टोक्यो ओलिम्पिक्स: रुसले किन खेलमा प्रतिस्पर्धा गर्न पाउँदैन तर रुसी खेलाडीले पाउँछन्?

तस्बिर स्रोत, Getty Images
ओलम्पिक स्वर्ण पदक जितेपछि मञ्चमा उक्लिदाँ रुसी खेलाडीहरू आफ्नो राष्ट्रगानको साटो सङ्गीतकार चाइकोभ्स्कीको पियानो सङ्गीत सुन्छन्।
न उनीहरू आफ्नो देशको झण्डा हल्लाउँछन्, न आफ्नो देशको नाममा नै खेल्छन्।
यी प्रतिबन्धहरू रुसको विचित्र खालको डोपिङ इतिहाससँग सम्बन्धित छन्।
रुसमा सरकारद्वारा प्रायोजित रूपमा ग्रीष्मकालीन र शीतकालीन ओलम्पिक्सका अधिकांश सहभागीका लागि चार वर्षसम्म डोपिङ कार्यक्रम चलेको थियो।
त्यस्तै सन् २०१४ को शीतकालीन ओलम्पिक्समा पदक तालिकामा माथिल्लो स्थानमा रहेको रुसका खेलाडीमाथि गरिएको परीक्षणले पनि त्यसलाई देखाएको थियो।
त्यस बेलादेखि रुसी खेलाडीहरूले प्रतिबन्धहरू खेपिरिरहेका छन्।
रुसी ओलम्पिक कमिटीका तर्फबाट टोक्योमा विभिन्न ३० वटा खेलमा ३०० भन्दा बढी खेलाडी सहभागी छन्।
बाह्र वटा स्वर्णसहित ५० पदक जितेको रुस पदक पाँचौ स्थानमा छ।

तस्बिर स्रोत, Getty Images
तर उनीहरूको सफलताप्रति कतिपय प्रतिस्पर्धीले प्रश्न पनि उठाएका छन्।
त्यस्ता प्रतिस्पर्धीहरू रुसी खेलाडीलाई खेलमा सामेल गर्नु हुन्नथ्यो भन्ठान्छन्।
अमेरिकी पौडी खेलाडी रायन मर्फीले २०० मिटर ब्याकस्ट्रोक फाइनलमा आफ्ना रुसी प्रतिस्पर्धी एभ्गेनी राइलोभसँग हारेपछि खेल "सम्भवत: स्वच्छ नभएको" बताए।
कांस्य पदक जित्ने ब्रिटिश पौडी खेलाडी लुक ग्रीनब्याङ्कले भने, "आफूले प्रतिस्पर्धा गर्नुपर्ने व्यक्ति कति स्वच्छ छविको छन् थाहा नपाईकन उसैसँग दौडनुपर्ने वास्तवमै निकै कठिन अवस्था हो।"
"रुसबाट धेरै सञ्चारमाध्यमहरू ओलिम्पिक्समा आइरहेका छन्। त्यहाँ सरकारकै प्रायोजनमा डोपिङ भइरहेको छ भन्ने थाहा पाउँदापाउँदै एकजना खेलाडीका रूपमा हेर्दा यो निकै निराशाजनक छ। यसको समाधानका लागि धेरै गर्न सकिन्थ्यो।"
यद्यपि अमेरिकी खेलाडी मर्फीले आफूले समग्र डोपिङबारे भनेको भन्दै आफ्नो भनाइ फिर्ता लिएका छन्।
उनका रुसी प्रतिस्पर्धी राइलोभले चाहिँ रुसको पहिलेको डोपिङका कारण अमेरिकीले त्यस्तो भन्ने हक राख्ने बताएका छन्।
तर रुसी ओलम्पिक कमिटीले पछि ट्वीट गर्दै आफ्ना खेलाडीहरू "एकदमै सही" भएको बताएको छ।
"कसैले मन पराउन् वा नपराऊन् तपाईँले कसरी हारे भन्ने थाहा पाउनुपर्छ। तर सबैले त्यो गर्दैनन्," उसले भनेको छ।

