मेलम्ची खानेपानी आयोजनाः यस वर्षको अन्त्यसम्म काठमाण्डू उपत्यकामा पानी ल्याउने तयारी, कसरी होला सम्भव?

    • Author, संजीव गिरी
    • Role, बीबीसी न्यूज नेपाली

काठमाण्डू उपत्यकामा मेलम्चीको पानी पुनः यसै वर्षबाट ल्याउन सकिने सम्भावना देखिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

बाढीपहिरोका कारण क्षति पुगेसँगै उक्त आयोजना सम्पन्न गर्ने समयावधि पछि धकेलिएको थियो।

सम्पन्न भइनसकेको भए पनि बाढीको प्रभाव पर्नुअघि केही हप्ता परीक्षणका रूपमा परियोजनाले काठमाण्डू उपत्यकामा पानी प्रवाह गरेको थियो।

समितिका अनुसार असार १ गते मेलम्ची नदीमा आएको ठूलो बाढीका कारण लगभग ''निर्माण सम्पन्न हुन लागेको'' हेडवर्क्सलाई पुरिएको छ।

आयोजनाको मुख्य पाटोमध्ये एक मानिने हेडवर्क्स भनिने संरचना पुरिएको अवस्थामा त्यसलाई पुनः डिजाइन (रिडिजाइन) वा स्थानान्तरण (रिलोकेट) गरेर आयोजनालाई पुनर्स्थापना गर्नुपर्छ भन्ने दीर्घकालीन लक्ष लिइएको बताइएको छ।

तर मेलम्ची नदीको माथिल्लो भेगमा घटिरहेका घटनाहरूलाई रोकथाम नियन्त्रण गर्न सक्ने उपायबारे भइरहेको अध्ययनको निष्कर्षका आधारमा त्यसबारेमा रणनीति तय हुने समितिका बरिष्ठ डिभिजनल इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

''हाम्रो सुरुङ र पानी प्रशोधन केन्द्र तयारी अवस्थामै छन्,'' पन्तले भने।

''खालि हाम्रो मुख्य सुरुङ जोड्ने अम्बाथानको सुरुङ र वैकल्पिक सुरुङ टालिएको छ। यो दुइटा सुरुङ सफा गरिसकेपछि अस्थायी रूपमा पानी प्रवाह गर्ने कार्य तत्काल गर्नुपर्ने कामका रूपमा देखेका छौँ।''

हेडवर्क्समा कति छ क्षति?

पन्तका अनुसार हेडवर्क्स पूर्ण रूपमा पुरिएको छ।

''माथिको कङ्क्रिट मात्रै देखिन्छ। त्यो क्षेत्रमा त १० देखि १५ मिटर सतह बालुवा, ढुङ्गा र गिट्टीले भरिएको छ,'' उनले भने।

तर सुरुमा नदीमा धेरै भग्नावशेष बगेर आएकाले संरचना ''नभत्किएर पुरिएको मात्रै हो कि'' भन्ने आफूहरूको आशा रहेको उनले जानकारी दिए।

त्यसो भएको रहेछ भने मर्मत गरेर काम गर्न सकिने अवस्था आउन सक्ने सम्भावना रहेको तर त्यसका लागि पहिले सफा गरेरै हेर्नुपर्ने बताइएको छ।

काठमाण्डू उपत्यकामा कसरी पानी ल्याउन सकिन्छ?

पन्तका अनुसार आयोजनाको वैकल्पिक डाइभर्शन सुरु गर्नका लागि अम्बाथानको अडिट सुरुङ सफा गर्नुपर्ने हुन्छ।

गत जुन १५ तारिखमा आयोजनाले सुरुङको निरीक्षण गर्नका लागि पानीको प्रवाह बन्द गरेको थियो।

हेडवर्क्ससम्म पहुँच स्थापित गर्न सकिएको अवस्थामा वैकल्पिक डाइभर्शनका लागि निर्माण गरिएको सुरुङ सफा गर्नुपर्ने हुन्छ।

त्यहाँ भएका केही द्वारहरूमा क्षति नभएको अवस्थामा तिनैलाई प्रयोग गरेर पानी काठमाण्डू उपत्यकातर्फ प्रवाह गर्न सकिने आयोजनाले जनाएको छ।

त्यहाँ पनि क्षति रहेछ भने चाहिँ पुनर्निर्माण नै गर्नुपर्ने बताइएको छ।

उक्त कार्य भारतीय कम्पनीले सम्पन्न गरेको र बिग्रिएका सामग्रीहरूसमेत बनाउन लगाएर मगाउनुपर्ने हुँदा त्यसका लागि केही समय लाग्न सक्ने बताइन्छ।

''त्यसले अलिकति समय लाग्न सक्ने देखिएको हो। नत्र त सफा गर्ने काम असोजबाट सुरु गर्न पाइयो भने बर्खा लगभग हटिसकेको, मेलम्ची नदीको सतहपनि स्थिर हुन लागेको अवस्थामा चैत, वेशाखसम्मा पानी ल्याउन सकिन्छ कि भन्ने अवस्था रहन्छ,'' उनले भने।

वैकल्पिक डाइभर्शनमा मुख्य रूपमा चारवटा द्वार रहेको र त्यसमध्ये एउटामा क्षति नरहेको बताइएको छ।

पहुँच मार्गको अवस्था के छ?

