पृथ्वीका सबै देशको भ्रमण गर्ने लक्ष्य लिएका एक दृष्टिविहीन यात्री

"मैले अन्टार्टिकासहित विश्वका सबै महादेशहरूको भ्रमण गरिसकेँ। मेरो उद्देश्य विश्वका सबै देशहरूको भ्रमण गर्नु हो।"

टोनी जाल्ज आँखा देख्दैनन् र कान पनि सुन्दैनन्। तर उनको घुम्ने चाहनाले उनलाई एक सय ३० देश पुर्‍याइ सकेको छ।

"केही मानिसले घुम्ने कुरामा मलाई उग्र भन्छन्। म विश्वलाई वैकल्पिक माध्यमबाट पनि हेर्न सकिन्छ भन्ने देखाइरहेको छु," ४१ वर्षीय ब्रिटिश नागरिकले भने।

बीबीसी ट्राभल सोले उनीसँग इथियोपियाको भ्रमणमा रहेका बेला भेटेको छ।

महसुस गर्छु

"म मानिसहरूले बोलेको सुन्छु। म पहाड उक्लन्छु र ओर्लन्छु। म मेरो खुट्टा र छालाले महसुस गर्न सक्छु। म त्यसै गरी देश हेर्छु," उनले भने।

जाल्जले विगत २० वर्ष यात्रा गरेर बिताए।

एउटा यात्राकै क्रममा एकजना केटी साथी भेटे। ग्रीसकी उनी पनि आँखा देख्दिनन्।

गतवर्ष तिनै केटी साथीसँग जाल्ज रुस गए र उनीहरूले विश्वकै ठूलो देशको वारपार ट्रेनबाटै गरे।

तर धेरैजसो यात्रा जाल्स एक्लै यात्रा गर्छन।

नयाँ उत्साह

आफ्नो बुवाको निवृत्तिभरणको पैसाले उनको यात्राको खर्च जुटाउँछ। आफूले गर्ने यात्राको योजना पनि उनी समयमै राम्ररी गर्छन्।

हवाईयात्राको लागि टिकट काट्न उनलाई आमाले मद्दत गर्छिन्। धेरैजसो एअरलाइन्सका वेबसाइटले दृष्टिविहीनका लागि राम्रो सेवा नदिने उनी बताउँछन्।

उनी आफूलाई यात्राका क्रममा मद्दत गर्ने मानिसहरूसँग इन्टरनेटको माध्यमबाट सम्पर्कमा पनि रहन्छन्।

"म कुनै पुस्तिका झिकेर यो ठाउँ जाउँ वा त्यो ठाउँ भनेर निधो गर्न सक्दिनँ त्यसैले यात्रा गर्नुअघि जाने ठाउँबारे मलाई ज्ञान हुनुपर्छ।"

"मेरो स्मरणशक्ति एकदम राम्रो छ," उनले भने।

यात्रामा अपरिचित सहरमा बाटो पहिल्याउने कुराले उनलाई रोमाञ्चित बनाउँछ।

"कतिपय बेला मलाई म कोसँग भेट्दैछु र के हुँदैछ भन्ने थाहा हुन्न। मेरा लागि त्यो नै साहसिक काम हो।

विकृत इन्द्रिय

जाल्ज नौ महिनाका मात्रै हुँदा उनको आँखामा समस्या भएको पत्ता लाग्यो। १० वर्षको हुँदा उनले आँखाको ज्योति गुमाए।

त्योभन्दा पहिला छ वर्षकै उमेरमा उनी कान राम्ररी सुन्दैनन् भन्ने थाहा भयो। उनी श्रवणयन्त्र प्रयोग गर्छन् तर पनि उनले सबै ध्वनिहरू सुन्न सक्दैनन्।

"आँखाको कुरालाई लिएर म मेरा किशोरावस्थामा धेरै घोत्लिरहन्थेँ।"

उनले एउटा विशेष खालको विद्यालयमा पढे जहाँ उनले अर्को देशको यात्रा अनुभव बटुल्न पाए। १६ वर्षको उमेरमा उनी विद्यालय भ्रमणका क्रममा अमेरिकाको बोस्टन पुगे।

यात्राको लत

जाल्जले १५ वर्षको हुँदा पिता गुमाए। १६ वर्ष हुँदा आफूजस्तै साथी गुमाए।

"ती घटनापछि मैले छ-सात वर्ष रक्सी पिएँ। २४ वर्ष पुग्दा त म रक्सीबिना बाँच्नै नसक्ने भइसकेको थिएँ।"

उनका बुवा नौसेनामा काम गर्थे। बुवाले टाढाटाढाका ठाउँहरूको कथा भनेपछि त्यसले युवा जाल्जलाई धेरै प्रभावित पार्‍यो।

"मैले रक्सीलाई दिमागबाट जसै बाहिर निकालेँ, मैले यात्रा गर्नुपर्ने फरक बाटो देखेँ।"

