चीन ताइवान तनाव: बेइजिङसँग नझुक्ने राष्ट्रपति साइको भनाइ

ताइवानकी राष्ट्रपति साइ इङ्-वेनले चिनियाँ दबाव अगाडि ताइवान नझुक्ने र आफ्नै प्रजातान्त्रिक जीवन निरन्तर गर्ने बताएकी छन्।

"हामीले जति उपलब्धि हासिल गर्छौँ त्यति चिनियाँ दबाब बढ्दै जानेछ," उनले भनिन्।

चिनियाँ राष्ट्रपति सी जिनपिङले 'पुनः एकीकरण गर्ने' भनेको भोलिपल्ट ताइवानको राष्ट्रिय दिवसका दिन उनको भनाइ आएको हो।

ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्छ तर चीनले उसबाट छुट्टिएर रहेको एउटा प्रान्त ठान्छ।

बेइजिङले एकीकरण गर्न सम्भावित शक्ति प्रयोग अस्वीकार गरेको छैन।

पछिल्ला दिनहरूमा चीनले ताइवानी आकाशमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैन्य जेटहरू उडाउने गरेको छ।

केही विश्लेषकहरूले त्यो ताइवानी राष्ट्रपतिलाई चेतावनीका रूपमा हेर्न सकिने बताउँछन्।

साइले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा चीनको सैन्य विमान उड्नाले राष्ट्रिय सुरक्षा र हवाई सुरक्षामा असर परेको बताएकी छन्।

चीन-ताइवान सम्बन्ध

  • सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्यदेखि चीन र ताइवानमा छुट्टै सरकार छन्। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ र दुवैले प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउन सङ्घर्ष गरिरहेका छन्
  • हालैका वर्षहरूमा तनाव बढेको छ र बेइजिङले उक्त द्वीप फिर्ता लिन बल प्रयोग गर्न सक्ने सम्भावना अस्वीकार गरेको छैन
  • आधिकारिक रूपमा ताइवानलाई केही राष्ट्रहरूले मात्रै मान्यता दिएको भए पनि प्रजातान्त्रिक रूपमा निर्वाचित त्यहाँको सरकारको विभिन्न देशहरूसँग बलियो व्यावसायिक र अनौपचारिक सम्बन्ध छ
  • अन्य धेरै राष्ट्रहरू जस्तै अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा दौत्य सम्बन्ध छैन तर अमेरिकाको एउटा कानुन अनुसार उसले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न आवश्यक उपायहरू उपलब्ध गराउँछ।

उनले पछिल्लो अवस्थालाई ''विगत ७२ वर्षको कुनै पनि समय भन्दा बढी जटिल र तरल'' रहेको बताएकी छन्।

उनले ताइवानले ''हतारमा कदम नचाल्ने'' तर आफ्नो हवाई प्रतिरक्षा थप बलियो बनाउने बताएकी छन्।

बराबरीको हैसियतमा चिनियाँ नेताहरूसँग छलफल गर्ने प्रस्ताव उनले पुनः दोहोर्‍याएकी छन्।

तर उनलाई बेइजिङले ''पृथकतावादी'' मान्छ र त्यस्तो प्रस्ताव उसले हालसम्म अस्वीकार गर्दै आएको छ।

बेइजिङ अघि उभिने वाचा गरेका कारण गत वर्ष भएको निर्वाचनमा अत्यधिक मत ल्याउँदै उनी पुनः निर्वाचित भएकी थिइन्।

चिनियाँ राष्ट्रपतिले के भनेका थिए?

शनिवार चीनका राष्ट्रपति सी जिनपिङले एक मन्तव्यका क्रममा ताइवानसँगको "पुनः एकीकरण" पूरा गर्न बाँकी रहेको बताएका थिए

चिनियाँहरूसँग पृथकतावादको विरोध गर्ने ''गौरवशाली परम्परा'' रहेको चेतावनी दिँदै उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरेका थिए।

सीको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको थियो।

मातृभूमिको पूर्ण एकीकरण गर्ने कार्य पूरा हुनुपर्छ र निश्चित रूपमा त्यो पूरा हुने छ," सीले भनेका थिए।

उनले आफूले शान्तिपूर्ण रूपमा हङकङमा जस्तै "एक देश दुई प्रणाली" अन्तर्गत एकीकरण देख्न चाहेको बताएका छन्।

यो पनि हेर्नुहोस्