दुई वर्ष चार महिनासम्म जर्मन फौजको कब्जामा रहेको लेनिनगार्डको अवस्था सम्झन थालिसकेका छन्।

मारिओपोलमा एउटा प्रसूति अस्पताल ध्वस्त बनाइएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले पनि त्यही अवस्थासँग तुलना गरेका थिए।

मारिओपोलमा बसहरू प्रवेश गर्न दिइएको छैन। युक्रेनी सेनाका क्षेत्रीय प्रशासकले युरोपमा "उक्त घटनालाई २१ औँ शताब्दीको नरसंहार" भनेका छन्।

अधिकारीहरूले मारिओपोलमा मारिनेको सङ्ख्या अझै यकिन हुन नसकेको बताएका छन्।

युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले यसलाई "अत्याचार" भनेका छन्।

मित्रिभ्का: १० दिनदेखि भूमिगत तल्लामा

मित्रिभ्का रुसी सेनाको नियन्त्रणमा रहेको किएभभन्दा पश्चिम तर्फको जहाईतोम्योर राजमार्ग क्षेत्र हो।

यो क्षेत्र अझैसम्म उद्धारका लागि मानव निकासमार्गमा परेको छैन। यहाँबाट मानव निकासमार्गका अन्य ठाउँहरूमा पुग्न लडाइँ चलिरहेका धेरै क्षेत्रहरूमा रुसी जाँचकेन्द्रहरू पार गर्दै पैदल हिँड्नुपर्ने हुन्छ।

कत्या किएभमा बस्छिन्। उनको परिवारले वर्षौँदेखि बनाएको घरको बगैँचामा केही दिनअघि एउटा बम खस्यो। रुसी क्षेप्यास्त्रले उनको घरको छानाको केही भाग, झ्याल, ढोका, पर्खाल र ग्यारेजमा क्षति पुर्‍यायो।

"मेरी आमा अझै त्यो घरमा बसिरहेकी छिन्। त्यहाँ बिजुली, पानी र सम्पर्क टुटेको छ। उनी यो चिसोमा पकाएर खान सक्दिनन्," कत्याले फेसबुकमा लेखेकी छिन्।

सडकमा रुसी बख्तरबन्द गाडीहरू गुडिरहेका, सिपाहीहरूले लुटपाट गरिरहेको र उनीहरूबीचको कुराकानी पर्खाल भित्रैबाट सुन्न सकिन्छ।

क्षतिग्रस्त भवन

तस्बिर स्रोत, Reuters

बाहिर जान हिम्मत गर्नेहरूलाई गोली हान्ने गरिएको छ। कत्याको परिवार र छिमेकीहरू १० दिनदेखि भूमिगत तल्लामा बसिरहेका छन्।

पाँच दिनयता उनीहरू बिजुली र तातोबिना बसिरहेका छन्।

पानी तान्ने पम्पहरू बिजुलीबाट चल्ने भएकाले पानी पनि छैन। उनीहरूसँग चुलो छ तर खाना पकाउँदा निस्कने धुवाँले उनीहरू बसेको ठाउँबारे जानकारी चुहिने डरले उनीहरूले खाना पकाउन सकिरहेका छैनन्।

एक जना छिमेकीको परिवार खानाको अभाव भएपछि गाउँबाट निस्किए। तर उनीहरूसँगको सम्पर्क टुटेका कारण कहाँ पुगे भन्नेबारे कसैलाई जानकारी छैन।

आफू जिउँदै भएको जानकारी गराउन कत्याकी आमाले कहिलेकाहीँ उनलाई फोन गर्छिन्। फोनमा मानिसहरू कराएको र बमको आवाज सुनिन्छ।

मित्रिभ्का मानवीय निकास क्षेत्रबाट टाढा रहेका कारण कत्यालाई उनीहरूलाई कसरी सहयोग गर्ने र आफ्नो परिवारलाई कसरी बाहिर निकाल्ने भन्नेबारे थाहा छैन।

"म रोइरहेकी छु। म निरुपाय छु। उनलाई कसरी सहयोग गर्ने मलाई थाहा छैन। तिमीलाई धेरै माया गर्छु आमा। मैले लेखेका कुराहरू त्यहाँ नपुगे पनि कति माया गर्छु तिमीलाई थाहै छ," उनले फेसबुकमा लेखेकी छिन्।