तस्बिर स्रोत, Getty Images
यसैबीच टेनिस खेलाडी दानिल मेड्भेडेभले भने टोक्यो ओलम्पिक्समा रुसीहरूले "धोकेबाजको कलङ्क" लगाएको हो भन्ने प्रश्नमा आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।
उनले रिपोर्टरलाई भने, "म जीवनमा पहिलो पटक प्रश्नको उत्तर दिन गइरहेको छैन र यो तपाईँकै लागि बेइज्जतपूर्ण हुनुपर्ने हो। म तपाईँलाई पुन: देख्न चाहन्नँ।"
रुसी डोपिङको घटना सन् २०१४ मा एउटा जर्मन टीभीको अनुसन्धानमा पत्ता लागेको थियो।
त्यस वर्षको ग्रीष्मकालीन खेलमा सहभागी रुसी खेलाडी डोपिङमा सामेल भएको वर्ल्ड एन्टी-डोपिङ एजेन्सी (वाडा) ले त्यसको दुई वर्षपछि खटाइएको टोलीले रिपोर्ट दिएको थियो।
त्यसले खेल क्षमता बढाउने औषधिहरू प्रयोग गरिएको पाएको थियो।
त्यसलाई कोच, चिकित्सक, राज्य र खेल अधिकारीहरूले लुकाएका थिए।
सन् २०१६ को रियो ओलम्पिक्समा उक्त देशका धेरैलाई प्रतिबन्धित गरियो भने सन् २०१८ को ग्रीष्मकालीन खेलमा डोपिङमा सामेल नभएको प्रमाणित गर्नेहरूलाई तटस्थ झण्डामा खेल्न दिइएको थियो।
अहिलेको प्रतिबन्धअनुसार रुसले प्रमुख खेलहरूमा प्रतिस्पर्धा गर्न पाउँदैन।

तस्बिर स्रोत, Getty Images
टोक्यो ओलम्पिक्स रुसी खेलाडीहरूले यस्तो प्रतिबन्ध सामना गरेको तेस्रो ठूलो खेल हो।
रुसी ओलम्पिक कमिटीका खेलाडीहरूले रुसी झण्डा प्रयोग गर्न पाउँदैनन् तर उनीहरूलाई रुसी झण्डाकै रङ्गहरू नीलो, रातो र सेतो प्रयोग गर्न दिइएको छ।
त्यस्तै पोसाक पनि रुस भन्ने शब्द नराखी प्रयोग गर्न दिइएको छ।
उदाहरणका लागि इन्टरन्याशनल ओलम्पिक कमिटी (आईओसी) लाई रुसलाई जनाउने धेरै नजिकको सङ्केत हुन सक्ने ठानेर कलात्मक पौडी समूहलाई भालुयुक्त पौडी पोसाक लगाउन दिइएन।
उनीहरूले आफ्नो रुटिनका लागि "रुससँग प्रेमपूर्वक" भन्ने बोलको सङ्गीत पनि प्रयोग गर्न पाएनन्।

तस्बिर स्रोत, Getty Images

वर्ल्ड एथलेटिक्सका अध्यक्ष सेबास्टियन कोईले यसै साता एथलेटिक्स सङ्घ निलम्बित रहेका देशबारे भने, "टेबलवरिपरि हुने बहस निकै कडा थियो। मेरा साथीहरूले पनि खेलमा तटस्थ खेलाडी हुनुपर्छ र? भनेर प्रश्न गरेका थिए।"
"यो एउटा कार्यदलले गरेको निर्णय हो।"
यी खेलहरूमा आईओसीको एउटा स्वतन्त्र निकाय इन्टरन्याशनल टेस्टिङ एजेन्सी (आईटीए) ले डोपिङबारे हेरिरहेको छ।
शुक्रवार उसले जनाएअनुसार टोक्योमा गर्ने लक्ष्य राखिएको ५,००० डोपिङ परीक्षणमध्ये आधाभन्दा बढी भइसकेको जनाएको छ।
तर हालसम्म त्यहाँ डोपिङको घटना देखा परेको छैन।
उसले अमेरिका, अस्ट्रेलिया, चीन, ब्रिटेन र रुसी ओलम्पिक कमिटीलगायतका खेलाडीको परीक्षण गरेको जनाएको छ।








