तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एमाले महाधिवेशन: केपी शर्मा ओली सर्वसम्मतिको प्रयासमा, भीम रावल प्रचार प्रसारमा
- Author, ईश्वर जोशी
- Role, चितवन
चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतिको प्रयास जारी रहँदा निर्वाचन प्रक्रिया अनिश्चित भएको छ।
आइतवार बिहानदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइने भनिएको भए पनि अपराह्णसम्म निर्वाचन प्रक्रिया बढ्न सकेको छैन।
सहमति गराएर नामावली प्रकाशन गर्ने कसरतमा अध्यक्ष ओली र वरिष्ठ नेताहरू लागिपरेका छन् ।
बन्द सत्रबाट सर्वसम्मति गराउने अधिकार पाएका ओलीले पदाधिकारीका आकाङ्क्षी र विभिन्न समूहका नेताहरूसँग छलफल तीव्र बनाए पनि सहमति जुट्न सकेको छैन।
नेताहरू सहमति गर्ने प्रयासमा जुटेका कारण निर्वाचन प्रक्रिया ढिलो भएको दशौँ महाधिवेशन आयोजक समितिकी पार्वती रावलले बताइन्।
"सहमति नभएको खण्डमा सहमति हुन नसकेका पदको निर्वाचन हुन्छ," उनले भनिन्।
शनिवार साँझ बन्द सत्रले केन्द्रीय कमिटीमा नाम प्रस्ताव गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको थियो।
प्रतिस्पर्धा गर्न भीम रावल तयार
नेकपा एमालेको दशौँ महाधिवेशनमा अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्।
ओलीनिकटस्थ केही नेताले वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा आफू हुनुपरने अडान लिएपछि अध्यक्ष ओलीलाई आकाङ्क्षी व्यवस्थापनमा चुनौती थपिएका थियो।
अध्यक्ष ओलीपक्षीय नेताहरू सहमति गराउने पक्षमा देखिए पनि केही प्रतिनिधिहरू भने मतदानको पक्षमा छन्।
अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलनिकटस्थ कार्यकर्ताहरूले रावलको उम्मेदवारीबारे पर्चासहित प्रचारप्रसार सुरु गरिसकेका छन्।
एमाले महाधिवेशनको निर्वाचन समिति संयोजक विजय सुब्बाले आफूहरूलाई निर्वाचन प्रक्रियाअघि बढाउन अध्यक्ष मण्डलले अनुमति दिइनसकेको बताए।
उनले सर्वसम्मति भए पनि निर्वाचनको कानुनी प्रक्रिया पूरा गरेर आइतवार साँझसम्म मात्रै नेतृत्व घोषणा हुने बताए।
"सर्वसम्मति भयो भने पनि कानुनी प्रक्रियाको लागि उम्मेदवारी दर्तादेखि लिएर सारा प्रक्रिया पूरा गर्नुपर्छ। त्यसका लागि आज साँझसम्म लाग्न सक्छ। भएन भने भोलि मात्रै मतदान हुन्छ," उनले भने।
सबै अधिकार अध्यक्ष ओलीको हातमा गएपछि आकाङ्क्षीहरू अध्यक्ष ओली बसेको होटलमा धाइरहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका र पार्टी भित्र १० बुँदे सहमति गरेका नेताहरूलाई उचित स्थान दिनुपर्ने दबाव ओलीलाई एकातिर छ भने अर्कोतर्फ आफू निकट नेताहरूलाई चित्त बुझाउनुपर्ने भएका कारण नेतृत्वमा सर्वसम्मत गराउन सकस परेको छ।
निर्वाचन प्रक्रिया बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि अपराह्णसम्म अलमल कायम छ।
निर्वाचन प्रक्रिया अगाडि नबढेपछि प्रतिनिधिहरू सौराहाका विभिन्न होटल र बन्द सत्र स्थल वरपर छरिएका छन् ।