नेपाल जनगणनाः जनसङ्ख्या अनुमान गरिएकोभन्दा ‘कम हुनसक्ने’ कारण यस्ता छन्

गत भदौ महिनामा काठमाण्डूमा जनगणनाका लागि घरधुरी सङ्कलनको काम गर्दै एक गणक

तस्बिर स्रोत, Getty Images

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

नेपालको जनसङ्ख्या यसअघि अनुमान गरिएकोभन्दा 'कम हुनसक्ने' केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ।

यही मंसिरमा सकिएको नयाँ जनगणनाअनुसार अहिलेको जनसङ्ख्या "तीन करोड नपुग्न सक्ने" देखिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बीबीसीलाई बताएका छन्।

"दुई करोड ९० लाखदेखि तीन करोडको बीचमा हाम्रो जनसङ्ख्या हुने अनुमान छ," उनले भने।

सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधारमा त्यस्तो अनुमान गरिएको निर्देशक लामिछानेले बताए।

उनका अनुसार यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्कमा टेकेर १० वर्षमा अर्थात्‌ २०७८ सालसम्ममा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो।

राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने विभागले जनाएको छ।

"जनगणनाको प्रारम्भिक नतिजा चाहिँ फागुनसम्ममा हामी सार्वजनिक गर्छौँ," निर्देशक लामिछानेले भने।

कार्तिक २५ गतेबाट आरम्भ भएको राष्ट्रिय जनगणना मंसिर ९ गते सकिएको थियो।

नेपाल

तस्बिर स्रोत, CBS

अनुमानभन्दा किन कम?

प्रजनन दरमा कमी आउनु अनुमानभन्दा जनसङ्ख्या कम देखिनुको मुख्य कारकका रूपमा देखिएको विभागका अधिकारीहरूले बताएका छन्।

सन् २०१९ मा गरिएको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्भेले नेपालमा प्रजनन दर घटेर २ मा पुगेको देखाएको छ। यसअघि नेपालको प्रजनन दर २.३ थियो।

दुई भनेको 'रिप्लेस्मन्ट लेभल फर्टिलिटी'भन्दा पनि कम हो। रिप्लेस्मन्ट लेभल फर्टिलिटी २.१ हुन्छ।

रिप्लेस्मन्ट लेभल फर्टिलिटी प्रतिमहिलाले बच्चा जन्माउने औसत दर हो।

सोही अध्ययनले बागमती प्रदेशमा रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ रहेको देखाएको छ।

"हामीले यति घट्ने अनुमान २०६८ सालमा गरेका थिएनौँ। प्रजनन दर, आन्तरिक बसाइँसराइ दर यति घट्छ भन्ने थिएन," निर्देशक लामिछानेले भने।

"प्रजनन दर, औसत आयु लगायतका सूचकमा सुधार भएपछि अहिलेको जनसङ्ख्या तीन करोड पुग्दैन कि भन्ने अनुमान गर्न सकिन्छ।"

केन्द्रीय तथ्याङ्क विभाग

प्रजनन दर किन घट्दो?

ठूलो सङ्ख्यामा खासगरी नेपाली युवाहरू विदेशिने क्रम बढेसँगै प्रजनन दर पनि घटेको लामिछाने बताउँछन्।

"सहरीकरण बढेको छ, चेतनाको स्तर बढेको छ। धेरै सन्तान जन्माउँदा गुणस्तरीय शिक्षा, [गुणस्तरीय] जीवन दिन नसकिएला भनेर कम जन्माएका हुन सक्छन्।"

जनसङ्ख्याविद्‌ प्राध्यापक डा. योगेन्द्र गुरुङ पनि युवाहरू वैदेशिक रोजगारीमा जानु नेपालमा प्रजनन दर घट्नुको एउटा प्रमुख कारण भएको बताउँछन्।

"प्रजनन गर्न सक्ने उमेरका युवा दम्पतीहरू एकअर्कादेखि टाढा बस्ने समय धेरै भयो त्यो भएर पनि प्रजनन दर घटिरहेको हो," बीबीसीसँग उनले भने।

जनगणना

तस्बिर स्रोत, Ashok Dahal / BBC

घट्नु चिन्ताको विषय हो?

खासगरी रिप्लेस्मन्ट लेभल फर्टिलिटी १.४ देखिनुले सहरी क्षेत्रमा विशेष योजना ल्याउनुपर्छ कि भन्ने सङ्केत गरिसकेको विभागका निर्देशक ढुण्डीराज लामिछाने बताउँछन्।

"प्रजनन दर यसरी घट्ने क्रम जारी रह्यो भने सहर-बजारमा युवा जनशक्ति नपाउने अवस्था आउन सक्छ," सम्भावित परिदृश्यबारे उनले भने।

चीन, सिङ्गापुरलगायत कतिपय देशले त्यस्तै अवस्था आएर बच्चा जन्माउनका लागि युवा दम्पतीहरूलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको उनले उल्लेख गरे।

जनगणना

तर प्राध्यापक गुरुङ प्रजनन दरलाई लिएर अहिले नै चिन्ता गर्नुपर्ने अवस्था आइनसकेको तर्क गर्छन्।

"कतिपय विकसित देशहरूमा जस्तो बच्चा नै पाउन दम्पतीहरू अनिच्छुक देखिएको अवस्था हामीकहाँ आइसकेको छैन। प्रजनन दर घट्ने क्रम एउटा बिन्दुमा पुगेर रोकिनेछ," उनले थपे।

नेपालमा एकतिहाइजसो जनसङ्ख्या अझै पनि बालबालिकाको रहेको जनाउँदै प्राध्यापक गुरुङले प्रजनन गर्न सक्ने उमेरका मानिसको सङ्ख्या अझै उल्लेख्य रहेको बताए।