बाढीपहिरोका घटनाले आयोजनाको क्षति पुगेको स्थलसम्म पुग्ने पहुँच मार्गमा पनि प्रभाव पारेको बताइएको छ।

जसकारण हालसम्म डोजर लगायतका अन्य सवारीसाधनहरू त्यहाँसम्म पुर्‍याउन सकिएको छैन।

असोजको पहिलो, दोस्रो हप्तासम्ममा डोजर पुर्‍याउन सकिए सफाइको कार्य सुरु हुने पन्त बताउँछन्।

पहुँचमार्गसम्मको स्थायी समाधानको कार्य सडक विभागले नै काम गर्ने उनले जानकारी दिए।

तर पछिल्लो अवस्थामा तत्काल काम सुरु गर्नका लागि भने नेपाली सेनाले सहयोग गर्ने बताइएको छ।

''प्रधानमन्त्री कार्यालयमा समन्वयात्मक बैठक भएको थियो। त्यो बैठकमा चाहिँ बर्खा सकिए पछि काम गर्छौँ भन्ने कुरा भएको थियो। तै पनि निर्णय मन्त्रिपरिषद्‌बाट भयो भने सहज हुन्छ भन्ने थियो। वहाँहरूले पत्र पठाएर बर्खा सकिएपछि काम गर्न सकिने जानकारी गराउनु भएको छ। प्रक्रिया चाहिँ कसरी जाने भन्ने कुरा हो,'' उनले भने।

कति रकम लाग्छ?

समितिका अनुसार आयोजनामा ठ्याक्कै क्षति कति भएको छ भन्ने कुराको यकिन अनुमान अझै भइसकेको छैन।

तर १ अर्ब रूपैँया भन्दा बढीको क्षति भएको हुनसक्ने अनुमान गरिएको पन्त बताउँछन्।

आयोजना पुनर्निर्माण गर्नका लागि नदी नै सफा गर्नुपर्ने अवस्था रहेको भए पनि त्यहाँ साँघुरो स्थान रहेकाले एकै पटक ठूलो स्तरमा काम गर्न कठिन रहेको अधिकारीहरू बताउँछन्।

पहिलो चरणमा सञ्चालनका दृष्टिकोणले सरकारले ५७ करोड विनियोजन गरेको बताइएको छ। त्यसलाई हाल बढाएर १ अर्ब ७६ करोड उपलब्ध गराइएसँगै हाललाई बजेटको अभाव नरहेको अधिकारीहरू बताउँछन्।

के छ काठमाण्डू उपत्यकाको अवस्था?

काठमाण्डू उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ। तर वितरण भने मौसमअनुसार फरक पर्छ।

वेट सीजन अर्थात् बर्खायाममा ११ करोडदेखि १२ करोड लिटर र ड्राइ सीजन अर्थात् सुक्खायाममा आठ करोडदेखि नौ करोड लिटरसम्म पानी वितरण गर्न सकिने केयूकेएलको भनाइ छ।

बीबीसीसँग हालसालैको कुराकानीका क्रममा केयूकेएलका कामु उपकार्यकारी अधिकृत सतीशकुमार दत्तले सामान्यतया असार महिनादेखि असोज दोस्रो हप्तासम्मलाई 'वेट सीजन' र त्यसपछिको समयलाई 'ड्राई सीजन' मानिने जानकारी दिए।

मेलम्चीको पानी थपिँदा पनि उपत्यकामा केयूकेएलले झन्डै २७ करोड लिटर पानी वितरण गर्दै आएको थियो।

उपत्यकामा मेलम्चीको पानी वितरण हुँदा एक दिन बिराएर पानी वितरण गर्ने गरिएकामा हाल सातदेखि १२ दिनसम्मको अन्तरालमा मात्रै दिइएको बताइएको छ।

पानीको मात्रा बढी मात्रै नभएर मेलम्चीको पानीको गुणस्तर पनि "निकै राम्रो" रहेको दत्तको दाबी छ।

"काठमाण्डूमा वितरण हुने पानी ट्रीटमेन्ट (प्रशोधन) गर्दा गुणस्तर एकनास नहुने समस्या थियो। सतही स्रोतबाट आएको पानीको गुणस्तर राम्रो हुने र ट्यूबवेलबाट निकालिएको पानीको गुणस्तर कम हुन्थ्यो," दत्तले भने।

"तर मेलम्चीको भने एकै स्थानमा पानीको प्रशोधन गरिने हुँदा गुणस्तर एकनासको थियो। यसले उपभोक्ताहरूलाई निकै सहज भयो।"

केयूकेएलले चैत १५ गतेदेखि जेठ मसान्तसम्म मेलम्चीको पानी वितरण गरेको थियो।

तर थप परीक्षणका लागि पानी बन्द गरिएसँगै ग्राहकहरूले हाल गुनासो गरिरहेको उनी बताउँछन्।

यो पनि हेर्नुहोस्