तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कुशल भुर्तेलः शक्तिको स्रोत 'बुवाको प्रेरणा'
- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
हालै सम्पन्न त्रिकोणात्मक क्रिकेटबाट नेपाली क्रिकेट जगत्मा उदाएका क्रिकेटर कुशल भुर्तेल आफ्नो सफलताको श्रेय बुवाको प्रेरणालाई मान्छन्।
दीपक भुर्तेल शनिवार हुने त्रिकोणात्मक क्रिकेटको फाइनल हेर्न बुटवलबाट सपरिवार कीर्तिपुर क्रिकेट मैदानमा आए।
त्यहाँ उनलाई आफूले वर्षौँदेखि देख्दै आएको सपना वास्तविकतामा परिणत भएको दृश्य हेर्नु थियो।
भयो पनि त्यही।
फाइनल खेलमा छोरा कुशल भुर्तेलले ७७ रनको पारी खेले।
नेपालले नेदरल्याण्ड्ससँग शानदार ढङ्गले जित्यो।
अनि कुशल प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने र मोटरसाइकल प्राप्त गरे।
दीपकले बीबीसी नेपालीसँग भने, "यो क्षणमा गर्व नगर्ने बुवा को होला। खुशी साँच्ने मौका पाइयो।"
कीर्तिपुरमा आफूले चाहेको दृश्य हेरेर उनी त्यही राति बुटवल फर्किए।
दीपकले यो दिनको प्रतीक्षा गरेको वर्षौँ भइसकेको थियो।
बुबालाई मैदानमा देखेर कुशल पनि दङ्ग थिए।
उनले भने, "बुवालाई देखेँ। असाध्य खुशी लाग्यो। झन् ऊर्जा थपियो।"
कोरोनाभाइरस महामारीका कारण अपनाइएको उच्च सतर्कताका कारण कुशलले बुवासँग भेट्न त पाएनन्।
तर उनले भने, "मेरो क्रिकेट जीवन सबै बुवाको प्रेरणाले सम्भव भएको हो। नत्र यति समय बाँधिएर बस्न सम्भव थिएन।"
साँच्चै भन्ने हो भने कुशलले राष्ट्रिय टोलीमा पर्न गरेको दुख, सङ्घर्ष, र पर्खाइ एक तपस्याभन्दा कम देखिँदैन।
चौबीस वर्षको उमेरसम्म आइपुग्दा राष्ट्रिय टोलीमा 'डेब्यु' गर्न नपाउँदा उनी कति पटक लडखडाए, कति समय यात्रा असम्भव जस्तो माने, तर उनले हार खाएनन्।
किनकि हरेक पटक लडखडाउन खोज्दा बुबाले उनलाई धैर्यको पाठ सिकाए।
को हुन कुशल?
बुटवल मणिग्रामका कुशल बुवा दीपक र आमा दुर्गाका दोस्रो सन्तान हुन्।
उनका एक दिदी र एक बहिनी छन्।
कुशल स्कूलदेखि नै खेलकुदप्रेमी थिए। स्कूलमा हरेक खेलमा रुचि राख्थे।
खेलकुदमा हुरुक्क हुने कुशलको बानी थियो।
"फुटबल बढी मन पर्थ्यो, तर बुवाले क्रिकेटमा लाग्न भनेपछि क्रिकेट रोजेँ" कुशल सम्झिन्छन्।
बुवा दीपक त्यति बेला दक्षिण कोरियामा बस्थे। उनी सन् २०११ मा नेपाल फर्किए।
एक दिन उनले छोराले क्रिकेट खेलेको देखे।
त्यो पल सम्झिँदै दीपक भन्छन्, "ऊ यति राम्रोसँग खेलिरहेको थियो कि मलाई लाग्यो यसले क्रिकेटमा राम्रो गर्न सक्छ। अनि मैले क्रिकेट रोज्न भनेँ।"
कुशल क्रिकेटमा केन्द्रित भए।
छोरामा आफ्नो सपना
गाउँ ठाउँमा हुने प्रतियोगितामा नियमित सहभागी हुन थाले।
खासमा दीपक पनि आफ्नो समयका क्रिकेट खेलाडी थिए।
पैँतालीस वर्षका उनले पूर्वकप्तान राजु खड्कासँगै क्रिकेट खेलेका थिए।
उनी भन्छन्, "तर म बेलैमा घर व्यवहारतिर लागेँ। खेल्न पाइनँ। छोरोमा त्यो सपना देख्न थाले।"
व्यापारका लागि दिल्ली जाँदा हरेक पटक छोराको लागि ब्याट किनेर ल्याउँथे।
धनगढीमा नेपाल प्रिमियर लीग एनपीएल र कुशलको ११ कक्षाको परीक्षा एकै समयमा पर्यो।
कुशल सम्झिन्छन्, " बुवाले मलाई परीक्षा भनेको आउँदै गर्छ, तिमी एनपीएल खेल भन्नुभयो। बाबुको यस्तो साथ पाउने भाग्यमानी छोरा हुँ म।"
दीपक क्रिकेट मोह छोराका लागि र आफ्नो क्षेत्रको लागि भएको बताउँछन्।
उनले रूपन्देहीमा थुप्रै क्रिकेट प्रतियोगिताको आयोजना गरेका छन्।
दीपकले आफ्नो संस्था न्यू युनिभर्सल कम्प्युटर इन्स्टिच्यूटको नाममा प्रतियोगिता आयोजना गर्थे र छोराले त्यही क्लबबाट खेल्थे।
