तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत चुनाव: उत्तर प्रदेश विधानसभा चुनावले किन सबैको ध्यान खिचेको छ?
नेपालसँग सबैभन्दा धेरै सीमा जोडिएको भारतीय राज्य उत्तर प्रदेशमा यसै साताको अन्त्यतिरबाट नयाँ सरकार निर्माणका लागि विधानसभा चुनाव हुँदैछ।
सात चरणमा हुने यस निर्वाचन किन महत्त्वपूर्ण छ त? बीबीसीकी गीता पाण्डेले तयार पारेको यो सामग्री।
उत्तर प्रदेश किन महत्त्वपूर्ण छ?
आउँदो महिना भारतका पाँच राज्यमा निर्वाचन हुँदैछ तर धेरैको आँखा उत्तर प्रदेश अर्थात् यूपीको मुख्य प्रतिस्पर्धी क्षेत्रमा छ।
भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको यूपीमा २४ करोड मानिसहरू बस्छन्।
यदि यूपी अलग्गै देश हुन्थ्यो भने त्यो जनसङ्ख्याका हिसाबले विश्वमै चीन, भारत, अमेरिका र इन्डोनेशियापछि आउँथ्यो।
जनसङ्ख्याका हिसाबले पाकिस्तान वा ब्रजिलभन्दा पनि ठूलो हुन्थ्यो यूपी।
उक्त राज्यले सबैभन्दा धेरै अर्थात् ८० सांसद् भारतको संघीय संसद्मा पठाउने भएकाले त्यहाँ जित्ने दलले भारतमा शासन गर्न पाउँछ भन्ने गरिन्छ।
भारतको प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु सहित कयौँ प्रधानमन्त्री यसै प्रदेशबाट भएका छन्।
पश्चिमी राज्य गुजरातका बासिन्दा नरेन्द्र मोदी समेतले सन् २०१४ को आमनिर्वाचनमा आफ्नो संसदीय यात्राको सुरुवात यसै प्रदेशबाट गरेका थिए।
बनारसबाट उनी सन् २०१४ मा चुनिएका थिए भने २०१९ मा पनि पुनः निर्वाचित भएका थिए।
त्यहाँ सन् २०१४ को चुनावमा मोदीको भारतीय जनता पार्टी (भाजपा)ले ७१ स्थान र सन् २०१९ मा ६२ स्थानमा जित हासिल गर्दै अधिकांश स्थान कब्जा गरेको थियो।
मुख्य खेलाडी को हुन्?
सन् १९९० को दशकको अन्त्यतिरबाट राज्यको राजनीतिमा क्षेत्रिय दलहरू समाजवादी पार्टी र बहुजन समाज पार्टी (बीएसपी)को दबदबा रहंदै आएको छ।
शक्तिमा यी दुई दल आलोपालो भइरहंदा कंग्रेस र भाजपा किनारा लाग्ने गरेका थिए।
तर सन् २०१७ मा भाजपाले विधानसभाको चुनावमा ४०३ सीटमध्ये ३१२ मा जितेर स्पष्ट बहुमत ल्याएको थियो।
प्रधानमन्त्री मोदीको चमत्कारिक व्यक्तित्व र बढ्दो लोकप्रियताका माझ भाजपाले चुनावमा खसेको मतको झण्डै ४० प्रतिशत पाएको थियो।
उक्त दलले निकै विभाजनकारी अभिव्यक्तिका लागि चिनिएका धार्मिक सन्यासीबाट राजनीतिज्ञ बनेका गेरुवस्त्रधारी योगी आदित्यनाथलाई मुख्यमन्त्रीमा चयन गर्यो।
आगामी १० मार्चमा मतगणना हुँदा उनले उक्त पदमा दोहोरिने आशा गरेका छन्।
