बेलारुस: राष्ट्रपतिको र्यालीलाई छायामा पार्दै सामूहिक प्रदर्शन
बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्काका विपक्षीहरू दशौँ हजारको सङ्ख्यामा राजधानी मिन्स्कमा भेला भएर विवादित चुनावविरूद्ध प्रदर्शन गरेका छन्।

तस्बिर स्रोत, Reuters
धाँधलीपूर्ण भनिएको चुनावी नतिजा र विगतका प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपलाई लिएर बढ्दो आक्रोशकाबीच 'स्वतन्त्रताको निम्ति अभियान' भन्ने मूल नाराका साथ उनीहरू राजधानीमा भेला भएका हुन्।
समाचारमा जनाइए अनुसार राष्ट्रपति विरोधी प्रदर्शनमा करिब दुई लाख २० हजार मानिस सहभागी भएका छन्।
विपक्षी नेतृ स्भेट्लाना तिखानोभ्स्कायाले सप्ताहन्तमा भेला हुन गरेको आग्रहपछि प्रदर्शनमा कैयौँ हजार मानिस सहभागी भएका हुन्। उनी भने प्रवासमा छिन्।
तर भेलालाई सम्बोधन गर्दै उनको पूर्व समूहकी सदस्य मारिया कोलेनिस्कोवाले भनिन्, "तपाईँहरू अद्भूत हुनुहुन्छ। म तपाईँहरूलाई माया गर्छु। साथीहरू यो अन्तिम मौका हो। राम्रो र जनताको पक्षमा उभिनुस्।"
पोल्याण्ड र चेक गणतन्त्रमा पनि बेलारुसका प्रदर्शनकारीको समर्थनमा भिड जम्मा भएको छ।
फ्रेन्च राष्ट्रपतिले शान्तिपूर्ण प्रदर्शनमा युरोपेली सङ्घको समर्थन जारी रहने बताए।
राष्ट्रपतिको आग्रह
विपक्षीहरूको भन्दा सानो कैयौँ हजार मानिसहरूको भिडलाई सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्का विपक्षीहरूविरुद्ध खनिएका थिए।
उनले आफ्ना समर्थकलाई देश र स्वतन्त्रताको रक्षा गर्न आग्रह गरे।
बेलारुसका निम्ति बाह्य सैन्य खतरा देखिएमा सुरक्षा सहायता गर्न रुसले सहमति जनाएपछि सरकार विरोधी र्यालीहरू निस्किरहेका छन्।
लुकाशेन्काले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सप्ताहन्तमा दुईपटक कुराकानी गरेपछि विरोध र्याली आयोजना हुन थालेका हुन्।
लामो समयदेखि बेलारुसमा शासन गरिरहेका उनले छिमेकी देशहरूमा नेटोको सैन्य अभ्यासलाई लिएर आपत्ति जनाएका छन्।

तस्बिर स्रोत, Reuters
तर तिखानोभ्स्कायाले राम्ररी मतगणना गरिएको स्थानमा आफू ६० देखि ७० प्रतिशत मतका साथ विजयी भएको दाबी गरेकी छन्।
'राज्यको मृत्यु'
सरकार पक्षीय र्यालीमा स्थानीय सञ्चार माध्यमले ३१ हजार र आन्तरिक मामिला मन्त्रालयले करिब ६५ हजार मानिस सहभागी रहेको अनुमान गरेका छन्।
आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै लुकाशेन्काले आफ्नो रक्षाको निम्ति केही आवश्यक नरहेको बताए।
उनले पुन: मतदानको माग अस्वीकार गर्दै त्यसो भएमा बेलारुस राज्यको मृत्यु हुने बताए।
गत आइतवारको चुनावमा भारी मतका साथ विजयी भएको लुकाशेन्काको घोषणा पछि बेलारुस अशान्त छ।
मतदान र मतगणनामा धाँधली भएको भन्दै उक्त चुनावको व्यापक रूपमा विरोध भइरहेको छ।
त्यहाँको निर्वाचन आयोगले सन् १९९४ बाट शक्तिमा रहेका लुकाशेन्काले ८० प्रतिशतभन्दा बढी मत पाएको र मुख्य विपक्षी स्भेट्लाना तिखानोभ्स्कायाले १० प्रतिशतभन्दा केही बढी भोट पाएको जनाएको छ।








