चीन: ताइवानलाई 'पुन: एकीकरण' गर्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको वाचा

चीनका राष्ट्रपति सी जिनपिङले एक मन्तव्यका क्रममा ताइवानसँगको "पुनः एकीकरण" पूरा गर्न बाँकी रहेको बताएका छन्।

चिनियाँहरूसँग पृथक्तावादको विरोध गर्ने ''गौरवशाली परम्परा'' रहेको चेतावनी दिँदै उनले एकीकरण शान्तिपूर्ण रूपमा प्राप्त गर्नुपर्ने उल्लेख गरेका छन्।

सीको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको छ।

ताइवानले आफूलाई सार्वभौम राष्ट्र मान्छ तर चीनले भने उसलाई आफ्नो विद्रोही प्रान्तका रूपमा हेर्छ।

बेइजिङले एकता प्राप्तिका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई अस्वीकार गरेको छैन।

गत हप्ता चीनले ताइवानको हवाई प्रतिरक्षा क्षेत्रमा झन्डै १५० सैन्य विमानहरू उडाएको थियो।

"मातृभूमिको पूर्ण एकीकरण गर्ने कार्य पूरा हुनुपर्छ र निश्चित रूपमा त्यो पूरा हुने छ," सीले भने।

उनले आफूले शान्तिपूर्ण रूपमा हङकङमा जस्तै "एक देश दुई प्रणाली" अन्तर्गत एकीकरण देख्न चाहेको बताएका छन्।

ताइवानको प्रतिवाद

तर ताइवानको राष्ट्रपति कार्यालयले भने एक देश दुई प्रणाली अस्वीकार गर्ने विषयमा ताइवानका जनता स्पष्ट रहेको जनाएको छ।

उसले बेइजिङलाई "उक्साहटपूर्ण हस्तक्षेप, उत्पीडन र विनाशकारी कदमहरू" त्याग्न आग्रह गरेको छ।

पछिल्ला हप्ताहरूमा दुई देशबीच तनाव चुलिएको भए पनि चीन-ताइवान सम्बन्ध सन् १९९६ मा जस्तो बिग्रिएको छैन।

त्यस बेला चीनले क्षेप्यास्त्रको परीक्षण गर्दै ताइवानको राष्ट्रपतीय निर्वाचन बिथोल्ने प्रयास गरेको थियो।

अमेरिकाले चीनलाई रोक्नका लागि उक्त क्षेत्रमा विमानवाहक जहाजहरू पठाएको थियो।

र कैयौँ पश्चिमा राष्ट्रहरूले चीनको सैन्य क्षमता प्रदर्शनबारे चिन्ता व्यक्त गरिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले सी "ताइवान सम्झौता" मान्न सहमत भएको जनाएका छन्।

बाइडनले अमेरिकाको 'एक चीन नीति'लाई सङ्केत गर्दै त्यसो भनेको अनुमान गरिएको छ।

सो नीतिले अमेरिकाले राष्ट्रको रूपमा चीनलाई मात्रै स्वीकार गरे पनि ताइवानसँग 'गहन अनौपचारिक सम्बन्ध' राख्न दिन्छ।

ताइवानलाई चीनको प्रान्त मान्ने एक चीन अवधारण भने बाइडनले सङ्केत गरेको नीतिभन्दा फरक हो।

चीन-ताइवान सम्बन्ध

  • सन् १९४९ मा चिनियाँ गृहयुद्धको अन्त्यदेखि चीन र ताइवानमा छुट्टै सरकार छन्। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधि नियन्त्रण गर्ने प्रयास गरिरहेको छ र दुवैले प्रशान्त क्षेत्रमा आफ्नो प्रभाव बढाउन सङ्घर्ष गरिरहेका छन्
  • हालैका वर्षहरूमा तनाव बढेको छ र बेइजिङले उक्त द्वीप फिर्ता लिन बल प्रयोग गर्न सक्ने सम्भावना अस्वीकार गरेको छैन
  • आधिकारिक रूपमा ताइवानलाई केही राष्ट्रहरूले मात्रै मान्यता दिएको भए पनि प्रजातान्त्रिक रूपमा निर्वाचित त्यहाँको सरकारको विभिन्न देशहरूसँग बलियो व्यावसायिक र अनौपचारिक सम्बन्ध छ
  • अन्य धेरै राष्ट्रहरू जस्तै अमेरिकाको ताइवानसँग आधिकारिक रूपमा दौत्य सम्बन्ध छैन तर अमेरिकाको एउटा कानुन अनुसार उसले ताइवानलाई आफ्नो प्रतिरक्षा गर्न आवश्यक उपायहरू उपलब्ध गराउँछ।