शेरबहादुर देउवा: राष्ट्रपतिद्वारा प्रधानमन्त्रीलाई पद तथा गोपनीयताको शपथ, चारजना मन्त्री नियुक्त

तस्बिर स्रोत, RSS
नयाँ प्रधानमन्त्री नियुक्त भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन्।
देउवा मङ्गलवार दिउँसो प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख छ।
सर्वोच्च अदालतको संवैधानकि इजलासले गरेको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने अवस्था आएको हो।
शपथग्रहण समारोहमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिएको छ।
त्यसअघि नियुक्तिमा संविधानको धारा उल्लेख नगरिएको भनी देउवाले त्यसलाई सच्याउन आग्रह गरेको खबरहरू आएका थिए।
नियुक्तिबारेको भाषा विवादका कारण शपथग्रहण समारोह तोकिएको समयभन्दा करिब साढे दुई घण्टा ढिलो गरी भएको बताइएको छ।
मङ्गलवार साँझ ६ बजेका लागि तोकिएको उक्त समारोह करिब साढे ८ बजेमात्र भएको थियो।
नयाँ मन्त्रीहरू नियुक्त
मङ्गलवारै प्रधानमन्त्री देउवाले चारजना मन्त्रीहरू नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका हुन्।
उनीहरूलाई पनि मङ्गलवारै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ।
देउवालाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) बाट भने मङ्गलवार मन्त्री बनाइएको छैन।
प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ।

तस्बिर स्रोत, OPM Nepal
तर देउवा प्रधानमन्त्री नियुक्त भएपछि त्यसको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ।
उनलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका एमालेका सांसदले विश्वासको मत नदिएमा गठबन्धनका अन्य सांसदको सङ्ख्याले मात्रै बहुमत पुग्ने देखिन्न।
त्यस्तो अवस्थामा ओलीलाई साथ दिएको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो समूहका सांसदहरूले देउवाको समर्थन गरेमा बहुमत पुर्याउने विकल्प भने रहन्छ।
पाँचौ पटक प्रधानमन्त्री
विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा आएका देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन्।
उनी नेपालको सुदूरपश्चिम क्षेत्रबाट प्रधानमन्त्री बन्ने तेस्रो व्यक्ति हुन्।
२००७ सालको क्रान्तिपछि सिंहदरबार विद्रोहमा सामेल भएका केआई सिंहलाई २०१४ सालमा राजा महेन्द्रले सुदूरपश्चिम क्षेत्रका उनलाई प्रधानमन्त्री बनाएका थिए।
पञ्चायत कालमा त्यस क्षेत्रबाट लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेका थिए।
देउवा सबैभन्दा पहिले २०५२ सालमा प्रधानमन्त्री बनेका थिए।
दोस्रो पटक उनी २०५८ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसै वर्ष राजा ज्ञानेन्द्रले उनलाई पदबाट हटाए।
२०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे।

तस्बिर स्रोत, RSS
तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।
नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन: चौथो पटक प्रधानमन्त्री बनेका थिए।
डडेल्धुरा जिल्लामा बिक्रम सम्वत् २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए।
राजनीति आरम्भ
२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
त्यसपछि उनी नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बने।
पञ्चायत विरोधी राजनीति गर्दा देउवा पटक-पटक जेल परेका थिए।
त्यस्तै राजा ज्ञानेन्द्रको शासन कालमा पनि उनीमाथि भ्रष्टाचार अभियोग लगाइएको थियो र त्यसबेला समेत उनी केही समय जेल परेका थिए।
आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब ९ वर्ष जेल जीवन बिताएको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवाले बताएका छन्।








