नेपाली कांग्रेस महाधिवेशन: प्राध्यापक राजेश गौतमले कांग्रेसमा देखेका पाँच नराम्रा परिवर्तन र जित्ने नेतालाई तीन सुझाव

साढे सात दशक लामो यात्रामा नेपाली कांग्रेस झन्डै आधा समय सत्ता वा प्रतिपक्षका रूपमा नेपाली सत्ताको केन्द्रवरिपरि रहेको देखिएको छ।

विसं २००७ अघि राणाशासनका बेला र २०१७ सालदेखि २०४६ सालसम्मको पञ्चायती व्यवस्थामा मात्र कांग्रेस सत्ताको केन्द्रबाट टाढा बस्यो।

नेपालका सबैजसो राजनीतिक परिवर्तनको केन्द्रमा रहेको उक्त दल पछिल्ला वर्षहरूमा आफ्नै आन्तरिक किचलो र गुटबन्दीको सिकार भएको ठान्नेहरू धेरै छन्।

तिनैमध्येका एक हुन्- नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेसको शृङ्खलाबद्ध इतिहास लेखेका प्राध्यापक राजेश गौतम।

उनले हालसम्म 'नेपालको प्रजातान्त्रिक इतिहासमा नेपाली कांग्रेस' पुस्तकका नौ भाग प्रकाशित गराइसकेका छन्।

गौतमका बुझाइमा कांग्रेस अहिले आन्तरिक किचलोबाट मात्र गुज्रिरहेको छैन, "विचारविहीन, सैद्धान्तिक रूपमा विचलित र पार्टीको आदर्श तथा मूल्यमान्यताबाट टाढिएको" जस्तो पनि देखिन पुगेको छ।

गौतमले नेपाली कांग्रेसमा देखिएका केही नराम्रा परिवर्तन र सुधारका लागि नयाँ नेतृत्वले के गर्नुपर्छ भन्ने विषयामा बीबीसी न्यूज नेपालीसँग कुरा गरेका छन्।

के हो नेपाली कांग्रेसको पृष्ठभूमि

नेपाली कांग्रेसलाई हामीले स्थापनाकाल (विसं २००३) देखि अहिलेसम्मको अवस्थामा आइपुग्दाको कुरा बुझ्नका लागि विभिन्न चरणमा विभाजन गरेर हेर्नुपर्ने हुन्छ।

स्थापनाकालदेखि २००७ सालसम्मको खण्डमा कांग्रेसले र भनौँ देशले नै पाएको उपलब्धि भनेको देशमा राणाशासन अन्त्य गरेर प्रजातन्त्र ल्याउनु हो।

विसं २००७ देखि २०१७ सालसम्मको अवधि भनेको नेपाली कांग्रेसले सत्तामा आएर फेरि सत्ता र प्रजातन्त्र दुवै गुमाएको अवधि हो।

विसं २०१७ देखि २०४६ सालसम्मको अवधि भनेको फेरि प्रजातन्त्र पुनर्स्थापनका लागि सङ्घर्ष गरेको अवधि हो।

अनि २०४६ सालदेखि हालसम्मको अवधि भनेको देशमा प्रजातन्त्रमा टेकेर गरिएका परिवर्तनका उपलब्धिहरू मात्र हुन्।

खासगरी यी सबै कार्यरूमा नेपाली कांग्रेसको भूमिका महत्त्वपूर्ण रहेको छ।

त्यो भूमिकासँगै नेपाली कांग्रेसमा विभिन्नखाले परिवर्तनहरू पनि देखा परेका छन्।

कतिपय सकारात्मक परिवर्तन होलान्, तर हिजोको कांग्रेस र आजको कांग्रेस तुलना गर्दा कतिपय खराब परिवर्तन देखिएको पाइन्छ।

नेपाली कांग्रेसमा देखिएका पाँच नराम्रा परिवर्तन

) व्यक्तिगत तह र स्वार्थकेन्द्रित गुट र उपगुट

नेपाली कांग्रेसमा स्थापनाकालदेखि नै गुटहरू नदेखिएका होइनन्। सुरुमै उक्त पार्टीमा गुटबन्दी थियो।

