तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाली कांग्रेस महाधिवेशन: पहिलो चरणमै सभापति निर्वाचित हुन नसके कसलाई होला फाइदा
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
नेपाली कांग्रेसको काठमाण्डूमा जारी महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व छान्न सोमवार भएको मतदानबाट पहिलो चरणमै सभापति चयन हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन।
कांग्रेसको शीर्ष नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ।
पहिलो चरणबाटै सभापति छानिन नसके दोस्रो चरणमा हुने मतदानमा शीर्ष दुई स्थानमा हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा बाँकी तीन नेतालाई समर्थन गर्ने मतदाताहरू निर्णायक हुने बुझाइ धेरैको छ।
यद्यपि ती मतदाताको रोजाइमा को पर्छ भन्नेमा कांग्रेस नेता र जानकारहरूबीच भिन्नभिन्न धारणा छ।
किन दोस्रो चरणको मतदान?
कांग्रेसको विधानअनुसार पहिलो चरणबाटै सभापतिको परिणाम आउन सभापतिका उम्मेदवारमध्ये कुनै एक जनाले ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ।
तर धेरै उम्मेदवारबीच मत बाँडिदा पहिलो चरणबाटै सभापति छानिने सम्भावना कम रहेको कांग्रेसको आन्तरिक राजनीतिबारे जानकार केही नेता र विश्लेषकले बीबीसी न्यूज नेपालीलाई बताएका छन्।
पहिलो चरणमा कुनै एक उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसके सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुने व्यवस्था कांग्रेसको विधानमा छ।
महाधिवेशन प्रतिनिधिहरू काठमाण्डूबाट फर्कनुअघि नै सभापति चयनको टुङ्गो लगाइसक्न महाधिवेशनका लागि गठित निर्वाचन समितिले सोमवार मतदान सकिनासाथ सभापति पदको मतगणना सुरु गरिहाल्ने तयारी गरेको छ।
निर्वाचन समितिका अनुसार दोस्रो चरणको मतदान आवश्यक परे मङ्गलवार सम्पन्न गर्ने तयारी गरिएको छ।
सभापति पदबाहेकका उम्मेदवारले भने ५० प्रतिशत बढी ल्याउनुपर्ने बाध्यता छैन।
बाँकी १३३ पदमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।
यसअघि के भएको थियो?
विसं २०७२ साल फागुनमा भएको अघिल्लो महाधिवेशनमा पहिलो चरणबाट कुनै पनि उम्मेदवारले ५० प्रतिशत बढी नल्याएपछि दोस्रो चरणबाट सभापति चयन भएको थियो।
पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुँदा तेस्रो भएका कृष्णप्रसाद सिटौलाको समूह निर्णायक बन्यो।
दोस्रो चरणमा सिटौला पक्षको समर्थन देउवाले प्राप्त गरे र सभापतिमा निर्वाचित भए।
तेह्रौँ महाधिवेशनको दोस्रो चरणमा देउवाले १,८२२ मत प्राप्त गर्दा तात्कालिक कार्यवाहक सभापति पौडेलले १,२९६ मत ल्याएका थिए।
अहिलेको परिस्थिति के छ?
अघिल्लो महाधिवेशनमा दोस्रो चरणमा मात्रै देउवालाई साथ दिएका सिटौलाले यो महाधिवेशनमा देउवाले उम्मेदवारी घोषणा गर्दादेखि नै उनीसँगै उभिएका छन्।
तर अघिल्लो महाधिवेशनमा सिटौलाको पक्षमा रहेको समूह अहिले फरकफरक प्यानलमा बाँडिएको छ। अघिल्लो महाधिवेशनमा उनको समूहबाट महामन्त्री पदका उम्मेदवार गगन थापा अहिले शेखर कोइरालाको समूहबाट सोही पदका लागि उम्मेदवार छन्।
देउवाले पनि पाँच वर्ष नौ महिनापछि हुन लागेको चौधौँ महाधिवेशनमा अघिल्लो महाधिवेशनमा उनलाई सहयोग गरेका केही नेताको साथ गुमाएका छन्।
सिटौलाको समूहजस्तै देउवा समूह पनि फरकफरक प्यानलमा विभक्त भएको छ। पार्टी विभाजनमा समेत देउवालाई साथ दिएका विमलेन्द्र निधि अहिले देउवाका प्रतिस्पर्धी बनेका छन्।
अघिल्लो महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीका उम्मेदवार बनेका अर्जुन नरसिंह केसी अहिले अहिले शेखर कोइरालाको समूहमा खुलेका छन्। देउवा नेतृत्वको समूहबाट हालै मात्र अलग भएका नेता विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको समूहबाट महामन्त्रीका उम्मेदवार बनेका छन्।
अर्कोतर्फ अघिल्लो पटक रामचन्द्र पौडेललाई समर्थन गरेको समूह पनि यो पटक धेरै समूहमा बाँडिएको छ। अघिल्लो पटक पौडेललाई साथ दिएका अर्का नेता प्रकाशमान सिंह यो समूहबाट अलग भएर पदाधिकारीमा केही उम्मेदवारसहित आफैँ सभापतिको प्रतिस्पर्धामा छन्।
पौडेल समूहका धेरै नेताहरूको समर्थनमा शेखर कोइराला सभापतिका उम्मेदवार बने पनि कोइराला परिवारकै सुजाता कोइरालाले सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिएकी छन्। पौडेल कुनै पनि पक्षको चुनावी कार्यक्रममा देखिएका छैनन्।
कोइराला परिवारबाटै महामन्त्रीमा निर्वाचित भएका शशाङ्क कोइराला कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन्। उनले आफू एकताको पक्षमा भएको बताएका छन्।
तर उनलाई देउवा र शेखर कोइराला दुवैले आफ्नो समूहबाट केन्द्रीय सदस्य पदको उम्मेदवारमा राखेका छन्।
कांग्रेसका भूतपूर्व प्रमुख सचेतक तथा नेता लक्ष्मण घिमिरेले विगतको गुट भत्किनु सकारात्मक भएको बताए।
"तर यसको नराम्रो पक्ष के हो भने कुनै पनि गुटमा युवा पुस्ता वा पुराना पुस्ताका नेताहरू नीतिगत आधारमा नेताहरू लागिरहेका रहेनछन् भन्ने कुरा यसपालि प्रष्ट भयो," उनले भने।
पहिलो चरणबाट नतिजा आउला त?