पछिल्लो समय उनी तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष भएका छन्।
सो समितिले तिलोत्तमा प्रिमियर लीग टीपीएलको तीन संस्करणको आयोजना गरिसकेको छ।
छोरा कुशल त्यसका नियमित खेलाडी हुन्।
क्रिकेट यात्रा
सन् २०१२ मा कुशल नेपालको यू १६ टोलीमा समावेश भए। अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो पाइला थियो।
सोह्र वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि उनी मलेशियामा हुने एसीसी यू १६ का लागि छानिएका थिए।
तर कुवेत विरुद्धको एक खेलपछि उनी अभ्यासको क्रममा घाइते भएर नेपाल फर्किनुपर्यो।
चोटको फाइदा के भयो भने उनले आरामसँग एसएलसी परीक्षा दिन समय पाए।
उनले क्रिकेटमा झन् मेहनत गर्न थाले। फलस्वरूप तीन वर्षपछि उनी यू १९ राष्ट्रिय टोलीमा पर्न सफल भए।
त्यो सन् २०१५ मा मलेशियामा भएको यू १९ विश्वकप छनोट प्रतियोगिता थियो। त्यसबाट टोली विश्वकपका लागि छनोट भए।
तर उनले प्रतियोगिताभरि एउटा खेल पनि खेल्ने अवसर पाएनन्। बेन्चमै बसेर मलेशियाबाट फर्किनु पर्यो कुशल।
सन् २०१६ बाङ्ग्लादेशमा भएको यू १९ विश्वकपमा भने कुशलले न्युजिल्याण्डविरुद्ध अविजित ३५ रनको पारी खेले।
त्यो बेला कुशल ७/८ नम्बरमा ब्याटिङ गर्थे।
नेपाल क्वार्टर फाइनलमा बाङ्ग्लादेशसँग हारेर फर्किनु पर्यो।
सङ्घर्षका दिन
सोह्र वर्ष र १९ वर्षको राष्ट्रिय टोलीमा परेका खेलाडीको राष्ट्रिय टिमबाट खेल्नु स्वाभाविक सपना त हुने नै भयो।
तर राष्ट्रिय टोलीमा प्रवेश पाउनु सहज विषय पनि थिएन।
एक त नियमित घरेलु प्रतियोगिता थिएन भने राष्ट्रिय टिममा नपरेका खेलाडीका लागि त्यतिकै पनि अवसर निकै कम हुन्थ्यो।
कुशलको हकमा राम्रो के भइदियो भने यु १६ राष्ट्रिय टोलीमा परेपछि नै उनले नेपाल पुलिस क्लबमा खेल्ने मौका पाए।
यसबीचमा उनले फ्रेञ्चाइज क्रिकेटमा आफूलाई व्यस्त बनाए।
उनले एभरेस्ट प्रिमियर लीग इपीएल ललितपुरबाट, पोखरा प्रिमियर लीग पोखराबाट र धनगढी प्रिमियर लीग डीपीएल विराटनगरबाट खेले।
पीपीएल खेल्दा कप्तान शरद भेषावकरले उनलाई प्रारम्भिक ब्याट्सम्यानको रूपमा अगाडि ल्याएका हुन्।
यसबीच राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा उनलाई हरेक पटक बोलाइन्थ्यो। तर अन्तिम छनोटमा उनको नाम हुँदैनथ्यो।
सन् २०१९ को इमर्जिङ कपमा उनी बल्ल टिममा परे। तर राम्रो प्रदर्शन हुन सकेन।
सोही साल नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकुदमा पनि टिममा परे। तर एक खेल पनि खेल्ने मौका पाएनन्।
बुवा दीपक सम्झिन्छन्- "कति पटक त छोराले अब राष्ट्रिय टोलीमा पर्दिन भनेर हरेस खायो। क्रिकेट छोड्ने मनसाय समेत बनाए। तर मैले भने समय आउँछ छोरा। समय नआएसम्म केही हुन्न।"
सफलता
मलेशिया, नेदरल्याण्ड्ससँग त्रिकोणात्मक शृङ्खला कुशलको लागि त्यही समय बनेर आइदियो।
राष्ट्रिय टोलीको डेब्यु प्रतियोगितामा लगातार तीन खेलमा अर्धशतकको कीर्तिमान बनाएर उनले नेपाली क्रिकेट जगत्मा आफ्नो आगमन 'ठूलो आवाज' मा दिएका छन्।
नेपाली राष्ट्रिय टोलीको खोजीको रूपमा रहेको प्रारम्भिक ब्याट्सम्यानको निर्विकल्प दाबेदारको रूपमा आफूलाई उभ्याएका छन्।
तर उनका बुवा दीपक भन्छन्- "हिजो उ आफ्नो लागि खेल्थ्यो भने अब देशको लागि खेल्नुछ। जिम्मेवारी हिजोभन्दा आज बढेको छ। छोरोको क्रिकेट त अब शुरू भयो।"
छोरा कुशललाई यसको राम्रो ज्ञान छ । उनी भन्छन्, " देशका लागि खेल्ने हो। सक्दो खेल्ने हो। म आफू र समर्थकहरूलाई निराश हुन दिनेछैन।"