कोभिड नेपालः कोरोना भाइरस सङ्क्रमण जाँच्न घरमै यसरी एन्टिजन किट प्रयोग गर्न सकिन्छ, तर बजारमा उपलब्ध सामान कति भरपर्दा

नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ‌ओमिक्रोन फैलिन थालेको सङ्केत पाएपछि सरकारी तथा निजी स्तरमा पनि अहिले कोभिड परीक्षणको सङ्ख्या बढेको देखिन्छ। परीक्षणका लागि पीसीआर विधिसँगै एन्टिजन किटको प्रयोग विस्तार भएको अधिकारीहरूले बताएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी प्रवक्ता डा. सङ्गीता कौशल मिश्रका अनुसार सङ्क्रमितहरूको पहिचानका लागि सीमा क्षेत्र र विमानस्थल लगायत भिडभाड हुने स्थानमा एन्टिजन परीक्षणमा जोड दिइएको हो।

"विशेषगरी भिड हुने क्षेत्रहरूमा तत्काल नतिजा आवश्यक हुने भएकाले किटको प्रयोग गरिएको हो। यसलाई स्थानीय तहमा पनि पठाएका छौँ," मिश्रले बीबीसीसँग भनिन्।

सरकारले कोभिड-१९ को अवस्थाबारे दैनिक प्रकाशित गर्ने विवरणमा एन्टिजन विधिबाट गरिने परीक्षणको सङ्ख्या पुष्टि भएका सङ्क्रमितको सङ्ख्या उल्लेख गर्ने गरेको छ।

कता र कसरी दिइन्छ एन्टिजन किट?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार महाशाखामार्फत् प्रदेश र प्रदेशमार्फत् पालिकाहरूमा उक्त किट निःशुल्क वितरण गरिएको छ।

नेपालमा एन्टिजन उपकरण भित्रिएदेखि हालसम्म १६ लाख वटाभन्दा बढी वितरण भइसकेको उनले जानकारी दिए। तर अहिलेसम्म झन्डै नौ लाख जनाको मात्र एन्टिजन किटमार्फत् परीक्षण गरिएको नजिता तथ्याङ्कमा समेटिएको छ।

तर यसमा निजी स्तरमा व्यक्तिले आफैँ एन्टिजन किट किनेर गर्ने परीक्षणको सङ्ख्या समाविष्ट छैन।

"पीसीआर नै बढी प्रभावकारी हुने भएकाले एन्टिजन किटको प्रयोग आपत्कालीन परिस्थिति, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको र लक्षण देखिएकाहरूको जाँच गर्न हुन्छ," उनले भने।

सरकारसँग केही अनुदानमा आएका र केही खरिद गरिएका एन्टिजन किटहरू रहेको पौडेलले जानकारी दिए।

के हो एन्टिजन किट?

एन्टिजन त्यस्तो तत्त्व हो जसलाई मानव शरीरले हानिकारक बाह्य तत्त्वका रूपमा चिन्छ र फलस्वरूप आफ्नो रक्षाका लागि त्यसविरुद्ध विरुद्ध एन्टिबडी उत्पादन गर्छ।

विज्ञहरूका अनुसार एन्टिजन किटले कोभिड-१९ को सङ्क्रमणपश्चात् कोरोनाभाइरसको प्रोटीन मानव शरीरमा छ कि छैन भनेर पत्ता लगाउँछ।

सामान्यता यस किटमा परीक्षणलाई आवश्यक पर्ने तीन वटा वस्तु हुन्छन्ः

  • नाक अथवा घाँटीबाट नमुना सङ्कलन गर्नका लागि स्वाब अर्थात् कपासजडित सुइरो
  • एन्टिजन निर्क्योल गर्नका लागि आवश्यक तरल रसायन
  • सङ्क्रमण हो या होइन पुष्टि गर्न उक्त तरल पदार्थ खन्याइने परीक्षण 'स्ट्रिप'।

कसरी गरिन्छ परीक्षण?

सबैभन्दा पहिले स्वाब भएको सुइरोलाई नाक वा घाँटीमा छिराइन्छ र नमुना निकालिन्छ। नमुना भएको उक्त स्वाबलाई रसायनमिश्रित झोलमा डुबाइन्छ। केही बेरमै त्यस घोलकलाई उपलब्ध परीक्षण स्ट्रिपमा खनाइन्छ।

केही समयमा त्यस स्ट्रिपमा देखिने धर्सा वा अन्य सङ्केतले सङ्क्रमण हो या होइन भन्ने पुष्टि गर्छ।

"नतिजा जनाउने सङ्केत किट उत्पादकअनुरूप फरक हुन सक्छ। प्रक्रिया एउटै भए पनि कुनैमा धर्सा, कुनैमा थोप्लो आदि सङ्केत देख्न सकिन्छ," त्रिभुवन विश्वविद्यालयमा सूक्ष्मजीव विज्ञान तथा इम्यूनोलजी प्राध्यापन गर्ने डा. प्रकाश घिमिरेले जानकारी दिए।

"ठ्याक्कै भन्न सकिँदैन तर सामान्यतया परीक्षण गर्ने उपकरणमा सी (कन्ट्रोल) र टी (टेस्ट, परीक्षण गरिएको नमुना जनाउने सङ्केत) को छेउमा धर्सा देखिए सङ्क्रमण भएको पुष्टि हुन्छ। अनि 'सी'मा मात्र धर्सा देखिए नतिजा नेगेटिभ मान्न सकिन्छ।"

केही किटको उपयोगपुस्तिकामा दुवै धर्सा नदेखिएको खण्डमा परीक्षणको नतिजा मान्य नहुने जनाइएको हुन्छ।

कति भरपर्दो हुन्छ एन्टिजन किट?