स्थापनाकालमा नेपाली कांग्रेसको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो।

त्यसको अध्यक्ष टङ्कप्रसाद आचार्य जेलमा थिए र बीपी कोइरालाले कार्यवाहक जिम्मेवारी पाएका थिए।

पछि बीपी पनि जेलमा परेपछि डिल्लीरमण रेग्मीले कार्यवाहक पाए अनि बीपी जेलबाट छुटेपछि पनि उनले प्रमुखको पद छाड्न मानेनन्।

महाधिवेशन गर्नुपर्छ भन्ने रेग्मीको अडानपछि पार्टी भिन्न भयो। रेग्मीले आफ्नो जीवनकालभरि नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्षका रूपमा आफूलाई कायम राखे।

पछि बीपीको कांग्रेस र सुवर्ण शमशेरको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेस बनेको हो।

त्यसपछि पनि बीपी, सुवर्ण र मातृकाप्रसाद कोइरालालगायतका आआफ्ना समूह देखियो।

तर ती समूहबीच दृष्टिकोण र विचारमा बहस थियो, व्यक्तिवादी ढङ्गको गुट थिएन।

कति विषयमा बहस हुन्थ्यो, तर एक अर्कालाई निषेध गर्ने खालको प्रवृत्ति थिएन। २०१७ सालपछि पनि कांग्रेसमा दुई धार देखिएको थियो।

सुवर्ण शमशेरले विदेशमा बसेर सशस्त्र आन्दोलन सुरु गरे। बीपी जेलमा थिए।

गिरिजाप्रसाद र सरोज कोइरालाले उक्त सशस्त्र आन्दोलनको विरोध गरे।

त्यो पनि वैचारिक विवादका रूपमा देखा परेको थियो। तर नेताहरू बीच व्यक्तिगत इवी देखिएन।

एकले गरेको काम अर्कोबाट लुक्दैन पनि थियो। नियमित पत्राचार र कुराकानी हुन्थ्यो। छलफल हुने गर्थ्यो।

बीपीले मेलमिलापको नीति लिएपछि र उनको देहान्तपछि पनि कांग्रेसमा त्यस्ता बहस जारी रहे। २०४६ सालसम्म पनि वैचारिक बहसमा गुटहरू देखिएका थिए। तर कांग्रेस एक हो भन्ने नै थियो।

तर २०४६ सालको परिवर्तनपछि पहिलो आमनिर्वाचनमा गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई चुनाव नै हराउन भूमिका खेलेपछि गुटहरूको रूप भिन्न हुन थाल्यो।

पहिले वैचारिक बहसका कारण समूह देखा परेको थियो। तर बिस्तारै त्यसले व्यक्तिगत रूप लिन थाल्यो।

अहिलेका गुटहरू विचारको बहस गर्नका लागि बनेका छैनन्, एकअर्काको खुट्टा तानातानका लागि बनेका छन्।

संसद्‌मा आफ्नै पार्टीको प्रधानमन्त्री ढाल्नेदेखि पार्टी फुटाउनेसम्मका गतिविधि भए।

अहिले त झन् नेताहरूले आफ्नो नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्न र अर्काको खुट्टा तान्नका निम्ति मात्र गुट बनाउने गरेको देखिन्छ।

अनि तिनै गुटको बलमा पार्टीभित्र हिस्सेदारी खोज्ने चलन सुरु भएको छ। यो कांग्रेसमा देखिएको एउटा एकदमै खराब परिवर्तन हो जस्तो लाग्छ।

२. सैद्धान्तिक विचलन

कांग्रेसमा देखिएको अर्को खराब प्रवृत्ति भनेको नेतादेखि कार्यकर्तासम्म देखिएको सैद्धान्तिक विचलन हो। हुन त त्यस्तो विचलन २०१७ सालमा पनि देखिएको हो।

त्यस बेला कतिपय कांग्रेसका नेताहरूले प्रजातन्त्रको सैद्धान्तिक मान्यतालाई छाडेर पञ्चायतलाई समर्थन गरेका थिए।

