नेपाली कांग्रेस महाधिवेशन: 'परीक्षण भइसकेका नेतृत्व र तिनका अस्पष्ट विचारले अन्योलग्रस्त पार्टी'

    • Author, हरि शर्मा
    • Role, राजनीतिशास्त्री

झन्डै सात दशकअघि नेपाली कांग्रेस पार्टीको जन्म भएपछि त्यसले नेपालको लोकतान्त्रिक आन्दोलनमा विभिन्न वैचारिक फड्कोहरू मारेको छ।

राजाको वैधानिक नायकत्वमा भनेर २००७ सालको क्रान्तिको बिगुल फुकेको पार्टी २०६२/६३ को जनआन्दोलनपछि गणतन्त्रमा प्रवेश गर्‍यो।

राष्ट्रिय मेलमिलापलाई अनुमोदन गर्नेदेखि राष्ट्रिय राजनीतिको मूलधारमा प्रजातान्त्रिक समाजवादलाई स्थापित गर्नेसम्मका विषयमा हरेकजसो महाधिवेशनले विचारलाई सम्प्रेषण गर्दै त्यसलाई नेपाली जनताका बीचमा लगेर अनुमोदन गराएको छ।

नेतृत्वले लिने नीतिगत मतभिन्नताहरूकै बीचमा अधिवेशन भएका समेत छन्।

पार्टीका अधिवेशनहरूले नेतृत्वको चयन मात्र गर्दैन, विचारका सन्दर्भमा पार्टीको दिशानिर्देश समेत गर्दछ। कुनै नीतिका बीचमा दुई जनाबीचमा मतभिन्नता भएमा प्रतिस्पर्धा हुन्छ।

मेरो दृष्टिमा नेपाली कांग्रेस इतिहासमा सबैभन्दा धेरै विविधतापूर्ण र बहुलता बोकेको पार्टी हो।

यसभित्रै समेत मत-मतान्तरहरू छन् र योग्य नेतृत्वले ती विचारलाई अगाडि बढाएर हिँडेका छन्। तर पनि नेतृत्वको विचार स्पष्टता महत्त्वपूर्ण विषय हो।

परीक्षण भइसकेका आकाङ्क्षी

अहिलेको सन्दर्भमा नेतृत्वको सभापतिको आकाङ्क्षीका रूपमा देखिएका नेताहरूमा एक जनाको मात्र परीक्षण भएको छैन। अरू कुनै न कुनै रूपमा मन्त्री-सांसद र पार्टी पदाधिकारी भइसकेका नेताहरू छन्।

यतिखेर गणतान्त्रिक संविधान लागु भइसकेपछि तीन तहका चुनाव भइसक्दा विभिन्न जटिलताहरू देखा परेका छन् र न्यायपालिकामा विचलन देखा परेको छ। नेपाली कांग्रेस यी सम्पूर्ण मुद्दाहरूमा कस्तो विचार राख्दछ भन्ने कहीँ पनि देखिएको छैन।

पार्टीका गुट-उपगुटका कुराहरू सुनिए तापनि एउटा पार्टी राज्य सञ्चालनमा सहयोगी हुनका लागि जसरी उपस्थित हुनुपर्थ्यो त्यो देखिँदैन।

नेपालको संविधानले निर्वाचनमार्फत दलहरूलाई नै राज्य सञ्चालनको प्रमुख भूमिकामा राखेको छ। तर त्यस ठाउँमा पुग्न वैचारिक सुझबुझ र ऐक्यबद्धता आवश्यक पर्नेमा विचारले बाँध्नुपर्नेमा लेनदेनले बाँध्न खोजिएको छ।

ठूलो पार्टीको आन्तरिक राजनीतिमा आकाङ्क्षीहरूलाई मिलाउने काम कठिन हुनु अस्वाभाविक होइन। तर संविधान कार्यान्वयनदेखि मुलुकमा उठिरहेका विभिन्न प्रश्नहरूका सन्दर्भदेखि विश्वव्यापी शक्ति सन्तुलनमा आएका परिवर्तन, वातावरण, आप्रवासन र अर्थ लगायतका विषयमा प्रत्याशीहरूले बोक्ने विचार स्पष्ट नहुनु अनौठो छ।

विचारहीन नेतृत्वले पार्टी कसरी हाँक्ला भन्ने अन्यौलता देखिन्छ।

लोकतन्त्र जोखिममा पर्ने त्रास

दलीय प्रतिस्पर्धाबिनाको लोकतन्त्र हामीले परिकल्पना गरेका छैनौँ। अहिले दल र तिनका नेतृत्वमा समस्या देखिएको छ। नयाँ विचारलाई ग्रहण गर्न नसक्ने र साँघुरो घेराले राज्यको स्रोतसाधन कब्जा गरेर दललाई नै कब्जा गरिरहेको अनुभूति भइरहेको छ।

त्यसले लोकतन्त्रलाई नै जोखिममा पार्छ।

कांग्रेसको आन्तरिक लोकतन्त्रका सन्दर्भमा वर्तमान सभापति शेरबहादुर देउवाले पार्टीका विभाग गठन, भातृ सङ्गठनका निर्वाचन, केन्द्रीय कमिटीका कामकारबाहीमा विगत पाँच वर्षमा गरेका कामले धेरै कुरा बोल्छ। विडम्बना के छ भने पार्टी सभापतिले केही नगरीकन केही गर्ने भनेर अगाडि बढिरहनुभएको छ।

नेपालमा नयाँ पुराना सबैजसो दलमा धेरै वर्षसम्म एकैखाले व्यक्तिहरू नेतृत्वमा छन्।

कांग्रेसमा अहिलेको परिस्थितिमा झट्ट हेर्दा नयाँ मानिस र विचार प्रवेश गरेर त्यसलाई परख गर्दै अगाडि जान सक्ने परिस्थिति चाहिँ देखिँदैन। तर यस महाधिवेशनमा नेतृत्वमा केही परिवर्तन हुन सक्यो भने त्यस बाटो खुल्न सक्ने अपेक्षा गर्न सकिन्छ।

(यी लेखकका निजी विचार हुन्।विष्णु पोखरेलसँगको कुराकानीमा आधारित। )