केपी ओ‌ली: 'सर्वोच्च अदालतको फैसला अनुचित'

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, RSS

आफ्नो कार्यकालको अन्तिम दिन देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाबारे केही प्रश्नहरू उठाएका छन्।

यद्यपि उनले सर्वोच्चले गरेको फैसलालाई आफूले मान्ने बताए।

ओलीले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै भने, "अदलातको फैसला अनुचित छ। हाम्रा विरुद्ध छ। संवैधानिक हिसाबले हेर्ने हो भने त्यो उपयुक्त छैन। जे भए पनि अदालतको फैसलालाई मानेर त्यसलाई कार्यान्वयन गरेर हामी अगाडि बढ्छौँ।"

ओलीले सर्वोच्चको फैसलाले "लोकतन्त्रमाथि विश्वास गर्ने सबैलाई चिन्तित तुल्याएको" बताएका छन्।

उनले सर्वोच्चको फैसलालाई इङ्गित गर्दै राज्यका अङ्गहरूको नियन्त्रण र सन्तुलन गुम्दा त्यसले कहिल्यै पनि लोकतन्त्रलाई राम्रो नगर्ने दाबी गरेका छन्।

अहिलेको फैसलाले कतिपयमा विजय उन्माद देखिएको भन्दै उनले भने, "विगतमा पनि यस्ता विजय उन्माद हामीले देखेका हौँ। तर कालान्तरमा ती खुसीहरू र लोकतन्त्र गुम्दाको कुरा बिर्सिएका छैनौँ।"

जनप्रतिनिधिमूलक संस्थाका गतिविधिलाई अन्त लगिएमा त्यसले भविष्यमा दुष्परिणाम निम्त्याउने ओलीको भनाइ छ।

उनले आफूलाई राज्यका अङ्गहरूबीचको सन्तुलन बिग्रिएर लोकतन्त्र नै खतरामा पर्ला कि भन्ने चिन्ता लागेको बताए।

सर्वोच्च अदातले सांसद्हरूलाई दलीय कारबाही नहुने भनी गरेको निर्णयप्रति पनि ओलीले आपत्ति जनाए।

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओली

तस्बिर स्रोत, RSS

उनले उक्त निर्णयलाई उल्लेख गर्दै भने, "… त्यसले दलीय प्रणालीलाई चुनौति दिने काम गरेको छ।"

उनले दलले उम्मेद्वार बनाएको र दलकै घोषणापत्रबाट चुनाव लडेर जितेको व्यक्तिले सांसद बनेपछि जो कसैलाई समर्थन गर्ने वा भोट हाल्ने भन्ने कुरा लोकतन्त्रका लागि ठिक नभएको बताए।

ओलीले भने, "सत्ता र प्रतिपक्ष एउटै दलको व्यक्ति हुन सक्दैन।"

राजनीतिक प्रश्नको फैसला गर्ने कमा मुख्य रूपमा दलको भएको भन्दै ओलीले "अत्यधिक न्यायिक सक्रियता" देखिएको पनि उल्लेख गरे।

उनले आफू जनादेशबाट निर्वाचित भएर आएको र अहिले चाहिँ परमादेशबाट बाहिरिन लागेको बताए।

उनले भने: "आज फेरि जनताको जनादेशले होइन, जनताको आदेश त मेरो पक्षमा थियो, सर्वोच्चको परमादेश शेरबहादुर देउवाको पक्षमा भयो। त्यस कारण सर्वोच्चको परमादेशको कारण सरकारको जिम्मेवारीबाट बिदा लिँदै छु।"

"सरकारबाट बाहिरिनु परेकोको विषयमा मलाई रत्तीभर चिन्ता छैन।"

उनले आफूलाई बाहिरिनुपर्दा कुनै पनि चिन्ता नलागेको पनि बताए।

आफूले जनहितमा काम गरेकाले आफूलाई त्यस्तो चिन्ता नभएको दाबी गरे।

आफ्नो कार्यकालमा गरिएका कामको फेहरिस्त सुनाएका ओलीले चाँडै सबै नेपालीले खोप पाउने पुन: दोहोर्‍याएका थिए।

ओलीले बाँकी अवधि संसद् चलोस् र समयमै निर्वाचन होस् भन्ने आफ्नो कामना भए पनि त्यसमा आफूलाई शङ्का लागेको बताए।

आफ्नै पार्टीका नेताहरूको भूमिकाको आलोचना गरेका ओलीले विपक्षीलाई सहयोग गर्ने र आफ्नै सरकार ढाल्न खोज्ने प्रवृत्ति देखिएको बताए।

त्यो कार्यलाई उनले 'आपराधिक कार्य' भनेका छन्।

यद्यपि उनले पार्टीका कार्यकर्तालाई धैर्य नगुमाउन पनि आग्रह गरे।