ग्रहणः नाङ्गो आँखाले देखिने यो अद्भुत खगोलीय घटना के हो र कति किसिमको हुन्छ?

‍चन्द्र ग्रहण

तस्बिर स्रोत, Getty Images

ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन्। ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ।

मंसिर ३ गते शुक्रवार पृथ्वीबाट यो शताब्दीको सबैभन्दा लामो खण्डग्रास चन्द्रग्रहण देखिन लागेको छ।

विज्ञहरूका अनुसार यो ग्रहणको अवधि झन्डै साढे तीन घण्टाको हुनेछ। पाँच सय ८० वर्षपछि यति लामो अवधिको खण्डग्रास अर्थात् आंशिक चन्द्रग्रहण देखिन लागेको बताइएको छ।

यो ग्रहण हेर्न नोर्थ अमेरिकालाई उपयुक्त स्थान मानिएको भए पनि नासाका अनुसार दुवै अमेरिकी महादेश, पूर्वी एशिया, अस्ट्रेलिया र प्रशान्त क्षेत्रबाट देखिनेछ। तर नेपालको आकाशमा भने यो खगोलीय घटना देखिनेछैन।

ग्रहण उत्कर्षमा पुग्दा नासाका अनुसार चन्द्रमाको ९७ प्रतिशत व्यासमा पृथ्वीको छाया पर्नेछ।

यसअघि यसअघि जेठ १२ गते बुधवार खग्रास चन्द्रग्रहण परेको थियो भने जेठ २७ गते क्यानडा, ग्रीनल्यान्ड र रुसबाट वलय सूर्यग्रहण पूरा देखिएको थियो।

युरोपका अधिकांश भाग, मध्यएशिया र चीनबाट भने सूर्यग्रहण आंशिक रूपमा देखिएको थियो।

जेठ १२ गते पूर्वी एशिया, अस्ट्रेलिया, प्रशान्त महासागरका विभिन्न क्षेत्र र अमेरिकी महादेशहरूबाट पूरै चन्द्रमामा ग्रहण लागेको देखिएको थियो।

ग्रहण के, कस्ता?

"सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् - चन्द्रग्रहण र सूर्यग्रहण," खगोलविद् ह्वाँ कार्लोस बीयामिन आफ्नो नयाँ पुस्तक 'इलस्ट्रेटिड अस्ट्रोनमी'' मा लेख्छन्।

तर विधिगत रूपमा भन्नुपर्दा दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुने उनको भनाइ छ।

यहाँ तीन किसिमका ग्रहण र तिनका विभिन्न प्रकारबारे चर्चा गरिएको छ।

सूर्यग्रहण

सूर्यग्रहण

पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिलेकाहीँ सूर्य र पृथ्वीको बीचमा पुग्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ। र त्यसको छाया पृथ्वीमा पर्छ।

त्यसो हुँदा सूर्यग्रहण हुन्छ।

सूर्यग्रहणका तीनवटा प्रकार हुन्छन्।

चन्द्रमाले सूर्यलाई कति र कसरी छेक्छ त्यसले गर्दा फरकफरक किसिमका ग्रहण बन्छन्।

सूर्यग्रहण

खग्रास सूर्यग्रहण

चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्नेगरी सीधा रेखामा ती तीन वटै परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ।

केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ।

नासाका अनुसार "खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव" हुन्छ। किनभने सूर्य चन्द्रमाभन्दा ४०० गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४०० गुना टाढा छ।

खग्रास सूर्यग्रहण

तस्बिर स्रोत, NASA

पृथ्वीमा चन्द्रमाको छाया पर्ने रेखालाई "पाथ अफ टोट्यालिटी" अर्थात् "पूर्ण छाया पर्ने मार्ग" भनिन्छ। त्यो सानो क्षेत्रमा पूरै अँध्यारो देखिन्छ।

त्यो मार्गको दुवै छेउमा हुने हजारौँ किलोमिटर लामो क्षेत्रमा ग्रहण आंशिक रूपमा देखिन्छ।

पूर्ण छाया पर्ने मार्गबाट जति टाढा भइन्छ चन्द्रमाले सूर्यलाई छेक्ने भाग पनि उति नै कम हुन्छ।

