नेपाली कांग्रेस: १४ औँ महाधिवेशनका चुनावी नतिजा पूरै आइनसक्दा नै १५औँ को चर्चा किन?

    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नतिजा पूरै आइनसक्दै कतिपय राजनीतिशास्त्री एवं कांग्रेस वृत्तबाट त्यसले खास आगामी महाधिवेशनलाई महत्त्वपूर्ण सङ्केत छाडेको भन्दै विश्लेषण गरेका छन्।

नयाँ नेतृत्व चयन गरिरहेको सत्ताधारी पार्टीको चौधौँ महाधिवेशनबाट पदाधिकारीमा विभिन्न प्यानलबाट नेताहरू विजयी भएका छन्।

कोषाध्यक्षबाहेकका १३ जना पदाधिकारीको चुनावी नतिजा आइसक्दा देउवाको समूहबाट उनीसहित ८ जना निर्वाचित भएका छन्।

देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक बाँकी जना ११ पहिलोपटक पदाधिकारीमा चयन भएका हुन्।

कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने र केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

नेतृत्वका मुख्य पदमा पुराना पुस्ताका कतिपयले आँखा नै लगाएनन् भने कतिपय प्रतिस्पर्धामा गएर समेत पराजित भए।

र यसअघि पदाधिकारीमा नरहेको नयाँ पुस्ता उल्लेख्य रूपमा ती पदमा पुगेको पाइएको छ।

'विशेष माहौल'

राजनीतिशास्त्री लोकराज बरालले १४औँ महाधिवेशनले लोकतान्त्रिक संस्कारसहितको एउटा विशेष माहौल बनाएको ठान्छन्।

"जुनसुकै प्यानलमा भए पनि जनताले आशा र विश्वास गरेका व्यक्तिहरू, योग्य रहेछन् भने (प्रतिनिधिले) चयन गर्दा रहेछन् भन्ने विश्वास भयो," बराल भन्छन्।

यस महाधिवेशनले अब आउने अधिवेशनका लागि स्पष्ट सङ्केतहरू छाडेको उनी बताउँछन्।

शेखर कोइरालाले अर्को पटक सभापतिमा नलड्ने सङ्केत गरेको आफूले बुझेको बताउँदै उनी भन्छन्, "कोइरालाले आफूले पाएको मत पार्टीलाई सपार्ने अभिमतका रूपमा लिएका छन्। उनी नलडे गगन, विश्वप्रकाश वा अरू कोही होला। रूपान्तरण त भइहाल्यो नि।"

देउवासँग पराजित भएपछि एक मन्तव्यका क्रममा कोइरालाले यस अधिवेशनले 'कांग्रेसभित्र युवाहरूका लागि अवसर नै अवसर खोलिदिएको' बताएका थिए।

झण्डै ४० प्रतिशत मत ल्याएका कोइरालाले पार्टीभित्र गुटबन्दी र भागबन्डामा नलाग्ने बताएका छन्।

१५औँ अधिवेशनलाई सङ्केत

लगातार दुई पटकभन्दा बढी सभापति हुन नपाइने व्यवस्था रहेकोले कांग्रेसमा १५औँ अधिवेशनले नेतृत्वमा नयाँ अनुहार देखाउनेछ।

यसअघि १२औँ महाधिवेशनमा संस्थापनबाहेकको समूहबाट चित्रलेखा यादव कोषाध्यक्षमा विजयी भएकी थिइन् भने १३औँ महाधिवेशनमा महामन्त्रीमा शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादव विजयी भएका थिए।

पहिलो पटक सबैजसो पदाधिकारी निर्वाचनबाट चयन गरिएको १४औँ महाधिवेशनमा त्यो क्रम केही व्यापक दायरामा फैलिएको देखिन्छ।

प्रतिस्पर्धा गरेका शेरबहादुर देउवाको संस्थापन र उनलाई चुनौती दिइराखेका शेखर कोइराला र प्रकाशमान सिंहका प्यानलबाट पदाधिकारीहरू निर्वाचित भएका छन्।

महामन्त्रीमा संस्थापन भनिएको देउवा समूहले कृष्ण सिटौलाको समूहसँग मिलेर जाने घोषणा गरे तापनि दुवै पद जोगाउन सकेन।

'कसले सुधार्छ कांग्रेस?' पुस्तक लेखेका र आफै केन्द्रीय सदस्यको उम्मेदवार समेत भएका शङ्कर तिवारीले पछिल्ला तीन वटा महाधिवेशनदेखि नै कार्यकर्ताहरूले पार्टीका प्रमुख दुई धारलाई मिलेर जान दिएको सन्देशका रूपमा बुझ्नुपर्ने बताउँछन्।

'सङ्क्रमणकालले खाका पायो'

शङ्कर तिवारीले १२औँ महाधिवेशन यताको समयमा कांग्रेस 'सङ्क्रमण कालबाट गुज्रिरहेको' रूपमा व्याख्या गर्छन्।

"१४ औँ महाधिवेशनसम्म आइपुग्दा त्यो सङ्क्रमणले आफ्नो खाका तय गरेको छ र त्यसकै आधारमा पार्टी अगाडि बढ्ने छ," तिवारीको भनाइ छ।

"पार्टी पुरानो सोच र नयाँ सोच भएका नेताहरूबीच द्वन्द्व चलिरहेको थियो। नयाँ पुस्ताले यतिखेर आफूलाई बलशाली स्थापित गरेको छ।"

निर्वाचनको पूरै परिणाम आउन बाँकी रहे तापनि शेरबहादुर देउवाले अब पुरानै भागबण्डाको शैलीले पार्टी चलाउन नसक्ने र अब मुद्दाले पार्टीलाई अगाडि बढाउने तिवारी ठान्छन्।

तिवारी भन्छन्, "अर्को महाधिवेशनमा २०४६ सालपछि राष्ट्रिय राजनीतिमा उदाएका र २०६२/६३ को आन्दोलनले स्थापित गरेका नेताहरूको पुस्ता हाबी हुने अहिलेको महाधिवेशनले प्रस्ट देखाएको छ।"