तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिड नेपालः एक सातामा कोरोना भाइरस सङ्क्रमण छ गुनाले बढ्यो
नेपालमा विगत २४ घण्टामा २,४४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार अपराह्ण जनाएको छ।
अहिले दैनिक पुष्टि भएको सङ्क्रमण गत साता मङ्गलवारको तुलनामा छ गुनाभन्दा बढी हो।
तीव्र गतिमा सङ्क्रमण विस्तार भइरहेको भन्दै सरकारले सुरक्षाका विभिन्न उपायहरू अवलम्बन गर्न निर्देशन दिएको भोलिपल्टै यो तथ्याङ्क आएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १५ हजारभन्दा बढी नमुनाको पीसीआर र एन्टिजन विधिमार्फत् परीक्षण गर्दा १६.२५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण देखिएको हो।
कहाँ कति सङ्क्रमित देखिएका छन्?
देशभरि कुल सक्रिय सङ्क्रमित ९,५०० भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ।
विगत २४ घण्टामा सबैभन्दा बढी नयाँ सङ्क्रमित राजधानी काठमाण्डू उपत्यकामा फेला परेका छन्। ।
काठमाण्डूमा ९८० जना सङ्क्रमित थपिएका छन् भने यहाँ सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ३५ सयभन्दा बढी छ।
ललितपुरमा २२१ तथा भक्तपुर र कास्की दुवै जिल्लामा ८०-८० जनाभन्दा बढीमा कोभिड पुष्टि भएको छ।
ललितपुरमा अहिले झन्डै ११ सय र भक्तपुरमा लगभग ७०० सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
साथै उक्त अवधिमा देशभरि ३४४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।
कतिले खोप लगाएका छन्?
हालसम्म लक्षित जनसङ्ख्या एक करोड ९९ लाखको झन्डै ५७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
एक मात्रा मात्रै खोप लगाउनेको सङ्ख्या ७६.५ रहेको देखिन्छ।
कुल जनसङ्ख्या तीन करोड तीन लाखको ३७.३ प्रतिशतले पूर्ण मात्रा र ५०.२ ले कम्तिमा एक मात्रा खोप लगाएको सरकारको तथ्याङ्कले देखाउँछ।