विमान अपहरण गरेर पक्राउ: के बेलारुसको घटना पहिलो हो?

विमान

तस्बिर स्रोत, PETRAS MALUKAS/AFP

    • Author, क्लाउडीया एलेन
    • Role, बीबीसी न्यूज

बेलारुसको राजधानी मिन्स्कमा आइतवार एक सरकार विरोधी पत्रकारलाई पक्राउ गर्न जबरजस्ती हवाई जहाज अवतरण गराइएको घटनाले युरोप आक्रोशित छ।

ग्रीसबाट लिथुआनियासम्म व्यवसायिक उडानमा रहेको हवाई जहाजलाई बेलारुसले आफ्नो आकाशमा रहेको बेला लडाकु विमान पठाएर बम भएको मिथ्या सूचना दिएर अवतरण गराएको थियो।

रायन एयरका पाइलटहरूले सैन्य जहाजको निर्देशन पालन गर्नुपर्ने बाध्यता थियो।

यो घटनालाई ईयू र अमेरिकाले निन्दा गरेका छन् र मङ्गलवार बेलारुसको वायुसेवालाई युरोपका अन्य देशमा प्रतिबन्ध लगाएका छन्।

रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पश्चिमा देशहरूलाई यसअघिका यस्ता घटनामा फरक तरिकाले प्रतिक्रिया जनाएको भन्दै आलोचना गरेकी छन्।

के यस्तै घटना यसअघि पनि भएको थियो त?

जाखारोभाले बोलिभियाको तत्कालीन राष्ट्रपति इभो मोरालेस यात्रा गरिरहेको हवाई जहाजको घटनालाई इङ्गित गरेकी हुन्।

यसअघिका हवाई जहाजलाई जबरजस्ती अवतरण गराइएको वा नगराइएका घटनाहरू यस्ता छन्:

सन् २०१३: बोलिभियाका राष्ट्रपतिको जहाज भियनामा

सन् २०१३ को जुलाईमा इभो मोरालेस रुसको मस्कोमा एक सम्मेलनमा भाग लिएर फर्कँदै गर्दा उनको हवाई जहाजलाई युरोपका केही देशहरूले आफ्नो आकाशमा उड्न अनुमति नदिएपछि अस्ट्रियाको भियना विमानस्थलमा अवतरण गराइएको थियो।

बोलिभियाले सो विमानमा अमेरिकी जासुसी संस्थाको गोप्य दस्तावेज सार्वजनिक गरेका एडवार्ड स्नोडेन रहेको भन्ने ठूलो झूट बोलेको बताएको थियो।

स्नोडेन सो समयमा मस्कोको विमानस्थलमा रहेका थिए।

फ्रान्सले पछि बोलिभियासँग माफी माग्दै फरकखाले सूचनाका कारण फ्रान्सेली आकाशमा उड्न अनुमति दिन ढिलाइ भएको बताएको थियो।

इभो मोरालेस

तस्बिर स्रोत, HELMUT FOHRINGER/APA/AFP

तर बेलारुसको घटनासँग यो घटना भिन्न छ किनभने मोरालेसको विमानलाई न सैन्य विमानले रोकेको थियो न अवतरण गर्न बाध्य बनाइएको थियो।

र सो विमान व्यवसायिक विमान नभई राष्ट्रपतीय विमान थियो।

संयुक्त राष्ट्रसङ्घको नागरिक उड्ययन संस्था आईसीएओले बेलारुसको घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्दै सो घटना सिकागो सन्धिको विपरित भएको बताएको छ।

सन् १९४४ को सिकागो सन्धि नागरिक उडानमा मात्रै लागु हुन्छ तर राष्ट्रपतीय वा सैन्य उडानमा लागु हुँदैन।

सन् २०१०: सुन्नी विद्रोही इरानमा पक्राउ

हिंसात्मक सुन्नी विद्रोही समूह जुन्दुल्लाहका प्रमुख अब्दुलमालेक रिगीलाई सन् २०१० मा इरानले पक्राउ गर्यो।

इरानको सरकारी समाचार संस्थाले गिरफ्तारीअघि उनी पाकिस्तान हुँदै अरब देशमा यात्रा गरिरहेको बतायो।