भावनाबाट भाग्ने उपाय

सन् २००० को मार्च महिनामा उनले न्यू अर्लियन्सको यात्राबाट आफ्नो साहसिक काम सुरु गरे।

"मलाई थाहा थिएन म कहाँ गइरहेको थिएँ र मलाई एकदमै जाडो भइरहेको थियो। मैले गहिरो सास फेरेँ र आफैँलाई भनेँ: 'टोनी तँ चाहँदैनस् भने घर फर्किए हुन्छ।'"

उनले पछाडि नफर्किने निधो गरे र त्यसयता अमेरिकाका सबै राज्य घुमे।

"यात्रामा निस्कनुको एउटा मुख्य कारण भनेको आफ्नै भावनाबाट भाग्नु हो।"

नयाँ ठाउँमा जानुले उनलाई आफ्ना भावनाहरूलाई मजबुत पार्ने अवसर पनि दिन्छ।

"म जति धेरै मानिसलाई भेट्छु त्यति नै महसुस गर्छु कि उनीहरू म दृष्टिविहीन भएकोले होइन कि मेरो व्यक्तित्वले मेरो वरपर हुन खोज्छन्।"

जतिसक्दो सामान्य

उनी खर्चलाई एकदमै ध्यानमा राखेर यात्रा गर्छन्। उनी सार्वजनिक यातायातमा यात्रा गर्न रुचाउँछन् र सामान्य होटलमा बस्न रुचाउँछन्।

"ठाउँ एकदमै अव्यवस्थित हुनसक्छ वा एकदमै सामान्य हुनसक्छ। त्यसले नै मेरो इन्द्रियहरू जागृत गर्छ।"

अदिस अबाबामा उनी एउटा कला प्रदर्शनीमा गएका बेला उनले प्रदर्शनीमा राखेका सामान छुन र महसुस गर्न पाए।

अन्य सङ्ग्रहालयमा भन्दा त्यहाँ उनले आफू पनि समेटिएको महसुस गरे।

सहयोगी यात्रीहरू

उनी असजिलो खालका बाटो हिँड्न खोज्छन्।

कहिलेकाहिँ जाल्ज आफ्ना लागि पथप्रदर्शक खोज्छन्, तर धेरैजसो होइन। त्यसैले बेला बेला हराउँछन्।

तर त्यसले उनलाई अत्याउँदैन। उनी शान्त भएर त्यो बाटो हिँड्ने मानिसलाई कुर्छन् जो उनलाई मद्दत गर्न आउँछ।

"बाटोमा १० जना हिँडे भने कोही न कोही आउँछ र सोध्छ: तपाईँ कतै हराउनुभयो? केही मद्दत चाहिन्छ?"

त्यसैगरी भेटिएका केही अपरिचितले घरमा लगेर खुवाएको र बाँकी यात्राका लागि सहयोग गरेको उनले बताए।

अपरिचितमाथि विश्वास

पैसा झिक्नु र विभिन्न देशका पैसाहरूको व्यवस्थापन गर्नु उनका लागि ठूलो चुनौती हो।

"मैले विश्वास गर्न सक्ने कसैलाई खोज्नुपर्छ। मैले उनीहरू ठीक हो होइन जाँच्नुपर्छ। उनीहरूलाई सुन्नुपर्छ।"

जब उनलाई चित्त बुझ्छ उनी ती अपरिचित व्यक्तिसँग एटिएम जान्छन् र पैसा झिक्छन्।

"पैसा झिकिसकेपछि कुन नोट कति कति रूपैयाँको हो सोध्नुपर्छ।"

सङ्गीत र खाना

यात्रा गर्दा उनी आफैँ विभिन्न साङ्गितिक वाद्ययन्त्र बजाउने कोशिश गर्छन्।

"सङ्गीतसँग मेरो ठूलो प्रेम छ। म योसँग जोडिन सक्छु। म लय महसुस गर्न सक्छु। यसले सबै बन्धनहरू तोड्छ।"

स्थानीय लोकप्रिय खानेकुराहरूले पनि आफूलाई त्यो संस्कृतिबारे बुझ्न मद्दत गर्ने उनी बताउँछन्।

अविश्वसनीय

उनी थुप्रै रमाइला ठाउँहरू पुगेका छन् र धेरै फोटोहरू पनि खिचेको छन्।

उनी आफैँले ती तस्बिरको रमाइलो लिन नसक्लान् तर ती तस्बिरलाई उनले चलाउने वेबसाइटमा राखिन्छ। त्यसबाट उनी अरूलाई रमाइलो दिन्छन्।

उनको बेलाबेला त्यस्ता मानिससँग जम्काभेट हुन्छ जो उनको यात्राप्रेम देखेर जिल्ल पर्छन्।

"किन दृष्टिविहीन मानिसले विश्व देख्न चाहन्छ?" उनीहरू सोध्छन्।

उनीसँग सामान्य जवाफ छ: "किन नचाहनु त?"