तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतः अहमदाबाद बम हमलाका ३८ जना दोषीलाई मृत्युदण्डको फैसला
भारतको एक अदालतले पश्चिमी गुजरात राज्यमा गराइएको एउटा शृङ्खलाबद्ध बम विस्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ।
गुजरातको आर्थिक राजधानी अहमदाबादमा गराइएका विस्फोटमा ५५ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए।
अदालतले अन्य ११ जनालाई आजीवन कारावासको सजाय पनि सुनाएको छ।
उनीहरूले उक्त फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पाउने छन्।
ठाउँठाउँमा विस्फोट
सन् २००८ मा एक घण्टाको अवधिमा आवासीय क्षेत्र, बजार, सार्वजनिक यातायात र अस्पताल लगायतका क्षेत्रमा विस्फोट गराइएको थियो।
प्रहरीका अनुसार विस्फोट नभएका थुप्रै बमहरू फेला पारिएको थियो।
केही सञ्चारमाध्यमलाई पठाएको एउटा इमेलमा अज्ञात इस्लामवादी लडाकु समूह इन्डियन मुजाहिदीनले विस्फोटमा आफ्नो संलग्नता रहेको दाबी गरेको थियो।
पुनेस्थित एउटा जर्मन बेकरीमा १७ जनाको ज्यान जानेगरी गराइएको विस्फोटपश्चात् सन् २०१० पछि भारत सरकारले उक्त समूहलाई आतङ्कवादी सङ्गठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो।
अहमदाबाद बमकाण्डमा कुल ७८ जनामाथि मुद्दा चलाइएको थियो।
आरोपितमध्ये एक अयाज सय्यदले अनुसन्धान निकायलाई पछि सहयोग गरेका थिए।
बाँकी २८ जनालाई भने अदालतले सफाइ दिएको छ।
द इन्डियन एक्सप्रेस पत्रिकाका अनुसार अदालतले १,१६३ जना प्रत्यक्षदर्शीको बयान सुनेको थियो।
विशेष न्यायाधीश एआर पटेलले पीडित प्रत्येक परिवारलाई एक लाख भारु क्षतिपूर्ति स्वरूप दिन आदेश पनि दिएका छन्।
सन् २०१३ मा जेलबाट सुरुङ बनाएर भाग्न खोज्ने केही आरोपितको प्रयासलाई आफूहरूले विफल तुल्याइदिएको अधिकारीहरूले बताएका थिए।