"उनको विमानलाई अवतरण गर्ने आदेश दिइयो र विमान खानतलासी गरेर उनलाई पक्राउ गरियो," इरानी सांसद मोहम्मद देहगानले एएफपीलाई बताए।

रिगीको गिरफ्तारी

तस्बिर स्रोत, Reuters

अन्य विवरणहरूमा रिगी दुबाईबाट किर्गीस्तान उडेको विमानबाट उनलाई गिरफ्तार गरिएको देखिन्छ।

तर विशेषगरी अमेरिकी सञ्चारमाध्यममा फरकखाले विवरण छन् जसमा पाकिस्तानले रिगीलाई इरान ल्याउन सघाएको दाबी गरिएका छन्।

बीबीसीले रिगी कसरी इरानको पञ्जामा परे भन्ने कुरा स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

रिगीलाई सन् २०१० को जून महिनामा मृत्युदण्ड दिइयो।

सन् १९८५: पानीजहाज अपहरणकारी भएको विमानमा अमेरिकी कब्जा

सन् १९८५ अक्टोबरमा अमेरिकी लडाकु विमानहरूले प्यालेस्टानी विद्रोही रहेको शङ्कामा इजिप्टको एक विमानलाई इटलीको आफ्नो सैन्य इलाकामा अवतरण गर्न बाध्य बनाए।

सो समयमा इटलीको क्रुज पानीजहाज अपहरणमा परेको थियो र सो जहाजमा रहेका सयौँ यात्रुमध्ये एक अमेरिकी नागरिक त्यसमा मारिएका थिए।

अपहरित पानीजहाज

तस्बिर स्रोत, Peter Turnley/Corbis/VCG via Getty Images

अपहरणकारी चार प्यालेस्टानी विद्रोही इजिप्टमा पानीजहाज रोकिएपछि भाग्न सफल भएका थिए।

उनीहरूले इजिप्टएयरको विमान चार्टर्ड गरेर ट्युनीस जान खोजेका थिए।

त्यो बेलाको लस एन्जलस टाइम्स पत्रिकाका अनुसार सो विमानलाई अन्तर्राष्ट्रिय आकाशमा अमेरिकी एफ-१६ लडाकु विमानहरूले नियन्त्रणमा लिएर सीसीलीमा अवतरण गराएका थिए।

ती चार अपहरणकारीलाई इटलीमा मुद्दा चलाइयो र लामो समयका लागि जेल पठाइयो।

सन् १९५६: अल्जेरियाली स्वतन्त्रता अभियानका नेताहरूको गिरफ्तारी

सन् १९५६ अक्टोबर २२ मा अल्जेरियाली स्वतन्त्रता अभियानका पाँच नेताहरू मोरक्कोबाट ट्युनीस जाने विमानमा थिए।

उनीहरू त्यहाँ ट्युनीसीयाका राष्ट्रपतिले आयोजना गरेको सम्मेलनमा भाग लिन जान लागेका थिए।

सो समय अल्जेरिया फ्रान्सको उपनिवेश थियो र फ्रान्सेली गुप्तचर संस्थाले लडाकु विमान पठाएर सो विमानलाई अल्जेरियामा अवतरण गर्न बाध्य बनायो।

सन् १९६२ मा भर्खरै स्वतन्त्र भएको अल्जेरियाको प्रतिनिधित्व गर्दै बेल्ला संयुक्त राष्ट्रसङ्घ पुगेका थिए

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् १९६२ मा भर्खरै स्वतन्त्र भएको अल्जेरियाको प्रतिनिधित्व गर्दै बेल्ला संयुक्त राष्ट्रसङ्घ पुगेका थिए

यस घटनाले मोरक्को र ट्युनीसीया आक्रोशित बनेका थिए।

गिरफ्तार गरिएका पाँच जनामा एक जना अहमद बेन बेल्ला थिए जो अल्जेरिया स्वतन्त्र भएपछि त्यहाँको पहिलो प्रधानमन्त्री बनेका थिए।

उनको ९५ वर्षको उमेरमा सन् २०१२ मा देहान्त भएको थियो।