देउवालाई अघिल्लो महाधिवेशनमा साथ दिएका सबै नेताहरू अहिले फरक समूहमा पुग्दा पहिलो चरणमै उनले नतिजा ल्याउन कठिन रहेको नेता घिमिरेको दाबी छ। तर देउवाका प्रतिस्पर्धी उम्मेदवारहरूले पनि पहिलो चरणमै ५० प्रतिशत बढी मत ल्याउन नसक्ने उनले विश्लेषण गरेका छन्।
"हिजोको गुट उपगुट आज भत्किएर कहाँको कहाँ पुगिसकेको अवस्था छ," घिमिरेले भने। "पहिलो चरणमा नतिजा आउन असम्भव छ। मेरो सम्पर्कमा रहेका धेरै नेताहरूसँग कुरा गर्दा मैले पहिलो चरणमा कुनै पनि सभापतिका उम्मेदवारले ५० प्रतिशत कटाउने देखेको छैन।"
पूर्वसभामुख समेत रहेका पुराना कांग्रेस नेता तारानाथ रानाभाटले पनि पहिलो चरणबाट नतिजा आउनेमा धेरै महाधिवेशन प्रतिनिधिले आशङ्का गरेको बताए।
"साथीभाइहरूसँगको भेट, कुराकानी र सम्बन्धबाट चुहिएका सूचना सबै हेर्दा पहिलो चरणमै हारजितको फैसला होला जस्तो देखिँदैन। किनभने खसेको मतको ५० प्रतिशतमाथि आउनुपर्ने अप्ठ्यारो नियम छ नि," रानाभाटले भने।
तर नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अमरराज कैनी पहिलो चरणबाटै फैसला हुने अनुमान गर्छन्।
पहिलो चरणबाटै देउवा सभापतिमा निर्वाचित हुन सक्ने उनको दाबी छ।
"पचास प्रतिशतभन्दा केही बढी भोट शेरबहादुरजीको पक्षमा जान्छ भन्ने मेरो बुझाइ र विश्लेषण छ," उनले भने।
विपक्षमा भएका नेताहरू फरकफरक समूहमा बाँडिँदाको फाइदा देउवाले उठाउन सक्ने कैनीको तर्क छ।
दोस्रो चरणमा निर्णायक समूहको साथ कसलाई?
सभापतिका एक उम्मेदवार विमलेन्द्र निधिले आइतवार पहिलो चरणमा नतिजा नआए दोस्रो चरणमा सबै समूह मिलेर देउवाको विपक्षमा मोर्चाबन्दी गर्ने बताएका छन्।
निधिले आफूहरू नेतृत्व परिवर्तनको पक्षमा रहेको भन्दै दोस्रो चरणमा देउवाबाहेकको समूह एक हुने सङ्केत गरे।
तर सभापतिका उम्मेदवारहरूबीच दोस्रो चरणमा एक ठाउँमा उभिनेबारे छलफल नभएको कोइराला र सिंह निकटस्थ नेताहरूले बताएका छन्।
कोइराला समूहका नेता अर्जुन नरसिंह केसीले दोस्रो चरणमा नेतृत्व परिवर्तनको पक्षमा रहेका नेताहरूबीच सहकार्य हुने सम्भावना रहेको दाबी गरे।
एकअर्कालाई सभापतिमा समर्थन गर्न अस्वीकार गरेर फरकफरक समूह बनाएर उम्मेदवारी दिएका नेताहरूबीच सहकार्य हुन सक्ने सम्भावना कमजोर रहेको कतिपयको विश्लेषण छ।
सभापतिका अर्का उम्मेदवार सिंहका सहयोगी युपी लामिछानेले आफूहरू पहिलो चरणबाटै जित हासिल गर्ने अपेक्षामा रहेको र दोस्रो चरणमा हुन सक्ने समीकरणबारे कुनै छलफल नभएको बताए।
पहिलो चरणबाट नतिजा आफ्नो पक्षमा ल्याउन नसके दोस्रो चरणमा देउवालाई पनि कठिन हुन सक्ने नेता कैनी बताउँछन्।
"दोस्रो चरणमा भयो भने त्यो खतरा हुन्छ किनभने सबै एकजुट हुन सक्छन्," कैनीले भने।
सभापतिबाहेकका पदाधिकारीमा भने फरकफरक समूहबाट उम्मेदवार आउन सक्ने रानाभाट र कैनीको विश्लेषण छ।
पुराना र नयाँको मिश्रित प्रतिनिधित्व चाहने मतदाताले एउटै समूहमा मात्र मतदान गर्ने सम्भावना आफूले कम देखेको रानाभाटले बताए।
यो पनि हेर्नुहोस्