कोभिड खोपः नेपालमा ६१ प्रतिशत चिनियाँ खोप, बेइजिङको सहयोग किन महत्त्वपूर्ण छ

नेपालमा बुधवारसम्म कुल जनसङ्ख्याको २१.४ प्रतिशतले पूर्ण मात्रा कोभिड खोप लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको ३० प्रतिशतलाई खोप दिइसक्ने लक्ष्य लिएकोमा कार्तिक ३ गतेसम्म २९.८ प्रतिशतले पाएका छन्।

धनी र गरिब देशबीच खोपको असमान वितरणका कारण कोभिड महामारी लम्बिन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनले बिहीवार सचेत गराएको छ।

द पिपील्स च्यारिटिजको ताजा तथ्याङ्कलाई उद्धृत गर्दै डब्ल्यूएचओले जनाएअनुसार विश्वमा सबैभन्दा कम अफ्रिकी महादेशमा खोप पुगेको छ।

अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसङ्ख्याले खोप पाउँदा उच्च तथा मध्यम आय भएका अधिकांश देशमा ४० प्रतिशतले खोप पाइसकेका छन्।

दक्षिण एशियामा कहाँ कति?

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार दक्षिण एशियाली मुलुकमध्ये पूर्ण खोप लगाउनेहरूको प्रतिशत भुटानमा सबैभन्दा उच्च रहेको छ।

त्यहाँ अहिलेसम्म कुल जनसङ्ख्याको ६५.८२ प्रतिशतले पूर्ण मात्रा खोप पाइसकेका छन्।

भुटानपछि माल्दिभ्समा ६५.८२ प्रतिशतले र श्रीलङ्कामा ५८.५६ प्रतिशतले पूर्ण मात्रा खोप पाइसकेको तथ्याङ्क छ।

दक्षिण एशियामा चौथो स्थानमा रहेको नेपालमा कार्तिक ३ गतेसम्म २१.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा पहिलो मात्रा खोप पाउनेहरूको प्रतिशत २८.२ छ।

नेपालपछि भारतमा २०.५५ प्रतिशतले र पाकिस्तानमा १६.०७ प्रतिशतले पूर्ण मात्रा खोप पाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा छ।

बाङ्ग्लादेशमा अहिलेसम्म ११.४९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने सबैभन्दा कम अफगानिस्तानमा १.१३ प्रतिशतले मात्रै पूर्ण मात्रा खोप पाएका छन्।

नेपालमा कुनकुन खोप लगाइँदैछ?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म कोभिशील्ड, भेरो सेल, जोन्सन एन्ड जोन्सन, जापानी आस्ट्राजेनेका र स्वीडिश आस्ट्राजेनेका खोप लगाइएको छ।

अनुदान सहयोगमा प्राप्त गर्नुबाहेक नेपालले भारतबाट कोभिशिल्ड र चीनबाट भेरो सेल खरिद पनि गरेको छ।

खोप अभियान सुरु भएयता कार्तिक ३ गतेसम्म डेढ करोडभन्दा बढी मात्रा खोप लगाइसकिएको छ।

स्वास्थ्य समन्वय महाशाखाका प्रमुख डा. विवेककुमार लालका अनुसार त्यसमध्ये ६१ प्रतिशत हिस्सा चीनमा उत्पादित भेरो सेलको रहेको छ।

त्यसबाहेक २९ प्रतिशत आस्ट्राजेनेका र १० प्रतिशत जोन्सन एन्ड जोन्सन खोपको हिस्सा रहेको छ।

नेपालले अनुदानमा सबैभन्दा बढी खोप चीनबाट भेरो सेल पाएको मन्त्रालयले जनाएको छ।

चीनले सुरुतिर १८ लाख मात्र अनुदानमा दियो भने अनुदानकै १६ लाख मात्र आउने क्रम जारी रहेको चिनियाँ दूतावासको विवरणमा छ।

त्यसपछि अर्को १० लाख मात्रा पनि अनुदानमा दिने चिनियाँ घोषणा छ।

केही दिनअघि मात्रै नेपालका परराष्ट्रमन्त्रीसँग भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ विदेशमन्त्रीले अर्को २० लाख मात्र अनुदानमा दिइने घोषणा गरेका थिए।

त्यसबाहेक नेपालले चीनबाट एक करोड मात्रा खोप खरिद गरेको छ।

नेपालको खोप अभियान कस्तो देखिन्छ?

खोप अभियान थाल्दा सुरुसुरुमा कठिनाइ भएको स्वास्थ्य अधिकारीहरू स्वीकार्छन्।

तर अहिलेको उपलब्धिमा खासगरी उत्तरी छिमेकी चीनको भूमिका सराहनीय रहेको उनीहरू बताउँछन्।

"चीनबाट हामीले भेरो सेलको जुन मात्रा प्राप्त गर्‍यौँ त्यसले धेरै हदसम्म हामीलाई राहत पुर्‍यायो," महाशाखा प्रमुख लालले बीबीसीसँग भने।

पछि उत्पादनहरू बढ्न थालेर कोभ्यासमार्फत्‌ थप खोप आउन थालेकोले पनि अभियानमा सघाउ पुगेको उनले बताए।

नेपालको खोप अभियान तुलनात्मक रूपमा राम्रो देखिनुमा राजनीतिक प्रतिबद्धतासँगै चिनियाँ सदाशयताको भूमिका महत्त्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।

"यसमा चीनले निकै उदारता देखायो। हामीले जति मात्रा चीनबाट खोप किन्यौँ उस्तैउस्तै उसले अनुदानमा पनि दिने भयो," बीबीसीसँग उनले भने।

जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्तका अनुसार नेपालले खोपको मामिलामा अहिलेको भन्दा राम्रो गर्न सक्थ्यो।

"खोपका लागि सुरुका दिनदेखि अलि बढी मेहनत गरेको भए कूटनीतिक रूप अझै सक्रियता देखाएको भए झन् राम्रो गर्न सक्थ्यो," बीबीसीसँग उनले भने।

प्रतिशतको हिसाबले दक्षिण एशियामा चौथो स्थानमा देखिनु नै ठूलो कुरा नभएको उनको तर्क छ।

"अनुपातकै हिसाबले भन्ने हो भने भुटानले दुईतिहाइभन्दा बढीलाई खोप दिइसकेको छ भने हाम्रो एकतिहाइ पनि पुगेको छैनन नि," वन्तले थपे।