टी२० विश्वकप: यूएईसँग सेमिफाइनल खेल्दै नेपाल

आइसीसी टी२० विश्वकप छनोट खेल अन्तर्गत आज नेपाल र यूएई सेमिफाइनलमा खेल्दैछन्।

खेल दिउसो पौने ४ बजे सुरु हुनेछ र बेलुका पौने सात बजे भित्र परिणाम आउने ठानिएको छ।

टी२० विश्वकपमा छनौट हुनका लागि नेपालले यूएईलाई हराउनु पर्नेछ।

अहिलेसम्म नेपाल विश्वकप पुग्ने यात्राबाट एक कदम मात्रा टाढा छ।

तर हारले भने टोलीको यात्रा जहाँको त्यही रोकिनेछ।

समूह चरणमा पाएको शत प्रतिशत नतिजाले केही अर्थ राख्ने छैन।

सन् २०१३ मा यस्तै छनोट चरण पार गरेर पहिलो पटक नेपाल बाङ्ग्लादेशमा भएको टी२० विश्वकपमा पुगेको थियो।

त्यो नेपाली क्रिकेटले पाएको सफलताको एउटा महत्त्वपूर्ण कोशेढुङ्गा थियो।

सन् २०१८ नेपालले पपुवा न्युगिनीलाई पराजित गरेपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट राष्ट्रको मान्यता पायो।

त्यो नेपालको अर्को सफलता थियो।

अहिले नेपाल फेरि यस्तै महत्त्वपूर्ण सफलताको अगाडि उभिएको हो।

यूएई कस्तो

समूह चरणमा बहराइनसँग हार ब्यहोरेपछि यूएई तालिकामा दोस्रो स्थानमा झर्न पुग्यो।

जसका कारण यूएईको सेमिफाइनल भेट समूह विजेता नेपालसँग तय भएको हो।

विश्वकप छनोट खेल्नु ठिक अगाडि खेलेको चार देशीय शृङ्खलालाई विश्लेषण गर्नेहरू नेपाल र यूएई दुबैलाई समान स्तरको टोली मान्छन्।

आजको यी दुई टोलीको भिडन्तलाई यूएईको ब्याटिङ विरुद्ध नेपालको बलिङ युद्ध भनिएको छ।

प्रशिक्षक राजु बस्नेत भन्छन्, "यूएईको ब्याटिङ विगतको भन्दा राम्रो छ। सुरुका ४ ब्याटरहरू जमिरहेका छन्। त्यसलाई नेपाली बलरहरूले समयमै तोडे खेल सहज हुनेछ।"

चार देशीय शृङ्खलामा नेपाल यूएईसँग २५ रनले पराजित भएको थियो।

सो खेलमा यूएईले १९३ रनको ठूलो स्कोर पनि बनाएको थियो।

यूएईका केही खेलाडीहरूमा विशेष ध्यान दिनुपर्ने प्रशिक्षक बस्नेत बताउँछन्।

नेपाल विरुद्ध अविजित ८४ रनको इनिङ खेलेका चिराग सुरी, नेपाली घरेलु क्रिकेटसँग नजिकबाट घुलमिल भएका रोहन मुस्तफा, युवा विकेटकिपर वृत्य अरविन्दलाई विशेष ध्यान दिनुपर्ने बस्नेतको भनाइ छ।

ठूला शट खेल्न माहिर ओपनर मोहम्मद वासिम र सुरीको ओपनिङ जोडीलाई बेलैमा आउट गर्न सके नेपाललाई सहज हुने विश्वास गरिएको छ।

नेपालको बलियो पक्ष

चार देशीय शृङ्खलामा यूएई र आयरल्याण्डसँग नेपाल पराजित भएको थियो।

तर विश्वकप छनोटको तीनवटा खेलका क्रममा नेपाली टोली बलियो देखिएको छ।

विशेष गरी नेपाली बलिङ क्षेत्र विपक्षीको लागि खतरनाक साबित हुँदै आएको छ।

तीन खेलमा नेपालले ओमानलाई ७८, क्यानडालाई ८० रन र फिलिपिन्सलाई ८२ मा रोकेको थियो।

तेज बलरहरू कमल सिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहराले नियमित रूपमा विकेट लिइरहेका छन्।

कप्तान सन्दीप लामिछानेको स्पिन बलिङमा पार्ट टाइम स्पिनर दीपेन्द्र सिंह ऐरीले राम्रो साथ दिइरहेका छन्।

कप्तान लामिछानेले सेमिफाइनल अगाडि भने, "हाम्रो टोलीको राम्रो खेल आउन अझै बाँकी छ।"

नेपाली ब्याटिङमा भने अझै सुधार आवश्यक देख्नेहरू छन्। खास गरी मध्य क्रममा केही धारिलो ब्याटिङ आवश्यक देखिएको छ।

प्रशिक्षक बस्नेतका अनुसार नेपाली ब्याटिङमा कुशल भुर्तेल र आशिफ शेखको इनिङ एकदम महत्त्वपूर्ण हुनेछ।

उनले भने, "पावरप्ले मा ओपनरद्वयले ५०/६० रनको साझेदारी बनाएमा खेलमा राम्रो वातावरण बन्नेछ। त्यसो हुन सके मध्यक्रमले खुलेर खेल्नेछन्।"

बस्नेतका अनुसार नेपालले पहिले ब्याटिङ गरे १७० को हाराहारीमा रन बनाउनुपर्नेछ। बलिङ पाए १३० मुनिमा राख्न सक्नुपर्छ।

"किनभने रन पछ्याउने कुरामा हामी अलि कमजोर छौँ," प्रशिक्षक बस्नेत भन्छन्,"ब्याटिङ ट्र्याक राम्रो भएकोले टस जितेमा फिल्डिङ् लिनुपर्छ।"

अर्को महत्त्वपूर्ण मोड

सन् २०१३ मा नेपाल विश्वकपमा छनोट हुँदाका नायक थिए शरद भेषावकर। उनको त्यो इनिङलाई नेपाली क्रिकेटले सधैँ सम्झिरहने गर्छ।

उक्त छनोटमा महत्त्वपूर्ण रन बटुलेका शरदले हङकङ विरुद्ध विजयी रन जोडेका थिए।

प्रतियोगितामा केन्याले बनाएको १८२ रन पछ्याउने क्रममा भेषावकरले ६ बलमा अविजित २३ रन बनाएर २ बल अगाडि खेल जिताएका थिए, जुन नेपालको विश्वकप पुग्ने आधार बनेको थियो।

सन् २०१८ मा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाउँदाका नायक करण केसी थिए।

आइसीसी विश्व क्रिकेट लीग डिभिजन २ को सो खेलमा नेपाल क्यानडासँग हारको सँघारमा पुगेको बेला करणले आश्चर्यजनक इनिङ खेल्दै नेपाललाई जिताएका थिए।

हारे डिभिजन ३ मा घटुवा हुने र जिते एकदिवसीय मान्यता पाउने त्यो अत्यन्त महत्त्वपूर्ण प्रतियोगिता थियो।

क्यानडाले बनाएको १९४ रन पछ्याएको नेपाल १४४/९ को स्थितिमा पुग्दा निश्चित हारको सँघारमा थियो। तर करणले ३१ बलमा ४२ रन जोडेर नेपाललाई जिताए।

आज मङ्गलवार नेपाल एउटा त्यस्तै महत्त्वपूर्ण मोडमा छ। हेरौँ यो पटक को नायक बन्ला ?