बीयामिनका अनुसार ग्रहण रहने अवधि सूर्यसँग तुलना गर्दा पृथ्वीको अवस्थिति, पृथ्वीसँग तुलना गर्दा चन्द्रमाको अवस्थिति तथा अनि पृथ्वीको कुन भागमा छाया पर्ने भन्नेमा निर्भर गर्छ।

"सिद्धान्ततः लामो सूर्यग्रहण सात मिनेट ३२ सेकन्डसम्म हुनसक्छ," चिलीका खगोलविद् बीयामिन भन्छन्।

सूर्यग्रहण त्यति दुर्लभ घटना भने हैन। डेढ वर्षजतिको अन्तरमा एउटा सूर्यग्रहण देखिन्छ। तर त्यही ठाउँबाट खग्रास सूर्यग्रहण देखिनु दुर्लभ घटना हो। झन्डै ३७५ वर्षपछि मात्र त्यस्तो अवसर आउँछ।

यो वर्ष डिसेम्बर ४ मा खग्रास सूर्यग्रहण छ। तर त्यसको पूरा दृश्य एन्टार्क्टिकाबाट मात्र देखिनेछ।

वलय ग्रहण

वलय ग्रहण

तस्बिर स्रोत, Getty

चन्द्रमा पृथ्वीबाट पर हुँदा सानो देखिन्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यलाई पूरा छेक्दैन।

त्यसैले चन्द्रमावरिपरि वलय अर्थात् बालाको आकारमा सूर्य देखिन्छ। यसलाई वलय सूर्यग्रहण भनिन्छ।

खग्रास सूर्यग्रहणमा जस्तै यसमा पनि बालाको जस्तो आकारमा ग्रहण देखिने मार्ग हुन्छ। उक्त मार्गको दुवै छेउमा आंशिक छाया पर्ने क्षेत्र हुन्छन्।

जेठमा क्यानडाका केही भाग, ग्रीनल्यान्ड र रुसमा वलय सूर्यग्रहण देखिनेछ। तर युरोप, मध्यएशिया तथा चीनमा खण्डग्रास ग्रहण देखिनेछ।

नासाका अनुसार यस्तो प्रकारको ग्रहण प्रायः लामो हुन्छ। बालाको आकार १० मिनेटभन्दा बढी देख्न सकिन्छ।

तर अधिकांश बेला यो पाँच वा छ मिनेटमा सकिन्छ।

मिश्रित ग्रहण

एउटा विशेष परिस्थितिमा मिश्रित ग्रहण देखिन्छ।

मिश्रित ग्रहण

तस्बिर स्रोत, Getty Images

बीयामिन भन्छन्: चन्द्रमा सूर्यलाई पूरा छेक्न सक्ने दूरीमा हुँदा यस्तो ग्रहण बन्छ तर अघि बढ्दै जाँदा चन्द्रमा पृथ्वीबाट केही पर पुग्ने र सूर्यलाई छेक्न छोड्ने अवस्थामा वलय ग्रहण बनिदिन्छ।

"यो वलय ग्रहणका रूपमा पनि सुरु हुनसक्छ अनि त्यसपछि झन्डैझन्डै खग्रास ग्रहणको अवस्थामा पुग्छ।"

खगोलको अध्ययन गर्ने संस्था आईएसीका अनुसार मिश्रित ग्रहण एकदमै दुर्लभ हुन्छ।

नासाको तथ्याङ्कका अनुसार सन् २०१३ मा यस्तो ग्रहण देखिएको थियो।

अर्को मिश्रित सूर्यग्रहण हेर्न सन् २०२३ को एप्रिल २० सम्म कुर्नुपर्नेछ। त्यतिबेला इन्डोनेशिया, अस्ट्रेलिया तथा पपुआ न्यूगिनीबाट यस्तो ग्रहण देखिनेछ।

