तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यापिटल दङ्गाः अमेरिकी संसद्मा आक्रमण भएको एक वर्ष पूरा, डोनल्ड ट्रम्पका यी समर्थकलाई कस्तो कारबाही भयो
एक वर्षअघि सन् २०२१ ज्यानुअरी ६ मा अमेरिकी संसद् भवनमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकको भिड प्रवेश गरेको दृश्यले पूरा विश्वलाई छक्क पारिदिएको थियो।
सिनेटले जो बाइडनलाई राष्ट्रपतीय निर्वाचनको विजेताका रूपमा प्रमाणित गर्ने कार्यक्रमका लागि उपस्थित फोटोपत्रकारहरूले भिड सरकारी कार्यालयमा अनधिकृत प्रवेश गरेको वा सांसदहरूको कार्यालयभित्र घुमेको वा प्रहरी अधिकारीलाई आक्रमण गरेको तस्बिरहरू खिचेका थिए।
अमेरिकी संसद् भवनको आक्रमणपछि केही साता र महिना भने ती तस्बिरहरूले संसद् भवन प्रवेश गरेकाहरूलाई तर्सायो।
अहिलेसम्म तिनै तस्बिरका आधारमा पहिचान गरेर ७२५ जनाभन्दा बढीलाई गिरफ्तार गरिएको छ। तीस जना भन्दा बढीलाई सजाय तोकिएको छ र आउने दिनमा अन्य आक्रमणकारीलाई पनि अदालतमा प्रस्तुत गरिने अमेरिकी अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूले अझै ३५० जनालाई खोजिरहेका छन् जसमध्ये २५० जनाले सुरक्षाकर्मीलाई आक्रमण गरेको आशङ्का गरिएको छ।
ती दिन खिचिएकामध्ये चर्चित पाँच तस्बिर र तिनमा देखिएका व्यक्तिको अवस्था यहाँ प्रस्तुत गरिएको छ।
जेकोब च्यान्सले, ३४
सबैभन्दा चर्चितमध्येको एक तस्बिर ३४ वर्षीय जेकब एन्थनी च्यान्स्लेको हो।
ट्रम्पमा कट्टर समर्थक च्यान्स्ले आक्रमणको दिन सिङ भएको भालुको छालाको टोपी लगाएर संसद् भवनमा प्रवेश गरेका थिए।
उनी आक्रमणको केही दिनपछि गिरफ्तार भएका थिए र नोभेम्बरमा उनलाई तीन वर्ष पाँच महिनाको जेल सजाय तोकियो। त्यसपछि पनि उनी तीन वर्ष निगरानीमा हुनेछन्।
अदालतमा च्यान्स्लले संसद् भवन प्रवेश गर्नु गल्ती भएको र आफू परिवर्तन हुने आशा राखेको बताएका थिए।
एडम जोनसन, ३६
फ्लोरिडाका ३६ वर्षीय एडम जोनसनलाई ट्रम्प लेखिएको टोपी लगाएर सभामुखको पोडियम बोकेर संसद् भवनको अवलोकनकक्षमा अमेरिकी स्वतन्त्रता युद्धको बेला ब्रिटिश जेनरलले आत्मसमर्पण गर्दै गरेको चित्रअगाडि तस्बिरमा कैद गरिएको थियो।
जोनसनलाई आक्रमणको केही दिनपछि नै अनधिकृत प्रवेश, गलत व्यवहार र सरकारी सम्पत्तिको चोरीको आरोप लगाइएको थियो।
नोभेम्बरमा उनले प्रतिबन्धित भवनमा प्रवेश गरेको अपराध स्वीकार गरेका छन् र उनलाई छ महिनासम्मको जेल सजाय र ९,५०० अमेरिकी डलरसम्म जरिबाना हुन सक्ने बताइएको छ।
उनीमाथिको अन्य आरोप भने उनले अपराध स्वीकार गरेका कारण अधिकारीहरूले छोडिदिएका छन्।
त्यसबारे पुस्तक लेख्ने रहर गरेका जोनसन पाँच वर्षसम्म आफ्नो पुस्तकबाट हुने आम्दानी सरकारलाई बुझाउन पनि सहमत भएका छन्।
रिचर्ड बार्नेट, ६१
अर्का ट्रम्प समर्थक रिचार्ड बार्नेटको तस्बिरका सभामुख न्यान्सी पेलोसीको कार्यकक्षमा टेबलमाथि एउटा खुट्टा राखेर बसेको देखिन्छ।
बेसबल टोपी लगाएका बार्नेटको तस्बिर र उनीलगायत अन्य समर्थकले पेलोसीको टेबलमा छोडेका नाराहरूका तस्बिर भाइरल भएका थिए।
बार्नेटमाथि अहिले सरकारी काममा बाधा पुर्याएको, निषेधित भवनमा खतरनाक हतियार लिएर प्रवेश गरेको र गलत व्यवहारजस्ता विभिन्न आरोपमाथि छानबिन भइरहेको छ।
उनी अहिले वाशिङ्टन डीसीको जेलमा छन् र सुनुवाइको प्रतीक्षा गरिरहेका छन्।
फेब्रुअरी १ मा उनको पेसी हुन लागेको छ। उनले अहिलेसम्म आरोप अस्वीकार गर्दै आएका छन्।
केभिन सीफ्रायड, ५२
सिनेटको प्रवेशद्वारतिर कन्फेडरेट युद्धको झण्डा बोकेर हिँड्दै गरेको अवस्थामा तस्बिरमा देखिने केभिन सीफ्रायडलाई उनको छोरासहित घटनाको एक सातापछि गिरफ्तार गरिएको थियो।
उनलाई पनि विभिन्न आरोपहरू लगाइएको छ जुन उनले अस्वीकार गरेका छन्।
उनको सुनुवाइ हुने क्रममा छ र उनी अहिले जेलबाहिर छन्।
आरोन मोस्टफ्क्सी, ३५
न्यूयोर्क सहरका एक चर्चित र राजनीतिक रूपमा प्रभावशाली न्यायाधीशका छोरा आरोन मोस्टफ्क्सीको प्रहरीको ढाल र लट्ठी लिएर बसिरहेको तस्बिर भाइरल बनेको थियो।
उनले न्यूयोर्क पोस्टलाई दिएको अन्तर्वार्तामा ट्रम्पका समर्थकहरूले निर्वाचनमा धाँधली भएको विश्वास गरेको बताएका थिए।
"मलाई लाग्दैन ट्रम्पलाई सात करोड ५० लाख मानिसले मत दिए - मलाई लाग्छ झन्डै आठ करोड ५० लाखले उनलाई मत दिए," उनले भनेका छन्। "मलाई लाग्छ न्यूयोर्कजस्ता लामो समय रातो रहेर नीलो बनेका राज्यहरूमा धाँधली भएको छ।"
उनलाई घटनाको छ दिनपछि गिरफ्तार गरिएको थियो र उनमाथि सरकारी सम्पत्ति चोरेको र अधिकारीमाथि आक्रमण गरेको जस्ता विभिन्न आरोप लागेका छन्।
उनले आरोप अस्वीकार गरेका छन्।
ज्यानुअरी २४ मा अदालतको सुनुवाइमा उनी उपस्थित हुनेछन्।
यो पनि हेर्नुहोस्