कोभिड नेपाल: कोरोना भाइरस सङ्क्रमण बढेपछि थप प्रतिबन्ध; परीक्षण गरिएका एकतिहाइमा सङ्क्रमण पुष्टि

सरकारले कोरोनाभाइरसको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै देशैभर निषेधाज्ञाको दायरा बढाएको छ।

मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐनले दिएको अधिकार प्रयोग गर्दै विभिन्न क्षेत्रहरू बन्द वा नियमन गर्ने आदेश जारी गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतवार जानकारी दिए।

नेपालमा पछिल्लो २४ घण्टामा कुल परीक्षणको करिब ३६ प्रतिशतमा कोभिड देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्ले गरेका निर्णय

  • सबै प्रकारका आमसभा, जुलुस, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालनमा रोक
  • गोष्ठीहरू भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने
  • भौतिक रूपमा उपस्थित भई गर्नुपर्ने भएमा एन्टिजन परीक्षण गरी रिपोर्ट नेगेटिभ भएका बढीमा २५ जना मात्र सहभागी हुन पाउने
  • माघ ७ गतेपछि खोप लगाएका व्यक्तिहरूलाई मात्रै यस्ता कार्यमा उपस्थितिको अनुमति दिइने
  • सिनेमाघर, डान्स बार, दोहोरी, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरूको भिडभाड हुने कार्यक्रम सञ्चालनमा माघ १५ गतेसम्म प्रतिबन्ध
  • विद्यालय, विश्वविद्यालय, तालिम वा अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्दा माघ १५ गतेसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्ने
  • पूर्वनिर्धारित परीक्षा, वैदेशिक रोजगारीका लागि लिइने परीक्षा र चिकित्सा शिक्षाका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने
  • मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना अनिवार्य गर्दै माघ मसान्तसम्म नित्य पूजा ध्यान र प्रार्थना मात्र गर्न पाइने
  • सपिङ मल, डिपार्टमेन्ट स्टोर वा अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने । दुई व्यक्तिबीच दुई मिटरको दूरी कायम गर्ने कुनै पनि सामान अनावश्यक रूपमा छुन नहुने र मास्क अनिवार्य गर्ने जस्ता मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न पाइने
  • पार्टी प्यालेसमा कुल क्षमताको एकतिहाइ नबढ्ने गरी बढीमा ५० जना मात्रै उपस्थित हुन पाइने र विवाह वा व्रतबन्धका लागि प्रमुख जिल्ला अधिकारीबाट स्वीकृति लिनुपर्ने
  • रङ्गशालामा हुने खेलकुद गतिविधिमा कुल क्षमताको एकतिहाइ मात्रै उपस्थित हुन पाउने
  • माघ ७ गतेपछि खेल कार्यक्रम खोप मात्रा पूरा गरेका व्यक्तिहरूले मात्रै रङ्गशालामा प्रवेश पाउने
  • धार्मिक तथा सांस्कृतिक कार्यक्रममा पनि ५० जनाभन्दा बढी उपस्थित हुन नपाउने।

सङ्क्रमणदर ३६ प्रतिशत

नेपालमा थप ४,९६१ जना कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

गत २४ घण्टामा १२,५६२ पीसीआर र २,५६९ एन्टीजन विधिबाट कुल १५,१३१ जनाको परीक्षण गर्दा करिब ३६ प्रतिशतमा कोभिड देखिएको हो।

"सङ्क्रमणदरले कोभिड-१९ को बढ्दो जोखिम पुष्टि भइरहेको अवस्था देखाउँछ। त्यसैले हामी सबै सतर्क रहँदै जनस्वास्थ्यका मापदण्ड अझ कडाइका साथ पालना गर्नुपर्ने देखिन्छ," मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले नियमित प्रेस ब्रिफिङमा भने।

काठमाण्डू उपत्यकामा धेरै

नेपालमा हाल २५,६८० जना सक्रिय सङ्क्रमित रहेको र तीमध्ये ३,३४७ जना काठमाण्डू उपत्यकामा रहेको मन्त्रालयको तथ्याङ्क छ।

मन्त्रालयका अनुसार अहिले आईसीयूमा १२२ जना र भेन्टिलेटरमा २९ जना बिरामी छन्।

विगत २४ घण्टामा कोभिड सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा २,५४५ जना काठमाण्डूमा, ४७४ जना ललितपुरमा र ३२८ जना भक्तपुरमा नयाँ सङ्क्रमित थपिएका छन्।

नेपालमा पछिल्ला दिनहरूमा सङ्क्रमण दर निरन्तर बढिरहेको मन्त्रालयले जनाएको छ।

यसअघि शनिवार ३,७०३ जना नयाँ सङ्क्रमित थपिएका थिए भने शुक्रवार ५,०८७ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अधिकारीहरूले पीसीआर विधिबाट जाँचिएका प्रत्येक चारमध्ये एकभन्दा बढी नमुनामा सङ्क्रमण पुष्टि भइरहेको भन्दै थप सावधानी अपनाउन आग्रह गरेका छन्।