तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के उत्तर प्रदेशमा मोदीको दल भाजपामा विद्रोह बढ्न थालेको हो
सौतिक बिस्वास, भारत संवाददाता
उत्तर प्रदेशमा तीन मन्त्रीसहित १० जना विधायकले भाजपा छोडिसकेका छन्। उनीहरूमध्ये अधिकांश भाजपाको प्रतिस्पर्धी क्षेत्रीय दल समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
यसरी भाजपा छाड्नेमध्ये पाँच पटक विधायक भइसकेका अनुभवी नेता स्वामी प्रसाद मौर्य पनि छन्। पार्टी परित्यागको आफ्नो कदमले भाजपामा "भूकम्प" ल्याउने मौर्यको विश्वास छ।
क्षेत्रीय निर्वाचनअघि भारतमा दल फेर्ने परम्परा नौलो भने होइन। पार्टीबाट निर्वाचनमा टिकट नपाउने नेताहरूले अर्को दलमा गएर टिकट लिने गरेका छन्।
परिणामस्वरूप विगत धेरै वर्षदेखि उत्तर प्रदेशजस्ता राज्यका विधानसभाहरू नयाँ अनुहारले भरिभराउ हुँदै आएका छन्। एक पटक परीक्षण भएका उम्मेदवारलाई नदोहोर्याउने परम्पराका कारण पनि यस्तो हुँदै आएको छ।
अशोका विश्वविद्यालयका प्राध्यापक गिल्स भेर्नियर्स मुख्यमन्त्रीको हातमा शक्ति केन्द्रित गर्ने राजनीतिक संस्कृतिको कारण पनि केही हदसम्म विधायकहरूको राजनीतिक कद घट्दो देखिने गरेको बताउँछन्।
भाजपाजस्ता दलहरूले आफ्ना उम्मेदवारहरू अलोकप्रिय भए नभएको पत्ता लगाउन मतदाताहरूसँग पनि मेहनतका साथ प्रतिक्रिया लिने गरेका छन्।
निर्वाचन क्षेत्रमा कमजोर प्रदर्शन गर्ने उम्मेदवारहरूलाई सामान्यतया पार्टीले टिकट दिन अस्वीकार गर्ने गरेको छ।
"भाजपाले जित्नको लागि मात्र नभएर आफ्ना विपक्षीहरू समेत कमजोर बनाउन चुनाव लड्ने गरेको छ। यो पार्टी झिनो बहुमत पाएर सत्तामा आउँदा त्यति खुसी देखिँदैन," दिल्लीस्थित थिङ्क ट्याङ्क लोकनीतिका निर्देशक सञ्जय कुमार भन्छन्।
सन् २०१७ को निर्वाचनमा भाजपाले उत्तर प्रदेशका ४०३ मध्ये ३१२ सीटमा जित हासिल गर्दै करिब ४० प्रतिशत लोकप्रिय मत हात पारेको थियो।
भाजपाका ३१२ मध्ये १९ जना सांसदहरू मात्रै दुई वा त्यसभन्दा धेरै पटक निर्वाचित भएर आएका थिए। अशोका विश्वविद्यालयको राजनीतिक तथ्याङ्कसम्बन्धी केन्द्रका अनुसार त्यसमध्ये अरू १९ जना अर्को पार्टीबाट आएका थिए।
नेताको पछि ठूलो सङ्ख्यामा मतदाता लाग्ने राज्य भएकोले भर्खरैको दल परिवर्तनले कार्तकर्ताहरूबीच विवाद समेत निम्त्याएको छ। केन्द्रीय राजधानी नयाँ दिल्लीसँगै जोडिएको यो राज्यमा भारतमा सबैभन्दा धेरै २० करोड मानिस बसोबास गर्छन्।
यो राज्यले भारतको संसद्मा सबैभन्दा धेरै सांसद पठाउँछ। यो राज्यबाट प्रतिनिधित्व गर्ने ८० सांसदमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एक हुन्।
भाजपाजस्ता प्रभावशाली सत्तारूढ दल छोडेर नेताहरू मुख्य प्रतिस्पर्धी दलमा प्रवेश गर्दा त्यसको प्रभाव अस्थिर मतदाताहरूमा ठूलो पर्न सक्छ। उनीहरूले नेताले छोडेको दलले पक्कै पनि सङ्कट सामना गरिरहेको अनुमान लगाउन सक्छन्।
यस्तो अवस्थामा मतदाताहरूले प्रमुख प्रतिपक्षी समाजवादी पार्टी यो पटक भाजपासँग तीव्र प्रतिस्पर्धामा ओर्लिने अनुमान विश्लेषकहरूको छ. "तर सामान्य बुझाइ र वास्तविकता ठ्याक्कै फरक पनि हुन सक्छ," लोकनीतिका निर्देशक डा. कुमार भन्छन्।
भारतको अव्यवस्थित लोकतन्त्रमा वास्तविकताहरू निकै जटिल छन्। जवाहरलाल नेहरू विश्वविद्यालयमा राजनीतिशास्त्रकी प्राध्यापक सुधा पाई भन्छिन्, "मानिसहरूले यति धेरै दलबदल गर्नुको एउटा कारण उत्तर प्रदेशको व्यापक राजनीतिक परिस्थिति हो।"
