तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वर्डल: शब्द पहिल्याउने एउटा साधारण खेल जसले विश्वमा प्रभाव जमाइरहेको छ
हाल विश्वलाई तरङ्गित बनाइरहेको शब्दको एउटा अनलाइन खेललाई न्यूयोर्क टाइम्सले ठूलो मूल्यमा खरिद गरेको छ।
वर्डल नामक खेलमा प्रयोगकर्ताले छ पटकको प्रयासमा पाँच वटा अक्षरका शब्दहरू पत्ता लगाउनु पर्छ तर यसको साधारण अवधारण र एक दिनमा एक पटक मात्रै खेल्न पाउने सीमितताका कारण मानिसहरू आकर्षित भएका छन्।
यो खेल विकास गरेका न्यूयोर्कका जोस वर्डलले अघिल्लो वर्षको अक्टोबरदेखि सार्वजनिक गरिएको खेलमा पाएको प्रतिक्रियाले प्रसन्न भएको बताए।
उनले ट्विटरमा भने, "वर्डललाई सार्वजनिक गरिएयता खेलेका प्रत्येक व्यक्तिबाट प्राप्त प्रतिक्रियाले मलाई अद्भुत अनुभव गराएको छ। उक्त खेल मैले कल्पना गरे भन्दा वृहत् स्तरमा गयो।"
आफ्नो प्रेमिकाका लागि बनाइदिएको खेलप्रति ठूलो स्तरमा आकर्षण देखिएकोमा उनले प्रसन्नता जनाए।
वर्डलले प्रेमिका पालक शाहलाई महामारीमा समय कटाउन शब्दसम्बन्धी खेल बनाइदिएका थिए।
साथीहरू र परिवारबाट चासो व्यक्त भएपछि उनले तीन महिनाअघि सो खेल सार्वजनिक गरेका थिए।
अहिले त्यो खेलका दैनिक प्रयोगकर्ताको सङ्ख्या दशौँ लाख छ।
वर्डलको सफलतालाई दर्जनौँ भाषामा दोहोर्याउने प्रयासमा काम भइरहेका छन्।
वर्डल लोकप्रिय हुनुको कारण के हो?
"म बिहानै मेरो भाइसँग आफ्नो स्कोर दाँज्छु," मुम्बईस्थित लेखिका र पत्रकार अनन्दिता जोसे भन्छिन्।
"उनले नयाँ शब्द पहिल्याउने अर्को मौका मध्यरातपछि मात्रै आउने भएकाले आफू सुत्ने समय ढिला हुने गरेको गुनासो गरे।"
"हामी एकदमै नजिक छौँ र दैनिक रूपमा शब्दजालको बारेमा एकअर्कासँग कुरा साट्दा त्यसले ऐक्यबद्धताको एउटा भावना पनि अभिवृद्धि गर्ने गरेको छ।"
"विफलता न्यून हुन्छ किनभने अधिकांशले छ पटकमा मिलाउँछन् तर तपाईँले जित्न अरूले हार्नुपर्दैन।"
हङकङमा बसिरहेका ब्रिटेनमा जन्मिएका शिक्षक साम लेकले उक्त खेल आफ्ना साथीहरूबीच लोकप्रिय रहेको बताए।
"धेरै व्यक्तिहरूले प्रत्येक दिन आफ्नो अङ्क दाँज्छन्। त्यही भएर यो एकदमै लोकप्रिय छ।"
लेक एकभन्दा धेरै भाषा बोल्छन् उनले आफ्ना मातृभाषामा विभिन्न व्यक्तिले निर्माण गरेका वर्डलका भर्सनहरू खेल्ने प्रयास गरेका छन्।
उनले स्वीडीस, म्याडेरिअन र कोरियन भाषामा वर्डल खेल्दा फरकफरक स्तरको सफलता हात परेका छन्।
विश्वव्यापी संस्करण
अङ्ग्रेजी संस्करणको सफलतासँगै यो खेलका विभिन्न भाषाका संस्करणहरू पनि तयार गरेका छन्।
अहिलेसम्म एउटा सूचीमा यो खेल ७९ भाषामा २२२ प्रकारका रहेको पाइएको छ।
चेन्नईका सफ्टवेयर आर्किटेक्ट पी शङ्करले छ पटक अनुमान लगाउन सक्ने सीमा पूर्ण रूपमा हटाउँदै खेलको तमिल संस्करण विकास गरेका छन्।
