तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हजारौँ नक्कली इमेल गएपछि अमेरिकी गुप्तचर निकाय एफबीआईको सर्भरमा साइबर आक्रमणको आशङ्का
अमेरिकाको सङ्घीय अनुसन्धान ब्युरो एफबीआईको सर्भरबाट हजारौँ नक्कली इमेलहरू गएको घटना साइबर आक्रमण हुनसक्ने भन्दै अनुसन्धान थालिएको छ।
शनिवार बिहान आफ्नो सर्भरबाट इमेल जानुलाई "भइरहेको घटना" भने पनि त्यसबारे थप विवरण दिएको छैन।
ती इमेलहरू यूएस डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीबाट आएको जस्तो देखिने गरी पठाइएका थिए।
ती इमेलका विषय 'अर्जेन्ट: थ्रेट एक्टर इन सिस्टम्स' रहेको र ती एउटा सम्भावित जोखिमका बारेमा चेतावनीका रूपमा भएको दाबी गरिएका छन्।
ती इमेलमा प्रापकहरूलाई उनीहरू डार्क ओभरल्यान्ड नामक पैसा धुत्न खोज्ने समूहको एउटा जटिल आक्रमणको लक्ष्य रहेको कुरा लेखिएको स्पामहउस नामक गैरनाफामूलक समूहले बताएको छ।
"ती इमेलका ठेगानाहरू सही भएको र ती एफबीआईकै पूर्वाधारबाट आएका कारण त्यसले काममा निकै खलल पारेको छ," स्पामहउसले भनेको छ।
ती इमेलमा प्रेषकको नाम वा सम्पर्क जानकारी नभएको बताइएको छ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार यस्ता एक लाखभन्दा बढी इमेल प्रेषित गरिएका छन्।
शनिवार एक वक्तव्यमा एफबीआईले @ic.fbi.gov बाट प्रेषित गलत इमेलसम्बन्धी घटनाबारे जानकार रहेको बताएको थियो।
एफबीआईले प्रभावित पूर्वाधारहरू हटाइएको बताउँदै सबैलाई नचिनेका प्रेषकबाट आएका इमेलप्रति सचेत रहन एवम् त्यस्ता शङ्कास्पद क्रियाकलापबारे सरकारलाई जानकारी गराउन भनेको छ।
एफबीआईबाट त्यस्ता इमेलहरू भित्रकै कसैले पठाएको हो या ह्याकरहरूको काम हो भनी स्पष्ट भएको छैन।