तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कोभिडः कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने 'अन्तिम मौका'
विश्व स्वास्थ्य सङ्गठनले एउटा नयाँ कार्यदलको काम कोरोनाभाइरसको उत्पत्ति स्थान पत्ता लगाउने अन्तिम मौका हुन सक्ने जनाएको छ।
डब्ल्यूएचओले 'साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स'का लागि २६ जना विज्ञको नाम तय गरेको छ।
चीनको वुहान सहरमा डेढ वर्षभन्दा बढी समयअघि पत्ता लागेको कोरोनाभाइरस पहिलो पटक कहाँ उत्पत्ति भयो भन्ने कुरा अझै अस्पष्ट छ।
डब्ल्यूएचओको टोलीले कोरोनाभाइरस वुहानमा जनावरबाट मानवमा सरेको अथवा दुर्घटनावश प्रयोगशालाबाट 'लीक' भयो भन्नेबारे अनुसन्धान गर्नेछ।
महत्त्वपूर्ण
चीनले प्रयोगशालाको कुरालाई कडा शब्दमा खण्डन गर्दै आएको छ।
गत फेब्रुअरीमा डब्ल्यूएचओकै एउटा अनुसन्धान टोली चीन पुगेको थियो।
सो टोलीले कोरोनाभाइरस सम्भवतः चमेरोबाट उत्पन्न भएको निचोड निकाले पनि थप काम गर्नुपर्ने खाँचो औँल्याएको थियो।
तर पछि डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रयससले तथ्याङ्कको अभाव र चीन पारदर्शी नहुँदा अनुसन्धान प्रभावित भएको बताए।
प्रस्तावित नयाँ अध्ययन टोलीमा यसअघि चीन गएको अघिल्लो टोलीमा संलग्न छजना विज्ञ पनि समावेश छन्।
- के हो? वास्तवमा के हो कोरोनाभाइरस
- कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
- के गर्ने, के नगर्ने? मानसिक स्वास्थ्यको ख्याल कसरी राख्ने
- के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
- कतिचोटि? के दोहोर्याएर सङ्क्रमण हुन सक्छ
- भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
- भिडिओ: हात यसरी धुनुपर्छ
- भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
कोरोनाभाइरसका साथसाथै नयाँ टोलीले अतिजोखिमयुक्त अरू प्याथोजिन्सको उत्पत्तिबारे पनि अध्ययन गर्नेछ।
"भविष्यमा महामारी फैलिनबाट रोक्नका लागि नयाँ प्याथोजिन्सहरू कहाँबाट आउँछन् भन्ने कुरा थाहा पाउनु महत्त्वपूर्ण हुनेछ," महानिर्देशक टेड्रोसले भने।
साइन्स जर्नलमा एउटा संयुक्त सम्पादकीय लेख्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस र अरू अधिकारीले कोरोनाभाइरसबारे "प्रयोगशाला दुर्घटनाको सम्भावनालाई नकार्न नसकिने" बताएका छन्।
आपत्कालीन मामिलासम्बन्धी डब्ल्यूएचओका निर्देशक माइकल रायनले नयाँ अनुसन्धान टोलीको काम "कोरोनाभाइरसको उत्पत्ति स्थानबारे बुझ्ने अन्तिम मौका हुन सक्ने" बताएका छन्।
तर जिनिभास्थित राष्ट्रसङ्घका लागि चिनियाँ राजदूत चेन सुले अनुसन्धान टोलीको कामलाई "राजनीतिकरण गर्न नहुने" प्रतिक्रिया दिएका छन्।
" यो अरू ठाउँमा पनि टोलीहरू पठाउनुपर्ने बेला हो," उनले थपे।