तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘भारतीयभन्दा चिनियाँ लगानीकर्ता दोब्बर’
चालु आर्थिक वर्षको पहिलो आठ महिनामा भारतीयको तुलनामा झण्डै दोब्बर चिनियाँ लगानीकर्ताले नेपालमा लगानीका लागि स्वीकृति पाएको अर्थ मन्त्रालयले जनाएको छ।
स्वीकृति पाएसँगै नेपालमा लगानी गर्ने ९२ देशमध्ये भारतीय उद्योगको संख्या सात सयभन्दा बढी पुगेको छ भने चिनियाँ उद्योगको संख्या १२ सय नाघेको छ।
तर लगानीका हिसाबले चाहिँ भारतले सबैभन्दा ठूलो हिस्सा ओगटेको अधिकारीहरूले बताएका छन्।
अर्थ मन्त्रालयले आइतवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७४/०७५ का अनुसार दुई छिमेकी मुलुकमध्ये चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा लगानी गर्न भारतको तुलनामा चिनियाँ उद्योग दोब्बर छन्।
लागत
अधिकारीहरूका अनुसार गत आर्थिक वर्षमा भन्दा यो वर्ष दुई गुणाले बढी विदेशी लगानीको प्रतिबद्धता आएको छ।
तर विदेशी लगानीको लागि स्वीकृति पाएका उद्योगमध्ये लागतका आधारमा चाहिँ भारतका लगानीकर्ताले ३५ प्रतिशत, चीनले २६ प्रतिशत र हङ्गकङ्गले ११ प्रतिशत हिस्सा ओगटेका छन्।
लागतका हिसाबले भारत अगाडि भए पनि चीनियाँ लगानीकर्ताको आकर्षण बढ्नुबारे अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले भने, "पछिल्लो पटक वैदेशिक लगानीका लागि चिनियाँहरू आफैँ बजार खोज्दै हिँडिरहेका छन्। यहाँ लगानीका सम्भावना प्रशस्त छन्। नेपाल भूगोलका कारणले पनि नजिक र लगानीको प्रतिफल समेत देखिन सक्ने वातावरण भएकोले उनीहरूले नेपाललाई रोजेको हुन सक्छ।"
दुवै देशका लगानीकर्ताहरूले खासगरी नेपालको जलविद्युत्, सौर्य ऊर्जा, शहरी फोहोर व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न चासो देखाएको बताइएको छ।
नियन्त्रण
तीनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेपछि विदेशी लगानीको प्रतिबद्धता बढ्न थालेको अर्थ मन्त्रालयको बुझाइ छ।
त्यसबारे अर्थविद्हरूको बुझाइ चाहिँ के छ?
अर्थविद् मिना आचार्यले भनिन्, "उनीहरूले आफूले भनेको बेलामा नियन्त्रण गर्न सक्ने किसिमबाट लगानी आएको छ। हाम्रो राजनीतिले कसरी त्यसलाई प्रभाव पार्छ त्यो हेर्न बाँकी छ। तर यो विदेशी लगानीले सिर्जना गर्ने जुन रोजगारी छ त्यसले नेपालीलाई सुरक्षित गर्ने र तालिमको योजना आएको मैले देखेको छुइनँ।"
तर कतिपय अवस्थामा विगतमै नेपालमा काम गरिरहेका लगानीकर्ताहरूको कार्यसम्पादन उत्साहजनक नभएको प्रति पनि अर्थविद्हरूले चिन्ता व्यक्त गरेका छन्।