तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'मानिसहरू मलाई ध्रुवीय अन्वेषण गर्न खोज्ने जस्तो देखिन्न भन्छन्'
- Author, हेरियट ओरेल
- Role, बीबीसी विश्व सेवा
"मानिसहरू मेरो जीवनभरिको सपना दक्षिण ध्रुव पुग्ने हो? भनेर सोध्छन् र म होइन भन्छु, त्यो थिएन। यसबारे त केही वर्षअघिमात्रै मैले सोचेकी हुँ।"
ध्रुवबारे अन्वेषण गर्ने मानिस कस्तो होला भन्ने कल्पना गर्दा प्रीत चण्डी कल्पनामा आउने खालकी छैनन्।
तर कसैको सहायता बिना नै दक्षिण ध्रुवको एक्लो यात्रा गर्ने उनी पहिलो अश्वेत महिला बनिन्। छिटो स्की गर्नेमध्ये उनी तेस्रो महिला पनि बनिन् - जुन उनको सुरुको उद्देश्य भने थिएन।
"खासमा म सुरुमा एन्टार्क्टिका पार गर्न चाहन्थेँ, "ब्रिटिश सेनाकी अधिकृत चण्डीले बीबीसीसँग भनिन्, "तर मसँग पर्याप्त अनुभव नभएका कारण मेरो आवेदन अस्वीकृत भयो।"
उनले हर्क्यूलीज इनलेट(जहाँबाट दक्षिणी ध्रुवको यात्रा सुरु गरिन्छ) बाट एन्टार्क्टिका महादेशको केन्द्रसम्मको ११६० किलोमिटर भन्दा बढी दूरीको पदयात्रा गर्न ४० दिन सात घण्टा र तीन मिनेट समय लगाइन्।
"म चिलीको समयमा रहेकाले हिँडिरहँदा सूर्य कहिल्यै अस्त भएन," चण्डीले भनिन्।
"यद्यपि एकदिन म टेन्टबाट बाहिर निस्किँदा पूरै अँध्यारो थियो - त्यो सूर्यग्रहणको बेला थियो र १० मिनेटका लागि रात परेको थियो, त्यो गज्जब थियो।"
एन्टार्क्टिका पृथ्वीको उच्च, सुक्खा र धेरै हावा लाग्ने महादेश भनेर चिनिन्छ। चण्डीले यात्राका क्रममा -५०सेल्सियस तापक्रमको सामना गरिन् र त्यहाँ जताततै सेतैसेतो देखिन्थ्यो। उनले प्रति घन्टा ९७ किलोमिटर हावाको गतिको पनि सामना गर्नुपर्यो।
"म धेरैपल्ट लडेँ, मैले सोचेको भन्दा धेरै पटक लडेँ," उनले भनिन्। "भाग्यवश मैले आफैँलाई चोट पुर्याइनँ।
"एउटा त्यस्तो भाग थियो जहाँ म एकघन्टामा पाँच पटक लडेँ र म एकदमै चिच्याएँ।
"तर म उठेँ र यात्रा जारी राखेँ। एउटापछि अर्को हिउँको यात्रा गरेँ।"
चण्डीको यो अहिलेसम्मको सबैभन्दा कठिन यात्रा हुनसक्छ तर उनी आफैँलाई धकेल्ने काममा अनजान छैनन्।
दौडकी उत्सुक र धैर्यवान् खेलाडी उनले बालुवामा दौडिने फ्रान्सेली म्याराथनसहित थुप्रै अल्ट्रा-म्याराथनमा भाग लिइसकेकी छन्। मोरोक्कोको मरुभूमिमा २५० किलोमिटरसम्म गरिने यो दौडलाई विश्वकै कठिन प्रतिस्पर्धा मानिन्छ।
"मेरो मनमा के लागेको थियो भने यो राम्रोसँग सम्पन्न भयो भने मैले अर्को के गर्नसक्छु? म एन्टार्क्टिकामा कोसिस गर्छु," चण्डीले भनिन्।
"ती दुवै धैर्यतामा आधारित छन् तर एकदमै फरक, मलाई यसबारे केही थाहा थिएन त्यसैले मैले अनलाइनमा विभिन्न जानकारी खोज्न सुरु गरेँ।"
"मैले एउटा कम्पनी फेला पारेँ जसले यी सबै सञ्चालन गर्छन्। तिनीहरूको आवेदन फारममा उनीहरूले हिउँमा चढ्ने वा हिमनदीमा हिँड्ने विषयहरू थिए, तर मैले त्यस्तो केही पनि पहिला गरेकी थिइनँ।"
त्यसैले व्यग्र भएर चण्डीले आइसल्याण्डको टिकट बुक गरिन् र आवेदन फारम भर्न जे जे आवश्यक पर्थ्यो ती सबै गर्न आफ्नो नाम दर्ता गराइन्।
"त्यो सबै गर्न सस्तो थिएन त्यसैले मैले एउटा कार भाडामा लिएकी थिएँ र अन्य बसोबासको व्यवस्था नगरी म कारमै सुत्थेँ," उनले भनिन्।
"मैले हिउँमा उक्लने, हिमनदीमा हिँड्ने सबै गरेँ अनि घर फर्किएर आवेदन फारम भरेँ।"
त्यसको दुई वर्षसम्म उनले दिनको पाँच घन्टा गह्रौँ टायर घिसार्नेजस्ता कठिन तालिम गरिन्।