यो विधिबाट गरिने परीक्षण पीसीआरजस्तो शत प्रतिशत भरपर्दो नमानिने विज्ञहरू बताउँछन्।

डा. घिमिरे एन्टिजन किटको प्रयोग सङ्क्रमणको लक्षणहरू देखिएको अवस्थामा मात्र उपयुक्त हुने बताउँछन्।

"कहिलेकाहीँ लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ तर किटले शरीरमा भाइरसको मात्रा कम भएको अवस्थामा नतिजा नेगेटिभ देखाउने सम्भावना हुन्छ," उनले भने।

त्यसैले एन्टिजन परीक्षणको नतिजा पुष्टि गर्न पीसीआर परीक्षण गर्नुपर्ने उनको सुझाव छ।

विभिन्न देशमा यस उपकरणको सहज पहुँचका कारण मानिसहरूले घरघरमै सङ्क्रमण परीक्षण गर्ने भएकाले यसको प्रयोग नै गलत हो भन्न नसकिने विज्ञहरूको तर्क छ।

तर यसको प्रयोग प्रारम्भिक निश्चितता र सतर्कताका लागि मात्र उचित हुने डा. घिमिरेको कथन छ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि यसको विश्वसनीयताबारे विश्वभरि बहस भइरहेको बताउँछन्।

"एन्टिजन किटले भाइरसको कुन भेरिअन्ट हो भन्ने छुट्ट्याउँदैन। र, प्रायः सङ्क्रमण भएको एक साताभित्र मात्र नतिजा पोजेटिभ देखाउँछ। भाइरल लोड कम हुँदै जाँदा मानिस सङ्क्रमित भए पनि त्यस परीक्षणमा भने नतिजा नेगेटिभ देखाउन सक्छ," डा. पुनले भने।

बजारमा उपलब्ध एन्टिजन परीक्षण गर्ने उपकरणहरू कोरोनाभाइरसका पुराना भेरिअन्टलाई लक्ष्य गरेर बनाइएकाले नयाँ भेरिअन्टबाट हुने सङ्क्रमण परीक्षण जाँच्च ती कति प्रभावकारी हुन्छन् वा हुँदैन भन्ने विषयमा बहस भइरहेको उनले बताए।

बजारमा कस्ता किट उपलब्ध छन्?

एक स्वास्थ्य सामग्री व्यवसायी पोस्टराज ज्ञवालीका अनुसार हाल बजारमा २० देखि २५ प्रकारका एन्टिजन किटहरू उपलब्ध छन्। तर यी सबै विश्व स्वास्थ्य सङ्गठनका मापदण्डअन्तर्गत नभएको उनको दाबी छ।

"करिब तीन वटा मात्र मापदण्ड पूरा भएका एन्टिजन किट नेपालमा आयात भइरहेका छन्। सर्वसाधारण उपभोक्ताले बुझेर मात्र किट खरिद गर्नुपर्छ," उनले भने।

उनका अनुसार भारतमा मात्र विक्री तथा वितरणको अनुमति पाएका उपकरणहरू पनि नेपालमा भेटिन्छन्।

"त्यस्ता सामग्रीको विक्री तथा खरिद गैरकानुनी हो। तर यस विषयमा नियमन भएको छैन," उनले भने।

अमेरिकी कम्पनी प्रीमीअम मेडिकल कर्पोरेशन, अब्बोट र्‍यापिड डायगनस्टिक जेना र एसडी बायोसेन्सरको कोरियामा उत्पादित किटहरू विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणित किट भएको जनाइएको छ।

प्रमाणित किट ३०० देखि ४०० नेपाली रुपैयाँमा उपलब्ध हुने ज्ञवालीले जानकारी दिए। त्यस्तै अन्य उपकरण १०० यदेखि २५० रुपैयाँमा खरिदविक्री भएको पाइएको छ।

"एन्टिजन किटको खपत केही दिन यता ह्वात्तै बढेको छ। पहिले महँगा किटहरू पनि माग बढेसँगै केही सस्ता भएका छन्," उनले भने।

भारतमा पनि एन्टिजन परीक्षणको दायरा निकै फराकिलो भएको बताइन्छ।

भारतीय परीक्षण किट कम्पनी माई ल्याब्सका प्रबन्ध निर्देशक हंसमुख रावलले बीबीसी न्यूज हिन्दीलाई बताएअनुसार डिसेम्बर अन्तिम सातादेखि ज्यानुअरी पहिलो सातासम्ममा कोभिड-१९ परीक्षण किटको विक्री ४०० देखि ५०० प्रतिशत वृद्धि भएको छ।

यो पनि हेर्नुहोस्