तमिल भाषामा १२ वटा स्वर वर्ण र १८ वटा व्यञ्जन वर्ण रहेको छन् र त्यसलाई मिलाउँदा २०० वटा चिन्हहरू छन् जसले छ पटकमा नै सही अनुमान लगाउन कठिन बनाउँछ।
"मानिसहरूले मलाई आफ्नो अङ्क पठाउँछन् र मैले ७० देखि ८० पटक प्रयास गरेका मानिसहरू पनि देखेको छु," शङ्करले बीबीसीसँग भने।
"मैले सुरुमा अङ्ग्रेजी भाषामा पढेकी र तमिल नबोल्ने आफ्नी नौ वर्षकी छोरीका लागि यो खेल बनाइदिएकी छु। त्यसयता उनले आफ्नी आमा र हजुरआमासँग नयाँ तमिल शब्द सिक्दै समय बिताएकी छन् र त्यसलाई मैले मेरो सफलताको रूपमा लिएको छु।"
शङ्करले आफूले पाँच वा छभन्दा बढी खेलाडी आकर्षित हुने अपेक्षा आफूले नगरेको तर अहिले दैनिक १,५०० व्यक्ति प्रत्येक दिन खेल्न आइरहेको बताए।
साक्षर बनाउने उद्देश्य
एजुकेसन युनिभर्सिटी अफ हङकङका सहप्राध्यापक लाऊ चाक मिङ्ले वर्डलको ज्यूटपिङ संस्करण तयार पार्नुअघि वर्षौँदेखि क्यानटोनिज भाषाको श्रोत विकास गरेका थिए।
उनले भने, "मैले पहिलो पटक वर्डल करिब तीन हप्ताअघि खेले र त्यसले मलाई लट्ठ बनायो।"
"विगतको क्यानटोनिज प्रोजेक्टहरूबाट मसँग शब्दको सूची थियो, त्यही भएर त्यो सजिलो भयो।"
उनले ज्यानुअरीको अन्त्यमा खेललाई सार्वजनिक गरे र त्यसयता एक लाखभन्दा बढी खेलिएको छ।
"मलाई लाग्छ यो दुर्लभ प्रकारको वर्डल हो जहाँबाट मानिसहरूले केही नयाँ कुरा सिक्नेछन्।"
साक्षर बनाउन लाऊ र शङ्करले राखेको उद्देश्य विश्वभरका यो खेलका अन्य संस्करणले पनि थप प्रमाणित गरेको छ।
सफल किन
ब्रजिलमा जन्मिएका फर्नान्डो सेरबोनसिनी मनोरञ्जनात्मक पक्षले प्रेरित भए र फरक संस्करण बनाए।
"मैले त्यसलाई सार्वजनिक गर्ने योजना बनाएको थिएन तर केही साथीहरूलाई पठाइदिएको थिए र केही घण्टाभित्रै दशौँ हजार मानिसहरूले खेलिरहेका थिए।"
"त्यसपछि त्यो यस्तो लोकप्रिय भयो। मेरो त्यसमा नियन्त्रण भएन र दिन सकिँदा एक लाखभन्दा धेरैले खेलिरहेका थिए।"
उनले बनाएको संस्करणलाई टर्मो भन्ने गरिन्छ र अहिले त्यसले दैनिक चार लाख प्रयोगकर्तालाई आकर्षित गर्ने गरेको छ।
फर्नान्डोले मानिसहरूले खेलिरहेको देख्दा आफूलाई खुसी लाग्ने भन्दै आफूले त्यसलाई सुधार गर्ने प्रयास गरिरहेको जनाए।
वर्डल यति चाँडो किन सफल भयो?
यसको स्वरूप नयाँ होइन र यो सन् १९७० को दशकमा सृजना गरिएको मास्टरमाइन्ड खेलसँग मिल्दोजुल्दो छ।
र अरू एपमा आधारित खेल स्क्र्याबल र वर्ड्स विथ फ्रेन्ड्स जस्ता खेलहरू पनि पछिल्ला वर्षहरूमा लोकप्रिय बनेका छन्।
"यो वर्डलको चरित्र नै हो। यो साधारण हो र यसले केही अस्वाभाविक गर्ने प्रयास गर्दैन।"
"मलाई लाग्छ यसले मानिसहरूलाई आश्चर्यचकित बनाउँछ किनभने हामीहरू अझ आक्रामक अन्तर्क्रियाका अन्य विधिहरूमा अभ्यस्त भइसकेका छौँ।"
"यसले तपाईँको पाँच मिनेट मात्रै खोज्छ, केही मनोरञ्जन दिन्छ र तपाईँलाई स्वतन्त्र छाडिदिन्छ।"