"मलाई थाहा छैन मेरो क्षमताबारे मैले कहिलेदेखि महसुस गर्न थालेँ तर जति धेरै गर्यो मलाई मेरो क्षमता त्यति नै बढी रहेछ भन्ने महसुस भयो," चण्डीले भनिन्।
उनले साउथ पोलसम्मको एकल महिला यात्रामा झण्डै झण्डै रेकर्ड तोडिन्। उनले कार्यतालिकाको पाँच दिन अगाडि नै यात्रा पूरा गरिन्।
यसअघि सन् २०१६ मा स्वीडी जोहाना डेभिडसनले अहिले चण्डीले पूरा गरेको भन्दा एक दिन सात घण्टा र आठ मिनेट छिटै यात्रा तय गरेकी थिइन्।
यद्यपि अश्वेत महिलामा साउथ पोलको यात्रा तय गर्ने पहिलो महिला चण्डी बनेकी छन् जसको चर्चा विश्वभरि नै भएको छ र उनी समाचारका शीर्षक बनेकी छन्।
"प्रतिनिधित्व त्यति महत्त्वपूर्ण हुँदो रहेछ भनेर विगतमा मैले कहिल्यै सोचेकी थिइनँ," उनले भनिन्।
"म पूरै समय टेनिस खेल्थेँ, वा केही न केही चुनौतीपूर्ण काम गरिरहन्थेँ तर मेरो छालाको रङ्ग त्यति महत्त्वपूर्ण छ भनेर मैले कहिल्यै ठानेकी थिइनँ।"
चण्डी इङ्ल्याण्डको डर्बीमा हुर्किएकी हुन्। त्यहाँ धेरै मानिसहरू राष्ट्रिय निकुञ्जमा घुम्न आउँथे। तर उनी भने १९ वर्षमा आर्मी रिजर्भस्मा आबद्ध नहुँदासम्म कहिल्यै पनि क्याम्पिङमा गएकी थिइनन्।
उनले यसबारे सुरुमा परिवार र समुदाय चिन्तित होलान् भनेर गोप्य राखिन्।
ब्रिटेनमा जन्मिएकी शिख महिला चण्डी आफू कुनै धर्मलाई कट्टर रूपमा नपछ्याउने र आफूसँग आमाले किनेर ल्याइदिएको एउटा मात्रै लुगा भारतीय रहेको बताउँछिन्।
"मानिसहरू मलाई भन्छन् 'तिमी ध्रुवको अन्वेषण गर्नेजस्तो देखिन्नौ' र ग्रीनल्याण्डमा यात्रा गर्दा ठण्डीका कारण मेरो नाकको टुप्पोमा भएको घाउ देखेर मलाई मानिसहरूले तिम्रो जस्तो छालाको रङ्ग भएकामा हामीले यस्तो देखेका थिएनौँ भन्थे," उनले भनिन्।
आफ्नो पूरै तालिमभरी दक्षिण एसियाली हुनुका कारण आफूले प्रेरणाको स्रोत पाएको पत्ता लगाइन्।
"जब तपाईँले आफूजस्तै कसैलाई देख्नुहुन्छ वा बाहिरी गतिविधि गर्ने समुदायबाट तपाईँ हुनुहुन्न भने बाहिर निस्किएर केही गर्न कठिन छ।
"म मानिसहरूलाई आफ्नो मान्यताभन्दा बाहिरका काम गर्न र आफ्ना सीमाहरूलाई धकेल्न प्रेरित गर्न चाहन्छु र त्यो आफूले वा समुदायले अपेक्षा गरेको हुनुपर्दैन, जे गर्न मनलाग्छ त्यही गर्नुमा केही गलत छैन।"
"अहिले मानिसहरू ममाथि गर्व गर्छन् तर एन्टार्क्टिका जानुअघि उनीहरू मलाई म कहिले विवाह गर्छु र व्यवस्थित भएर बस्छु भनेर सोध्थे किनभने त्यो गर्नुलाई उनीहरू सफलता सरह मान्छन्।
"मलाई लाग्छ हामीले सबै खालका उपलब्धि हासिल गरेको विषय उत्सव जसरी मनाउनुपर्छ। मेरा लागि समानता भनेको विविधतालाई बेवास्ता गर्नु नभइ यसलाई अँगाल्नू हो।"
चण्डी आफूले पहिले तय गरेको उद्देश्य पूरा गर्न खोजिरहेकी छन्: त्यो भनेको उनी कसैको सहायता बिना नै अन्टार्क्टिका पार गर्न चाहन्छिन् जसलाई ६० देखि ९० दिन लाग्न सक्छ।
यदि उनले यो उद्देश्य पूरा गरिन् भने त्यसो गर्ने पहिलो महिला बन्नेछिन्।
यसैबीच उनी मानिसहरूलाई उनीहरू जो भए पनि सीमा तोड्न प्रोत्साहित गर्न चाहन्छिन्।
"म आफू पञ्जाबी महिला भएको र आफ्नो समुदायको मात्रै प्रतिनिधित्व नगरी जसलाई आफूले सक्दिनँ जस्तो लाग्थ्यो र जसलाई तिमीले गर्न सक्दैनौँ भनिएको छ उनीहरूलाई ठिक छ र चाहेको काम जहाँबाट थाले पनि हुन्छ भन्न मसँग आत्मविश्वास छ।"
"दक्षिणी ध्रुवसम्मको यात्रा धेरै ठूलो हो भन्ने मैले महसुस गरेकी छु तर त्यहाँसम्म पुग्न मलाई दुई वर्ष लाग्यो। मैले त्यसका लागि गुगलमा खोजी गरेर सुरु गरेकी थिएँ भने जोकसैले पनि त्यो गर्नसक्छ।"