ताइवानको आकाशमा चिनियाँ लडाकु जहाजको लर्को, शान्ति खलबलिने चिन्ता

आफ्नो हवाई सुरक्षा क्षेत्रभित्र रेकर्ड सङ्ख्यामा चिनियाँ लडाकु विमानले अनधिकृत प्रवेश गरेपश्चात् ताइवानले बेइजिङलाई 'गैर जिम्मेदार र उक्साहटपूर्ण कारबाही' रोक्न आह्वान गरेको छ।

सोमवार लगातार चौथो दिन चिनियाँ जहाजहरूले ताइवानको आकाशमा प्रवेश गरेका थिए। कुल १५० चिनियाँ जहाजले ताइवानी हवाई क्षेत्रको अतिक्रमण गरेका थिए।

कतिपय विश्लेषकहरू भन्छन् ती उडान उक्त टापु देशको राष्ट्रिय दिवस अगाडि ताइवानी राष्ट्रपतिलाई चेतावनी स्वरूप गरिएका हुन सक्छन्।

ताइवानलाई बेइजिङले छुट्टिएर बसेको आफ्नै प्रान्त मान्छ।

तर प्रजातान्त्रिक प्रणाली अपनाएको ताइवानले चाहिँ आफूलाई सार्वभौम राष्ट्र ठान्छ।

चिनियाँ उद्देश्य

गएको एक वर्षदेखि ताइवानले चिनियाँ हवाई सेनाले टापु नजिकै उडान गरिरहेको बताइरहेको छ।

ताइवानी सरकारले उपलब्ध गराएको नक्सा अनुसार पछिल्लो चिनियाँ मिसनअन्तर्गत ३४ वटा जे सिक्सटिन लडाकु जहाज तथा १२ परमाणु क्षमतायुक्त एच सिक्स बमवर्षक जहाज ताइवानी नियन्त्रणमा रहेको प्रातास टापुहरूमाथि उडाइएका थिए।

सोमवार अबेर थप चारवटा चिनियाँ लडाकु जहाज देखापरेका थिए - एकैदिन कुल ५६ जहाज देखा परे।

ताइवानको चिनियाँ नीति निर्माणसम्बन्धी एक मुख्य निकाय मेनल्यान्ड अफेअर्स काउन्सिलले बेइजिङमाथि 'ताइवानी जल क्षेत्रमा कायम शान्ति र स्थिरताको यथास्थितिलाई गम्भीर हानि पुर्‍याएको' आरोप लगाएको छ।

"बेइजिङका अधिकारीहरूले उसका अशान्तिपूर्ण तथा गैरजिम्मेवारपूर्ण उक्साउने हर्कत तत्काल बन्द गरून् भन्ने हाम्रो माग छ," काउन्सिलका प्रवक्ता चिउ चिउ-चङ्ले एक विज्ञप्तिमा जनाएका छन्।

"दुई पक्षमा तनाव चर्काउनमा चीन दोषी छ। यसले क्षेत्रीय सुरक्षा र व्यवस्थामा थप खतरा उत्पन्न गराएको छ," उनले भने। ताइवानले धम्कीको सामु कहिल्यै नझुक्ने र सम्झौता नगर्ने पनि उनले बताए।

प्रतिउत्तरमा चीनले वाशिङ्टनमाथि तनाव उक्साएको आरोप लगाएको छ। उसले ताइवानी स्वतन्त्रता पक्षधरहरूलाई समर्थन नगर्न पनि चेतावनी दिएको छ।

"ताइवानको स्वतन्त्रताका निम्ति लागिपर्नु भनेको बेकार हो। त्यस्ता षडयन्त्रलाई दृढतापूर्वक समाप्त गर्न चीनले जुनसुकै आवश्यक कदम चाल्नेछ," चीनले भनेको छ।

अमेरिकाले ताइवानका 'पृथकतावादी फौजलाई समर्थन गर्न र उक्साउन' त्याग्नुपर्ने चीनले बताएको छ।

यसअघि नै विश्लेषकहरूले ताइवानको सरकारले स्वतन्त्रताको औपचारिक घोषणा गर्न लागेको ठान्दै बेइजिङ निकै चिन्तित बनिरहेको उल्लेख गरेका थिए। बेइजिङले ताइवानी राष्ट्रपति साइ इङ्-वेनलाई त्यस्तो कदम नचाल्न चेतावनी दिन चाहेको उनीहरूले बताएका थिए।

तर ताइवानी राष्ट्रपतिले चाहिँ उनको देश अहिले नै स्वतन्त्र रहेका कारण त्यस्तो औपचारिक घोषणा अनावश्यक भएको बताएकी छन्।

ताइवानको आफ्नै संविधान, सेना अनि प्रजातान्त्रिक रूपमा निर्वाचित नेताहरू छ।

ताइवानलाई एकीकरण गर्न बल प्रयोगको विकल्पलाई चीनले खुला नै राखेको छ।

चीन र ताइवान: आधारभूत जानकारी

किन चीन र ताइवानबीच नराम्रो सम्बन्ध छ? चीन र ताइवान सन् १९४० ताका भएको गृहयुद्धपश्चात् विभाजित भएका हुन्। तर बेइजिङले उक्त टापुलाई एक दिन, आवश्यक परे बलपूर्वक नै भएपनि, एकीकरण गरिने बताएको छ।

ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नै संविधान छ। प्रजातान्त्रिकरूपमा निर्वाचित नेताहरू छन्। अनि उसको सेनामा तीन लाख सक्रिय सदस्य छन्।

ताइवानलाई कसले मान्यता दिएका छन्? केवल थोरै देशहरूले ताइवानलाई मान्यता दिएका छन्। अधिकांशले बेइजिङलाई नै मान्यता दिन्छन्। अमेरिकाको ताइवानसँग आधिकारिक सम्बन्ध छैन तर अमेरिकामा एउटा यस्तो कानुन छ जसअन्तर्गत परिआएको खण्डमा ताइवानको रक्षाका निम्ति उसले सहायता गर्नुपर्नेछ।