त्यसबापत उनीहरूले लाभ पनि लिए। त्यस बेला पनि नेताहरूको लोभले उनीहरूमा सैद्धान्तिक विचलन देखिएको थियो।

अहिले आएर त नेता र कार्यकर्तामा अझ धेरै लोभ बढेको छ। त्यसले गर्दा सैद्धान्तिक विचलन तीव्र देखिन्छ।

आफ्नो पार्टीको सिद्धान्त के हो भन्ने नै थाहा नभएकाहरू दलको राजनीतिमा छन्।

उनीहरूमा शक्ति र सम्पत्ति हासिल गर्ने लोभबाहेक अन्य कुराको कुनै मतलब पनि छैन।

कुनै पनि दल सैद्धान्तिक रूपमा विचलित भएपछि त्यसले जनअपेक्षाभन्दा पनि नेताको स्वार्थपूर्तिको काम मात्र गर्न सक्छ।

कांग्रेस गणतन्त्रमा जाँदा पनि आफ्नै ब्रह्मले भन्दा तत्कालीन परिस्थितिका कारण गएको थियो।

यस्तो अवस्थामा कांग्रेस अहिले सैद्धान्तिक रूपमा पनि दिशाहीन बनेको जस्तो देखिन थालेको छ।

३. चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिमा वृद्धि

कांग्रेसभित्र चाकडी र चाप्लुसी गर्ने प्रवृत्तिमा अहिले व्यापक वृद्धि भएको देखिन्छ।

त्यसले पुराना पुस्ताभन्दा नयाँ पुस्तालाई गाँजेको जस्तो देखिएको छ।

कांग्रेसमा अहिले दुईखाले युवाहरू प्रवेश गरिरहेका छन्। एकखाले कांग्रेसको नीति, विचार र सिद्धान्त बुझेर र अर्कोथरी विशुद्ध स्वार्थपूर्तिका लागि।

नयाँ पुस्तामा धेरै आफ्नो स्वार्थका लागि पार्टीमा लाग्ने चलन बढ्यो।

त्यसले गर्दा नीतिलाई होइन, नेतालाई छान्ने र उसैलाई खुसी पार्ने चलन देखियो।

उनीहरूको उद्देश्य धनसम्पत्ति कमाउने मात्र देखियो। नेताहरूले पनि ठेक्कापट्टा गरेर पैसा कमाएर दिनेलाई च्याप्न थाले।

नेतालाई पैसा दिएर खुसी पार्ने प्रवृत्ति बढ्यो। हुन त नेताहरूले यसलाई अस्वीकार गर्छन्।

तर विभिन्न तथ्य र प्रवृत्तिलाई यो खाले चलनलाई पुष्टि गरिरहेको छ। आर्थिक चलखेलका कुराहरू निकै नै आइरहेका पनि छन्।

४. पार्टी आदर्श र विचारबाट च्युत

कांग्रेस पार्टीले जुन आदर्श र विचारलाई बोकेर हिँड्थ्यो, नेताहरू अहिले त्यसबाट च्युत हुँदै गएको देखिन्छ।

यस्तै अवस्था रहेमा यो पार्टीको हालत पनि बिस्तारै इतिहासमा विलीन भएका पार्टीको तहमा नपुग्ला भन्न सकिन्न।

न अहिलेका नेताहरूलाई प्रजातान्त्रिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट छ, न समाजवाद कस्तो खालको हो भन्ने नै थाहा छ।

देशमा सपना बाँडेर मात्र हुँदैन, त्यसलाई कसरी मूर्तरूप दिने भन्ने अवधारणा पनि हुनुपर्छ। त्यो अहिलेका नेताहरूमा छैन।

आफ्नो आदर्शबाट कतिसम्म नेताहरू पर पुगिसके भने पार्टीको सभापतिले कुनै जिल्लामा पुगेर अर्को पार्टीको नेतालाई भोट हाल्नु भनेर भोट समेत माग्न थाले।

त्यो भनेको पार्टीको आदर्श, मूल्य र मान्यताभन्दा परको कुरा हो।

५. कमजोर अन्तर्राष्ट्रिय सम्बन्ध

पहिलेको कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो थियो। त्यो प्रतिबन्धित बेलामा समेत राम्रो थियो।

