कोभिड: पूर्ण मात्रा खोप लगाएकाहरूका लागि अमेरिका जान हवाई यात्रा खुकुलो पारिँदै

अमेरिकाले यूके, ईयू र अन्य देशहरूका मानिसहरु आफ्नो देश प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ।

नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ मात्र गरेपछि अमेरिका जान पाउनेछन्।

गतसाता मात्र ह्वाइटहाउसले प्रतिबन्धहरू नहटाइने बताएको थियो।

कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि त्यहाँ हवाईयात्राका कडा प्रतिबन्धहरू लगाइएको थियो।

'देश होइन, व्यक्ति केन्द्रीत'

यो कदमले अमेरिकाका युरोपेली साझेदारको एउटा मुख्य मागलाई सम्बोधन गरेको छ।

यसले अब प्रतिबन्धकै कारण टाढिएका साथी र नातेदारलाई पुर्नमिलन हुने बाटो खोल्नेछ।

सोमवार नयाँ नियमहरूको घोषणा गर्दै ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले 'यो अझ बलियो प्रणाली रहेको' बताए।

उनले भने, "नयाँ नियमहरू देशका आधारमा भन्दा पनि व्यक्तिकेन्द्रीत छन्। मुख्य कुरा अमेरिकाका लागि उड्ने विदेशीहरू पूर्णमात्रा खोप लगाएका हुनुपर्छ।"

अमेरिकी प्रतिबन्ध सबैभन्दा पहिले सन् २०२० को सुरुतिर चीनबाट आउने यात्रुहरूमा लगाइएको थियो जुन पछि अन्य देशहरूका लागि विस्तार गर्दै लगियो।

हालको नियमले पछिल्लो १४ दिनभित्र यूके, कयौँ युरोपेली देशहरू, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्रजिल पुगेका गैरअमेरिकी नागरिकलाई अमेरिका जान रोकिएको थियो।

अस्पष्टता

नयाँ नियम अनुसार विदेशी यात्रुहरूले उड्नुअगावै कोभिड नेगेटिभ आएको परीक्षणको नतिजा देखाउँदै आफ्ना सम्पर्क विवरण देखाउनुपर्नेछ तर क्वारिन्टिन भने बस्नुपर्नेछैन।

नयाँ नियम अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागु हुने हो भन्ने स्पष्ट भइसकेको छैन। आस्ट्राजेनेका खोप अझै अमेरिकामा स्वीकृत भएको छैन।

एउटा मात्र खोप लगाएका १२ देखि १८ वर्षबिचका मानिसहरूलाई प्रवेश पाउँछन्-पाउँदैनन् भन्ने समेत स्पष्ट भइसकेको छैन।

तर ह्वाइटहाउसका कोभिड संयोजकले त्यसबारे अमेरिकी सेन्टर्स फर डीजिज कन्ट्रोलले निर्णय लिने बताएका छन्।

क्यानाडा र मेक्सिकोको जमिनबाट अमेरिका प्रवेश गर्नेहरूका हकमा भने नयाँ नियम लागु हुनेछैन।