पाकिस्तान: महिलाको टाउकोमा कीला ठोक्ने 'झारफुक गर्ने'को प्रहरीद्वारा खोजी

तस्बिर स्रोत, Peshawar Police
पाकिस्तानमा एक गर्भवती महिलाको टाउकोमा कीला ठोकेको आरोप लागेका एकजना झारफुक गर्ने व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ।
टाउकोमा गडेको दुई इन्च लामो कीला आफैले निकाल्ने प्रयास सफल नभएपछि पेशावरस्थित अस्पतालमा ती महिलालाई पुर्याइएको छ।
सुरुमा, ती महिलाले चिकित्सकहरूलाई उक्त कार्य आफैँले गरेको बताएकी थिइन्।
तर पछि भने उनले आफूलाई झारफुक गर्ने एक व्यक्तिले पक्का छोरा जन्मने दाबी गर्दै टाउकामा कीला ठोकेको स्वीकारेकी थिइन्।
घाउको एक्स-रे गरिएका तस्बिरहरू अनलाइनमा देखापरेपछि प्रहरीले अनुसन्धान थालेको छ।
लेडी रिडिङ अस्पतालमा कार्यरत डाक्टर हैदर खानले ती महिला उपचारका निम्ति अस्पताल आइपुग्दा "पूर्ण रुपमा चेतमै रहे पनि असाध्यै पीडामा" रहेको जानकारी दिए।

तस्बिर स्रोत, Lady Reading Hospital
स्थानीय डन पत्रिकासँग अस्पतालका कर्मचारीले बताए अनुसार ती महिलाले झारफुक गर्ने मान्छेबारे छिमेकीबाट सुनेपछि उनलाई भेटेकी थिइन्।
ती महिलाका तीनवटा छोरी छन् र चौथो सन्तानपनि छोरी नै भए श्रीमान्ले छोडिदिने धम्की दिएको अस्पतालका कर्मचारीले बताए।
अस्पतालका कर्मचारीले डन पत्रिकालाई जानकारी दिए अनुसार, "उनी तीन महिनाकी गर्भवती छिन् र श्रीमान्को डरका कारण उनी झारफुक गर्ने मानिस कहाँ गएकी हुन्।"
दक्षिण एसियाका केही गरिब देशहरूमा छोरीले भन्दा छोराले दीर्घकालीनरूपमा अभिभावकलाई आर्थिक सुरक्षा दिने विश्वास गरिन्छ।
यस्तो मान्यताले तथाकथित "झारफुक गर्ने" जस्ता अरूबाट गलत फाइदा उठाउने अभ्यासहरूलाई बढावा दिने गर्दछ।
पाकिस्तानका केही भागहरूमा झारफुक गर्नेहरू तुलनात्मक रूपमा धेरै भेटिन्छन् र खासगरी उत्तर-पश्चिम क्षेत्रको जनजाति क्षेत्रमा यो सामान्य विषय हो।
त्यस क्षेत्रका झारफुक गर्नेहरूको अभ्यास सुफी पन्थमा प्रचलित लोक कथनहरूमा आधारित हुने गर्छन् जस्लाई कतैकतै इस्लामिक धार्मिक आस्ठाको एक प्रकार पनि भन्ने गरिन्छ।
तर यस्ता गतिविधिहरू थुप्रै इस्लामवादी विचारधारामा प्रतिबन्धित छन्।
मङ्गलवार ट्वीट जारी गर्दै पेशावरका प्रहरी प्रमुख अब्बास अहसानले "एकजना निर्दोष महिलाको जीवनमाथि खेलबाड गर्ने र छोरा जन्मने झुटो बाचा गरेर टाउकोमा कीला ठोक्ने त्यस्तो नक्कली फकिरलाई न्यायको कठघरामा ल्याउन" एउटा विशेष अनुसन्धान टोली बनाइएको बताएका छन्।
प्रहरीले अस्पतालका कर्मचारीहरूसँग सोधपुछ गरेर र अनुसन्धानमा सहयोग प्राप्त हुने आशामा ती पिडित महिलालाई फेला पार्ने प्रयासमा थुप्रै दिन बिताएको छ।
टाउकोबाट कीला निकालिएपछि ती महिला अस्पतालबाट फर्किसकेकी छन्।
"हामी छिट्टै झारफुक गर्ने ती मानिसलाई नियन्त्रणमा लिन्छौँ," अहसानले भने।
उनले अस्पतालका कर्मचारीले ती महिलाका बारे पहिले नै प्रहरीलाई किन खबर गरेनन् भन्ने बारेमा पनि छानबिन गरिने बताएका छन्।