उनलाई सघाउने क्रममा मोदीले पछिल्ला महिनामा उक्त राज्यमा झण्डै एक दर्जनपटक भ्रमणहरू गरेका थिए।
उनले आमसभाहरूलाई सम्बोधन गर्दै मतदातालाई भाजपालाई अर्को अवसर दिन आग्रह गरेका थिए।
तर पछिल्ला वर्षमा उक्त दलले विवादित कृषिसम्बन्धी कानुनदेखि कोभिड महामारी व्यवस्थापन गर्नेजस्ता बिषयमा आफ्नो पुरानो आधार गुमाउँदै गएको देखिन्छ।
नयाँ कृषि कानुन वर्षदिनको कृषकहरूको प्रदर्शनपछि फिर्ता लिइएको थियो।
कोभिड महामारीमा ज्यान गुमाएको ठानिएका सयौँको शव गङ्गा नदीमा देखा परेको थियो।
राज्य सरकारले महामारीमा नि:शुल्क राशन उपलब्ध गराए तापनि उकालो लागेको मूल्य वृद्धि र युवाहरूको रोजगारीको समस्याका विषयलाई लिएर मानिसहरू खिन्न छन्।
४९ वर्षिय आदित्यनाथले आफ्ना र्यालीहरूमा रोजगारी सिर्जना, अर्थतन्त्र सुदृढिकरण र राज्यमा कानुनी व्यवस्थाको सुधार गरेको दाबी गरेका छन्।
तर उनले हिन्दू मतदाताको मत तान्न मुस्लिमविरोधी धारणाहरूको समेत प्रयोग गरिराखेका छन्।
आदित्यनाथको मुख्य चुनौति समाजवादी पार्टीका ४८ वर्षिय अखिलेश यादव छन्।
जसलाई सन् २०१७ मा भाजपाले मुख्यमन्त्रीबाट विस्थापित गर्न सफल भएको थियो।
यादवले भाजपाबाट शक्ति फुत्काउन सबै घरमा नि:शुल्क विद्युत, गरिब महिलालाई पेन्सन र किसानहरूलाई ब्याजरहित ऋण दिने बाचा गरेका छन्।
केही साना क्षेत्रिय दलसँग गठबन्धन गरेपछि उनको सम्भावना बढेको देखिएको छ।
दलित समुदायबाट उदाएकी बहुजन समाज पार्टीकी नेतृ मायावती समेत पुन: शक्तिमा फर्कने प्रयासमा छिन् तर धेरैले उनलाई रोज्न चाहेजस्तो देखिन्न।
चारपटककी मुख्यमन्त्री उनले सन् २०१२ मा शक्ति गुमाइन्।
दलित समूदायमाझ चर्चित उनी आफ्नो कार्यकालमा आफ्नै र अन्य कयौँ दलित आदर्श व्यक्तिहरूको मुर्ति बनाउन दशौँ लाख डलर खर्चिएको भन्दै आलोचित छन्।
झण्डै एक दशक शक्तिबाट पर रहेकी उनको यस चुनावी माहोलमा धेरै चमकधमक देखिंदैन।
भारतको मुख्य विपक्षी दल कङ्ग्रेसको तर्फबाट प्रियंका गान्धीले नेतृत्व गरेको उत्साही चुनावी प्रचार अभियानले समेत धेरैको ध्यान खिचेको छ।
बलात्कार पीडित र प्रहरी अत्याचारमा परेका परिवारहरूमा पुगेर उनी समाचारमा छाएकी छन्।
महिला मतदातातर्फ लक्ष्यित उनको जोडले समेत धेरैको ध्यान खिचेको छ।
उनको व्यक्तिगत प्रभाव उच्च देखिए तापनि उनको चुनावी अभियानमा समर्थकहरूको प्रभाव कम देखिन्छ।
सन् १९८९ यता उक्त राज्यमा कुनै पनि दलले लगातार दोस्रो कार्यकालका लागि चुनाव जितेको छैन।
त्यसैले यो चुनाव भाजपा, आदित्यनाथ र उनको हिन्दू राष्ट्रवादको राजनीतिको जनमत सङ्ग्रहजस्तो हुनेछ।