बीपीको उचाइ पनि त्यस्तै खालको थियो। उनी पत्राचार पनि गरिरहन्थे।

राजदूतहरूसँग डराउने खालको सम्बन्ध पनि थिएन नेताहरूको।

त्यसको केही मात्रा गिरिजाप्रसाद र कृष्णप्रसाद जीवित रहँदासम्म थियो।

अहिले त नेताहरू राजदूतसँग डराउने मात्र होइन, उम्मेदवार बन्ने बेलामा छिमेकी मुलुकमा आशीर्वाद लिन जान पनि थालिसके।

त्यसले पार्टीका नेताको हैसियत कहाँ पुर्‍याउँछ?

यो नेपाली कांग्रेसमा देखिएको अर्को खराब प्रवृत्ति हो।

अबको नेतृत्वलाई तीन सुझाव

१. गुटको अन्त्य

नेपाली कांग्रेसलाई पछिसम्म बलियो दलका रूपमा लाने हो भने अब आउने नेतृत्वले गुटको अन्त्य गर्नैपर्छ।

पार्टी फुटाएर पुन: एकीकरण हुँदा गिरिजाप्रसाद र शेरबहादुरले ६० र ४० प्रतिशत हिस्सा बाँडफाँट गरे।

त्यसपछि अहिलेसम्म पार्टीभित्रका विभिन्न नेताहरूले आफ्नो गुट बनाउने र चुनावमा मेरो पक्षले यति प्रतिशत मत ल्याएको छ भनेर त्यसैका आधारमा हिस्सा माग्ने चलन चलेको छ।

अहिले पनि विभिन्न गुटहरू देखिएका छन् अब चुनाव हार्नेले पनि मेरो यति प्रतिशत मत आयो यति हिस्सा देऊ भन्ने अवस्था छ।

यसरी गुटैगुट भएपछि नेताहरूले जनजीविकाका सवाल र देशका लागि भन्दा आफ्नै स्वार्थका लागि मात्र काम गर्छन्।

त्यसैले अबको नेतृत्वले गर्नुपर्ने पहिलो काम भनेको गुटको अन्त्य नै हो।

२. विचार र सिद्धान्तमा अघि बढ्नु

अबको नेतृत्वले व्यक्तिवादी सोच अन्त्य गरेर विचार र सिद्धान्तमा अघि बढ्नुपर्छ।

पार्टीमा विचारधारा गौण भएकाले व्यक्तिवादी सोच बढेको छ।

त्यसलाई अन्त्य गर्त पार्टीभित्रकै विचारलाई एक बनाउने र पार्टीको विचारलाई पनि समयअनुसार बनाउनुपर्छ।

कतिपय कुराहरू परिष्कृत गर्नुपर्ने पनि हुन्छन्। त्यसमा अबको नेतृत्वले ध्यान दिएन पार्टी अघि बढ्ला जस्तो लाग्दैन।

३. अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार

कुनै पनि दलले आन्तरिक अवस्थालाई नै धेरै हेर्ने हो तर विश्व परिस्थिति पनि बुझ्न जरुरी छ।

त्यसका लागि पार्टीका नेताहरूमा अध्ययन पनि हुनु आवश्यक हुन्छ।

अहिलेको बदलिँदो परिस्थितिमा कुनै पनि देशको विकास देखेर त्यहाँको नीतिलाई अन्धानुकरण गर्न पनि हुँदैन।

नेपालको भूगोल र समाज सुहाउँदो कुराहरू अवलम्बन गर्नु आवश्यक छ।

त्यस्तै विदेशका उस्तै विचार राख्ने दलसँग सम्बन्ध विस्तार गर्नुपर्छ।

अन्तर्राष्ट्रिय सम्बन्धमा कमजोर बनेका देखिन्छन् नेपालका दलहरू।

अब विश्वभरि परिस्थिति बदलिएकाले त्यसलाई सम्बोधन गर्न पनि दलहरू सक्षम हुनुपर्छ जस्तो लाग्छ।

(विष्णु पोखरेलसँग गरेको कुराकानीमा आधारित)