तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेन-रुस युद्ध: पश्चिमा प्रतिबन्धको जबाफमा रुसद्वारा दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रुसले त्यसको जबाफमा सन् २०२२ को अन्त्यसम्मका लागि आफ्नो देशबाट विभिन्न सामग्री निर्यातमा रोक लगाएको छ।
रुसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनहरूको निर्यातमा रोक लाग्नेछ।
रुसको अर्थ मन्त्रालयले थप प्रतिबन्धहरूमा रुसी बन्दरगाहमा विदेशी पानी जहाजहरूलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने जनाएको छ।
उसले भनेको छ, "यो उपाय रुसमाथि थोपिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो।"
रुसले "मैत्रीपूर्ण व्यवहार नगर्ने" देशमाथि लगाइएको प्रतिबन्ध "अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्य"का साथ लगाइएको बताएको छ।
रुसी निकासी प्रतिबन्धमा २०० भन्दा बढी उत्पादनहरू समावेश गरिएका छन् र यस्तो प्रतिबन्ध यो वर्षको अन्त्यसम्म कायम रहनेछ।
पश्चिमाहरूले विशेषगरी रुसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।
त्यस्तै उनीहरूले राष्ट्रपति भ्लादिमिर पुटिननजिक मानिने रुसी अर्बपतिविरुद्ध पनि त्यस्ता आर्थिक प्रतिबन्धलाई केन्द्रित गरेका छन्।
रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्।
रुसी आदेशमा जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रुसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने उल्लेख छ।
प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रुसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको निर्यात पनि समावेश हुने बताएका छन्।
त्यस्ता वस्तुमा कार र रेलका कन्टेनरहरू पनि समावेश छन्।
युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री
- कारणःरुसले युक्रेनमा किन आक्रमण गर्यो?
- जेलेन्स्कीः हास्य कलाकार राष्ट्रपति जो नायकका रूपमा उदाएका छन्
- पुटिनः के रुसी राष्ट्रपति अरूको कुरा सुन्छन्?
- युक्रेनबाटःयुक्रेनी नागरिकको अवस्था झल्काउने तस्बिरहरू
- रुसबाटः ‘छोरो फिर्ता पाउन कसको ढोका ढकढक्याऊँ’: रुसी महिलाको बिलौना
- इतिहासः३० वर्षअघि सोभियत सङ्घ ढल्नुका पाँच कारण
रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भेदेभले रुसबाट बाहिरिएका पश्चिमी कम्पनीहरूको स्वामित्वमा रहेको सम्पत्तिलाई राष्ट्रियकरण गर्न सकिने चेतावनी दिएलगत्तै सरकारको यस्तो निर्णय आएको हो।
रुसमा अहिले औद्योगिक तथा खनिज क्षेत्रका ठूला बहुराष्ट्रिय कम्पनीहरूले सामूहिक रूपमा लगानी रोकिरहेका छन्।
बुधवार मस्कोले अनुमोदन गरेको एउटा कानुनले देश छोड्ने विदेशी कम्पनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने दिशामा पहिलो कदम चालेको बताइएको छ।
बिहिवार एउटा वक्तव्यमा मेद्भेदेभले भनेका छन्, "रुस सरकारले पहिले नै केही उपायमा काम गरिरहेको छ र त्यसमा… विदेशी कम्पनीका सम्पत्तिको राष्ट्रियकरण समावेश छ।"
"विदेशी कम्पनीहरूले के बुझ्नुपर्छ भने उनीहरूलाई हाम्रो बजारमा फर्कन गाह्रो हुनेछ।"
उनले विदेशी लगानीकर्ताले सामान्य रुसी नागरिकमा "आतङ्क" सिर्जना गरेको आरोप पनि लगाएका छन्।