नूर मुकद्दमः बिहेको प्रस्ताव अस्वीकार गरेपछि पाकिस्तानी कूटनीतिज्ञकी छोरीको हत्यापछि शिरोच्छेदन

तस्बिर स्रोत, AAMIR QURESHI/AFP via Getty Images
पाकिस्तानमा एउटा अदालतले बिहेको प्रस्ताव अस्वीकार गर्ने एक युवतीको बलात्कार र हत्या गरेको ठहर गर्दै एक युवकलाई मृत्युदण्डको फैसला सुनाएको छ।
गत वर्ष जुलाई २० मा हत्या गरिएकी नूर मुकद्दम पाकिस्तानका एक भूतपूर्व कूटनीतिज्ञकी छोरी हुन्। उनी २७ वर्षकी थिइन्।
धनाढ्य परिवारका जाहिर जाफरले पीडित युवतीलाई कुटपिट तथा बलात्कार गरी पछि उनको हत्या गरेर शरीरबाट टाउको छुट्ट्याइएको थियो।*
सीसीटीभी फुटेजमा मुकद्दमले भाग्ने प्रयास गरेको देखिन्छ। प्रहरीले गरेको अनुसन्धानमा उनले आफूलाई छोडिदिन आग्रह गरेको खुलेको थियो।
उक्त भिडिओमा उनले पहिलो तलाको झ्यालबाट हाम फालेको तर उनलाई फेरि तानेर भित्र लगिएको देखिन्छ। त्यहाँ नै उनलाई यातना दिइएको, बलात्कार गरिएको र हत्यापछि अन्ततः उनको शिरोच्छेन गरिएको थियो।
उक्त हत्याले देशभरि चर्को आक्रोश उत्पन्न भएको थियो तथा महिलाको सुरक्षा सुनिश्चित गरिनुपर्ने माग उठेको थियो।
हत्यारा र पीडित युवतीबीच चिनापर्ची थियो। कुलीन समाजका सदस्य रहेका साथीहरूको समूहमा चिनेकै व्यक्तिले त्यसरी हत्या गरेको घटनाबारेको समाचारले धेरै महिना सञ्चारमाध्यममा स्थान पायो।
त्यसले पाकिस्तानको आपराधिक न्यायिक प्रणालीमा ठूलो परिवर्तन हुनुपर्ने आवाज उठ्यो। किनभने पाकिस्तानमा विशेषतः महिलाविरुद्ध हुने अपराधमा थोरै अभियुक्तहरू मात्र दोषी ठहर हुन्छन्।
पाकिस्तानमा प्रत्येक वर्ष सयौँ महिलाको हत्या हुन्छ भने हजारौँविरुद्ध विभिन्न किसिमको हिंसा हुन्छ। धेरै घटनाबारे उजुरी नै पर्दैन।

'अदालतमा आङ सिरिङ्ग हुने विवरण'
शुमाइला जाफरी, बीबीसी, इस्लामाबाद
नूरको मृत्यु भएपछि धेरै मानिसले उनका लागि न्याय मागे। न्यायाधीशले आदेश पढेको बेला इस्लामाबादस्थित अदालतको भरिभराउ कक्षमा उनका परिवारजनहरू भावुक रूपमा उपस्थित भएको देखिन्थ्यो।
नूरले बिहेको प्रस्ताव अस्वीकार गरेपछि जाफरले राजधानीको एउटा भव्य क्षेत्रस्थित आफ्नो परिवारिक घरमा उनलाई दुई दिनसम्म बन्धक बनाएर राखेका थिए।
एउटा सुनुवाइको क्रममा अदालतको कक्षबाट दर्जनौँ सुरक्षाकर्मीले बाहिर निकाल्दै गर्दा जाफरले पत्रकारहरूलाई भनेका थिएः "म रिसाएको थिएँ, मैले एउटा चक्कुले नूरको हत्या गरेँ।"
अदालतमा भनिएको आङ नै सिरिङ्ग हुने विवरणले पाकिस्तान स्तब्ध भयो। महिला अधिकारकर्मीहरू सडकमा ओर्लिए र मैनबत्ती बालेर जागरण अभियान सञ्चालन गरियो।
धेरै महिलाले अगाडि आएर आफूले भोगेका घरेलु हिंसा र यौन शोषणका कथा सार्वजनिक गरे।

अरू कसले पाए सजाय?
जाफरको घरमा काम गर्ने दुई व्यक्तिलाई पनि अदालतले १०-१० वर्षको जेल सजाय सुनाएको छ।
अदालतले ती दुई जनाले जाफरलाई हत्या गर्न उक्साएको ठहर गरेको छ।
यद्यपि अपराध ढाकछोप गर्न सघाएको अभियोगमा जाफरका आमाबुवाले भने सफाइ पाएका छन्।

तस्बिर स्रोत, EPA
मृतक युवतीका बुवा शौकत मुकद्दमले अदातलको आदेश आएपछि न्यायको जित भएको टिप्पणी गरेका छन्।
पाकिस्तानमा महिलालाई शोषण गर्ने र हत्याराहरूले अपराधबाट मुक्ति नपाउने सुनिश्चित होओस् भन्ने आफूले चाहेको उनले बताए।
"न्याय भएकोमा म खुसी छु," उनले भने।
"यो केवल मेरो छोरीको घटनामात्र नभएको कुरा म भन्दै आएको छु, यो मेरो देशका सबै छोरीको घटना हो।"
तर उनले जाफरका आमाबुवालाई सफाइ दिइएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले त्यसविरुद्ध चुनौती दिने जनाएका छन्।
तीस वर्षीय जाफरसँग अमेरिकी नागरिकता छ। अदातलले दिएको आदेशविरुद्ध उनले पनि पुनरावेदन गर्न पाउँछन्।

* नूर मुकद्दमको हत्यापछि शरीरबाट टाउको छुट्ट्याइएको हुनुपर्नेमा यसअघि त्रुटिवश उनको टाउको काटेर हत्या भएको उल्लेख भएकोमा संशोधन गरिएको छ।

यो पनि हेर्नुहोस्













