तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
क्यानडा मौसमः बिजुली चम्किएर चट्याङ पर्दा ब्रिटिश कोलम्बियामा अनेकौँ डढेलो
पश्चिमी क्यानडामा अहिलेसम्मकै उच्च गर्मीसँगै बिजुली चम्किएर चट्याङ पर्दा १३० भन्दा बढी जङ्गली डढेलोका घटना देखा परेका छन्।
क्यानडाको सङ्घीय सरकारले डढेलो नियन्त्रण र आकस्मिक सेवाका लागि लागि ब्रिटिश कोलम्बियामा सैन्य जहाज पठाउने बताएको छ।
यसै साताको सुरुमा उक्त प्रदेशको लीटन गाउँका मानिसहरू त्यहाँबाट पलायन हुनुपरेको थियो।
लीटनमा गत मङ्गलवार क्यानडाको हालसम्मकै सबैभन्दा उच्च तापक्रम ४९.६ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। पछि उक्त गाउँ आगलागीले ध्वस्त भयो।
आगलागीका कारण करिब २५० मानिसहरूको बसोबास रहेको उक्त क्षेत्र प्रभावित भएको थियो।
त्यसले गर्दा त्यहाँ बसोबास गर्ने मानिसहरू गत बुधवार साँझ आफ्ना सामानहरू नलिइकनै पलायन हुनु परेको थियो।
उक्त क्षेत्र भ्यान्कुभर बाट २६० किलोमिटर पूर्वोत्तरमा पर्छ।
"१५ मिनेटभित्र पूरै सहर आगोको लप्कामा समेटियो," त्यहाँका मेयर ज्यान पोल्डरम्यानले बीबीसीसँग भने।
शुक्रवार ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण सेवासम्बन्धी निकायले प्रदेशभरि १३६ वटा डढेलो सक्रिय अवस्थामा रहेको बताएको थियो।
उसले अघिल्लो दिन १२ हजार बिजुली चम्किएर भएका चट्याङका घटना रेकर्ड गरिएको जनाएको छ।
उक्त निकायका प्रादेशिक सञ्चालन निर्देशक क्लिफ च्यापम्यानले भने, "धेरै त्यस्ता चट्याङहरू समुदायको नजिकै पनि खसेका थिए।"
सयौँ घरपरिवारलाई उनीहरूले आफ्नो घर छाड्नुपर्ने हुनसक्ने चेतावनी दिइएको छ।
क्यानडाका रक्षामन्त्री हरजित सज्जनले सरकारले आगलागी पीडितको सहायताका लागि सैन्य हेलिकप्टर र सहयोगी व्यक्तिहरू पठाउने बताएका छन्।
आगलागीका कारण दुवैतर्फका कैयौँ राजमार्गहरू बन्द भएका छन्।
जनसुरक्षा मन्त्री बिल ब्लेयरले मौसम र डढेलोले ब्रिटिश कोलम्बियामा "विध्वंसकारी" र "अस्वाभाविक" असर पारेको बताए।
उक्त प्रदेशको चिकित्सा परीक्षण कार्यालयका अनुसार गत साताभरि अकस्मात् भएका ७१९ मृत्युका लागि अत्यधिक गर्मीले भूमिका खेलेको थियो।
यो मृत्यु वार्षिक दरको तीनगुणा बढी भएको बताइएको छ।
"गत साता मृत्यु भएकामा धेरैजसो कम भेन्टिलेसनयुक्त निजी घरहरूमा एक्लै बस्ने जेष्ठ नागरिकहरू छन्," मुख्य मृत्यु समीक्षक (कोरोनर) लिजा लोपोइन्टले एउटा वक्तव्यमा भनेकी छन्।
क्यानडाको तटीय क्षेत्रमा तापक्रममा कमी आइरहेको छ तर त्यसले आन्तरिक क्षेत्रमा खासै राहत महसुस भएको छैन।
ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रक निकायले सप्ताहन्तमा अझै धेरै आगलागीका लागि आफू तयार भएको बताएको छ।
पछिल्ला दिनहरूमा उत्तरी अमेरिकामा अस्वाभाविक रूपमा अत्यधिक गर्मी अनुभव गरिएको छ।
विज्ञहरू जलवायु परिवर्तनका कारण यस्ता विषमखाले मौसम उत्पन्न हुने बताउँछन्।
यद्यपि कुनै एउटा घटनालाई विश्व तापमान वृद्धिसँग मात्र जोड्नु जटिल कुरा हो।