नेपाल क्रिकेटः एकदिवसीय खेलमा पपुवा न्यूगिनीसँग सङ्घर्षपूर्ण जित, तीन खेलाडीको प्रभावशाली 'डेब्यू'

    • Author, निरञ्जन राजवंशी
    • Role, काठमाण्डू

नेपालले पपुवा न्यूगिनी विरुद्ध दुई विकेटको जित हात पारेको दिन नेपाली क्रिकेट टोलीमा धेरै नयाँपन देखिएको छ।

ओमानको अल अमिरत क्रिकेट मैदानमा नेपालले मङ्गलवार पपुवा न्यूगिनीलाई पराजित गरेको हो।

मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल र अलरान्डर सोमपाल कामीको धैर्यपूर्ण ब्याटिङमा नेपालले सहज जित पाउने अपेक्षा गरिएको खेलमा सङ्घर्षपूर्ण विजय प्राप्त गरेको हो।

रोहितले ४१ र सोमपालले अविजित २२ रन बनाएर धर्मराइसकेको टोलीलाई सम्हाले।

त्यसअघि सुरुआतमा ओपनर कुशल भुर्तेलले १५ रन आशिफ शेखले ३० रनको योगदान दिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यूगिनीले ३३ ओभर खेलेर १३४ रन मात्र जोड्न सकेको थियो।

नेपालले ६३ बल खेल्नुअगाडि नै जित हात पार्‍यो।

बलिङतर्फ टोलीका एक्ला स्पिनर सन्दीप लामिछानेले चार विकेट लिए।

ओमानमा अमेरिका सम्मिलित आईसीसी विश्वकप लिग २ खेल्न आएको नेपालले त्यसअघि पपुवा न्यूगिनीसँग दुईवटा एकदिवसीय खेल खेलिरहेको हो।

दोस्रो खेल भाद्र २५ गते हुनेछ।

नयाँपन

पपुवा न्यूगिनीविरुद्धको खेलमा राष्ट्रिय क्रिकेट टोलीमा धेरै नयाँपन देखिएको छ।

पूर्वकप्तान पारस खड्काले संन्यास लिएपछि उनको अनुपस्थितिमा खेलिएको यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो।

प्रतिस्पर्धामा तीनजना खेलाडी कुशल भुर्तेल, आशिफ शेख र विक्रम सोबले पहिलो पटक एकदिवसीय अन्तर्राष्ट्रियमा प्रतियोगितामा 'डेब्यू' गर्ने मौका पाए।

राजीनामाको घोषणा गरिसकेका प्रशिक्षक डेभ वाटमोरको लागि ओमानमा सुरु भएको यो प्रतियोगितामा नेपालको लागि पहिलो एकदिवसीय तथा अन्तिम कतार भ्रमण बनेको छ।

चोटका कारण उपकप्तान दीपेन्द्र सिंह ऐरीले स्थान नपाएको यो खेलमा प्रशिक्षक वाटमोरले विकेटकीपर ब्याट्सम्यान विनोद भण्डारीलाई बेन्चमै राखे।

सोबको कीर्तिमान

राष्ट्रिय टोलीमा सोबको 'डेब्यू' विशेष बन्यो।

तीव्र गतिका यी बलरले पहिलो अन्तर्राष्ट्रिय खेलको पहिलो बलमै विपक्षीको विकेट लिएर नयाँ कीर्तिमान कायम गरे।

दोस्रो ओभरमा बलिङ गर्न आएका उनले टोनी उरालाई बोल्ड गरिदिएका थिए।

एकदिवसीय क्रिकेटमा पहिलो खेलको पहिलो बलमा नै विकेट लिने उनी पहिलो नेपाली खेलाडी बने।

समग्रमा यस्तो दुर्लभ उपलब्धि हात पार्ने उनी विश्वका २८ औँ खेलाडी बनेका छन्।

यसअघि पूर्वकप्तान पारस खड्काले पनि टी२० अन्तर्राष्ट्रिय क्रिकेट डेब्यूको पहिलो बलमै विकेट लिएका थिए।

खड्काले हङ्‌कङका इरफान अहमदलाई विकेटकीपर सुवास खकुरेलको हातबाट क्याच आउट गराएका थिए।

पाँच ओभर बलिङ गर्ने मौका पाएका सोब सुरुका दुई विकेट लिन सफल भए।

पछिल्लो पटक सोब सन् २०१६ को विश्व क्रिकेट लीग च्याम्पियनशिप खेल्ने द नेदरल्यान्ड्स भ्रमणमा टोलीमा सहभागी थिए।

तर उनी 'प्लेइङ ११' मा भने अटाउन सकेनन्।

प्रशिक्षक डेभ वाटमोरले करण केसी र अविनाश बोहोराजस्ता अनुभवी खेलाडीलाई बेन्चमा राखी सोबलाई मौका दिएका थिए।

भुर्तेल र शेखको जोडी

भुर्तेल र शेखको जोडीले एकदिवसीय खेलमा पनि ओपनिङमा 'डेब्यू' गर्‍यो।

चार महिनाअगाडि नेपालमा भएको २० ओभरको त्रिकोणात्मक शृङ्खलामा प्रारम्भिक ब्याट्सम्यानका रूपमा प्रभाव जमाएपछि उनीहरुलाई एकदिवसीय खेलमा पनि मौका दिइएको हो।

नेपालमा भएको सो खेलमा भुर्तेलले तीन खेलमा लगातार अर्धशतक प्रहार गरेर कीर्तिमान नै कायम गरेका थिए।

यी जोडीले मङ्गलवार पनि पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे।

कुशल १५ रन तथा आशिफ ३० रन बनाएर आउट हुन पुगेका थिए।

राष्ट्रिय टोलीमा पहिलो पटक समावेश गरिएका तीव्र गतिका अर्का बलर गुलशन झालाई पनि खुट्टामा चोट लागेको बताइएको छ। उनी राष्ट्रिय टोलीमा 'डेब्यू' को पर्खाइमा छन्।

अर्को खेल

एकदिवसीय वरीयतामा नेपाल १६ औँ र पपुवा न्युगिनी २० औँ स्थानमा छन्।

दुई टोलीबीच एकदिवसीय खेलमा चार पटक भेट भएको थियो। तर तीन खेलमा नेपाल पराजित हुन पुगेको थियो।

पपुवा न्यूगिनीसँग खेल्ने दुई एकदिवसीय प्रतियोगिता विश्व क्रिकेट लीग २ अन्तर्गतको तयारी प्रतिस्पर्धा हो।

अर्को खेल भदौ २५ मा हुनेछ।

यी दुई खेलपछि नेपालले ओमान र अमेरिका सम्मिलित लीग-२ मा प्रतिस्पर्धा गर्नेछ।

सन् २०२३ सम्म ३६ एकदिवसीय खेल खेल्ने लीग २ सर्कलमा नेपालले जम्मा चार खेल खेलेको छ।

तिनमा दुईमा जित र दुईमा हार बेहोरेको छ।

सात राष्ट्र सम्मिलित यो प्रतियोगिता विश्वकप २०२३ को छनोट यात्राको एउटा शृङ्खला हो।

ओमान भ्रमण वाटमोरको नेपालको लागि प्रशिक्षकका रूपमा अन्तिम प्रतियोगिता हुनेछ।