यो प्रदेश पार्टीभित्र र बाहिर पनि निकै विभाजित मानिएका योगी आदित्यनाथबाट शासित छ। केश मुण्डन गरेर गेरुवस्त्र लगाएर हिँड्ने संन्यासीबाट राजनीतिमा प्रवेश गरेका ४९ वर्षीय आदित्यनाथको मुस्लिम समुदायविरुद्ध अनुदारताका पछाडि हिन्दू मतको ठूलो सङ्ख्यालाई आकर्षित गर्ने उद्देश्य रहेको बताइन्छ।
मुख्यमन्त्री भएपछि आदित्यनाथले पनि आफूलाई विकासप्रेमीको रूपमा चित्रित गर्न खोजेका छन्। उनले भारतको सबैभन्दा पिछडिएको राज्यहरूमध्ये एकमा आर्थिक वृद्धि र रोजगारीको सिर्जनामा फड्को मारेको दाबी गर्दै विज्ञापन गरेका छन्। तर स्वतन्त्र रूपमा तथ्यजाँच गर्दा उनका धेरै दाबीहरू सही ठहरिँदैनन्।
उत्तर प्रदेशको राजनीतिक रूपमा सचेत मानिने पश्चिमी भागमा लामो समयदेखि किसान विद्रोह बढिरहेको छ। भारतमा किसान आन्दोलनलाई यसअघिबाटै राजनीतिक परिवर्तनको कारकका रूपमा हेर्ने गरिन्छ। डिसेम्बरमा विवादास्पद कृषि कानुनहरू खारेज गर्ने सरकारको निर्णयपछि किसानहरूले एक वर्ष लामो विरोध प्रदर्शन आह्वान गरेका छन्।
कोरोनाभाइरस महामारीले भारतको पहिलेबाटै सुस्त अर्थतन्त्रलाई तहसनहस बनाइदियो, यो प्रदेशका लाखौँ आप्रवासी कामदारहरू सहरमा बेरोजगार भएपछि घर फर्किएर खेतीकिसानीमा सामेल भएका छन्। मुद्रास्फीति ह्वात्तै बढेको छ भने आलोचकहरूले आदित्यनाथलाई कर्मचारीतन्त्रबाट सरकार चलाउने एक बेढङ्गी नेताको रूपमा हेर्ने गरेका छन्।
विकासजत्तिकै जात र पहिचानको राजनीतिलाई महत्त्व दिने यो प्रदेशमा भाजपाको सफलताको पछाडि हिन्दूहरूको व्यापक र समावेशी गठबन्धन निर्माण हुनुलाई पनि ठान्ने गरिएको छ। यसमा "अन्य पिछडिएको वर्ग" (ओबीसी) पनि समाविष्ट छ। ओबीसी भनेको उच्च जातिको तुलनामा पछि परेको कथित मध्यम श्रेणीका जातिहरूको समूह हो।
ओबीसीहरूमध्ये पनि २० प्रतिशत यादव समुदायका मानिस छन् र उनीहरू समाजवादी पार्टीसँग नजिक छन्। पछिल्लो राज्यसभा निर्वाचनमा भाजपालाई ६१ प्रतिशत यादव समुदायबाहेकका ओबीसीले भोट दिएका थिए। जुन सङ्ख्या यो प्रदेशको सम्पूर्ण मतदातामध्ये एकचौथाइ हुन आउँछ।
गत साता पार्टी परित्यागका शृङ्खलाले ओबीसीहरूसँग भाजपाको गठबन्धनलाई समेत धक्का दिएको धेरैको बुझाइ छ। तर अहिले नै त्यो अनुमान गरिहाल्नु अपरिपक्व हुने जानकारहरू बताउँछन्।
प्राध्यापक पाईका अनुसार यस्तो गठबन्धन बनाएर भाजपाले ‘निम्न मध्यम वर्गका उदयीमान आकाङ्क्षीलाई सदुपयोग गर्न’ सकेको छ।
कुनै समय उच्च जातिको बाहुल्य रहेको यो पार्टीले पछिल्लो समय पिछडिएका हिन्दूहरूलाई आफ्नो पक्षमा ल्याएर उनीहरूका लागि सामाजिक सुरक्षा र कल्याणका योजनाहरू समेत अघि सारेको छ। "भाजपाले विकासलाई सांस्कृतिक समावेशीकरणसँग सफलतापूर्वक जोडेको छ," उनी भन्छिन्। केही अर्थशास्त्रीहरूले यसलाई "भारतमा अधिकारको नयाँ कल्याणवाद" भनेका छन्।
उत्तर प्रदेशमा माघ २७ गते (फेब्रुअरी १०)बाट मतदान सुरु हुँदैछ। सात चरणमा हुने मतदानमा करिब १५ करोड मतदाता छन्।
राजनीतिमा एक साता लामो समय हो, औँलामा गन्न सकिने नेताहरूले दलबदलले भारतको सबैभन्दा जनसङ्ख्या भएको राज्यको राजनीतिलाई आमूल परिवर्तन गर्ने सम्भावना छैन। "अहिलेको लागि नजिकको प्रतिस्पर्धा हुन सक्छ भन्ने सङ्केत मात्र हो," डा. कुमार भन्छन्।