किएभ क्षेत्र: युद्धको एक डायरी

ततियाना (सुरक्षाका कारण नाम परिवर्तन)ले किएभ नजिकका मानिसहरूबारे अनलाइन डायरी राख्ने गरेकी छिन्।

उनले लेखेका कुराहरू एक जना साथीलाई पठाएर फेसबुक पेजमा प्रकाशित गर्छिन्।

मार्च ९ मा प्रकाशित डायरीमा भनिएको छ:

मारिओपोल

तस्बिर स्रोत, Azov.org.ua

"युद्धको दोस्रो दिनदेखि यहाँ बिजुली छैन। हामी दाउरा बटुल्ने, इनारबाट पानी ल्याउने र पकाउने जस्ता घरायसी काम गर्छौँ। गाउँमा हामी सानो एउटा समुदाय बनेका छौँ जहाँ सबैले आफूसँग भएको कुरा बाँडिचुँडी प्रयोग गर्छौँ। मलाई विश्वास छ देशैभरि यस्तै भइरहेको छ," उनले लेखेकी छिन्।

त्यसको अघिल्लो दिन उनले हिउँ र घामका कारण पानी र उज्यालो पाउँदा खुसी लागेको कुरा लेखेकी थिइन्।

कहिलेकाहीँ उनले छोटो सन्देश मात्र लेख्छिन्, "जिउँदै छु। अलिअलि भए पनि फोन रिचार्ज गरियो।"

खेअर्सन: सामान किन्न घण्टौँ लाइन

रुस नियन्त्रित खेअर्सनमा विगत १० दिनदेखि ग्यास, बिजुली र तातोको अभाव छ। मानिसहरू हरेक कुराको अभावमा छन्।

खेअर्सनका एन्द्री (सुरक्षाका कारण नाम परिवर्तन) युद्ध अगाडि सूचनाप्रविधि विशेषज्ञ थिए।

तर इन्टरनेट नियमित नभएका कारण उनले अहिले काम गरिरहेका छैनन्। उनको दिन खानेकुरा खोज्न र किन्नका लागि लाइन लाग्दैमा बित्ने गरेको छ।

"स्याउ किन्न म एक घण्टा लाइन बसेँ। आलु किन्न अर्को साढे दुई घण्टा लाइन बस्नुपर्‍यो। त्यसपछि माछा किन्न अर्को दुई घण्टा लाग्यो। बिहान ९ बजे निस्किएको फर्कँदा ३ बज्यो," उनले भने।

सुपर मार्केटहरूमा पिस्ता र आइसक्रिम मात्रै उपलब्ध छन्। दूध पनि नियमित पाइँदैन। नजिकैको एउटा फर्मबाट मानिसहरूले कुखुराको मासु पाइरहेका छन्।

युद्ध क्षेत्रमा हिँड्दै गरेका मानिसहरु

तस्बिर स्रोत, DIMITAR DILKOFF

तर रुसी आक्रमणका कारण दशौँ लाख कुखुराहरूलाई खुवाउने सामग्रीको अभाव छ।

"हामीले यहाँका सबै कुखुरा खाइसक्ने भयौँ त्यसपछि के खाने?" एन्द्रीको प्रश्न छ।

उनका अनुसार विपक्षी सेनाले कुखुरापालन केन्द्रमा काम अवरोध गरेर उनीहरूलाई भोकै मर्न वा रुसी सहायता सामग्री लिन बाध्य बनाउन कोसिस गरिरहेका छन्।

हाल ट्रकहरूमा ल्याइने रुसी सहायता सामग्री लिन खेअर्सनबासीले अस्वीकार गर्दै आएका छन्।

"रुसीले खाना दिन्छन् तर केही घरबारविहीन भएका मानिसहरूले मात्रै त्यसलाई स्वीकार गर्ने गरेका छन्। यहाँका मानिसहरू युक्रेनी सहायताको पर्खाइमा छन्," उनले भने।

तर रुसी फौजले उक्त क्षेत्रमा युक्रेनी ट्रकहरूलाई जान दिएका छैनन्। एन्द्री यद्यपि आफ्नो ठाउँ छोडेर जान तयार छैनन्। उनी आफ्नो घरमा लुटपाट भएको र ठाउँ अर्कैको होस् भन्ने चाहँदैनन्।

"तर करिब पाँच लाख मानिसहरू बस्ने यो सहर खानेकुराबिना कति समय टिक्न सक्छ भन्ने कसलाई के थाहा" उनी भन्छन्।

आइलोना ह्रोमलिक र ओलेग चेअरनिसको सहयोगमा

Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line