चन्द्रग्रहण

‍चन्द्र ग्रहण

तस्बिर स्रोत, AFP

चन्द्रमामा पर्ने सूर्यको प्रकाश छेक्नेगरी बीचमा पृथ्वी पुग्दा चन्द्रग्रहण लाग्छ।

अर्थात् चन्द्रग्रहण हुँदा पृथ्वीको छाया चन्द्रमा देखिन्छ।

आईएसीले प्रकाशित गरेको सामग्रीमा भनिएको छः "सूर्यग्रहण देखिने कुरा अवलोकन गर्ने मान्छे कुन ठाउँमा छ भन्नेमा भर पर्छ। तर ग्रहण पर्दा क्षितिजभन्दा माथि चन्द्रमा आइसकेका सबै ठाउँबाट चन्द्रग्रहण देखिन्छ।"

"सूर्यग्रहण ठाउँपिच्छे फरकफरक समयमा देखिन्छ तर चन्द्रग्रहण भने सबै ठाउँमा एकै चोटि देखिन्छ।"

चन्द्रग्रहण पनि तीन प्रकारका छन्।

‍चन्द्र ग्रहण

खग्रास चन्द्रग्रहण

नासाका अनुसार खग्रास चन्द्रग्रहण हुँदा चन्द्रमा र सूर्य पृथ्वीको ठिक विपरीत स्थानमा हुन्छन्।

"चन्द्रमामा पृथ्वीको छाया परे पनि केही प्रकाश चन्द्रमासम्म पुग्छ।"

सूर्यरश्मि पृथ्वीको वायुमण्डल हुँदै जाँदा नीलो रङ्गको प्रकाश चाहिँ हट्छ। त्यसैले चन्द्रग्रहण हुँदा चन्द्रमा रातो देखिन्छ। अनि यसलाई "ब्लड मून" अर्थात् रक्तचन्द्र भनिन्छ।

‍खग्रास चन्द्रग्रहण

तस्बिर स्रोत, NASA

आईएसीका अनुसार पृथ्वीको व्यास चन्द्रमाको भन्दा चारगुना ठूलो भएकाले पृथ्वीको छाया फराकिलो हुन्छ। त्यसैले सर्वपर्वकाल अर्थात् चन्द्रग्रहणको कुल अवधि १०४ मिनेटसम्म हुन्छ।

गत पूर्णिमा देखिएको ग्रहण यही किसिमको हो।

विश्वका केही स्थानबाट १४ मिनेटसम्म "सूपर फ्लावर पूर्णचन्द्र" लाई खग्रास ग्रहणले ढाकेको देखिएको थियो।

‍खग्रास चन्द्रग्रहण

खण्डग्रास चन्द्रग्रहण

चन्द्रमाको केही खण्डमा मात्र पृथ्वीको छाया पर्दा खण्डग्रास चन्द्रग्रहण लाग्छ।

छायाको आकारका आधारमा ग्रहण परेको ठाउँमा चन्द्रमाको सतह गाढा रातो, खियाको जस्तो वा खरानी रङ्गको देखिन्छ।

चन्द्रमामा छाया पर्ने र प्रकाशित रहने ठाउँका बीच उज्यालोको भिन्नताका कारण यस्तो हुन्छ।

खण्डग्रास चन्द्रग्रहण

नासाका अनुसार खग्रास चन्द्रग्रहण दुर्लभ भए पनि खण्डग्रास चन्द्रग्रहण वर्षमा दुई चोटि देखिन्छ।

चन्द्रग्रहण

अहिले नोभेम्बरमा उत्तर र दक्षिण अमेरिका, अस्ट्रेलिया र युरोप तथा एशियाका केही भागबाट खण्डग्रास चन्द्रग्रहण देखिन लागेको छ।

विरलछायाजनित ग्रहण

विरल छायाजनित चन्द्रग्रहण

चन्द्रमा पृथ्वीको विरल छाया अर्थात् मलिन छायामा पर्दा यो यस किसिमको चन्द्रग्रहण बन्छ। अङ्ग्रेजीमा यसलाई 'पिनम्ब्रल इक्लिप्स' भनिन्छ।

यो ग्रहण यति मधुरो हुन्छ कि मान्छेको आँखाले ठम्याउन गाह्रो हुन्छ।

त्यसैले वैज्ञानिक उद्देश्यका लागि बाहेक लोकव्यवहारमा प्रकाशित हुने पात्रोमा यसको उल्लेख हुँदैन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नासाले १० वर्ष खिचेका सूर्यका करोडौँ तस्बिर

ताराको ग्रहण

सूर्य र चन्द्रमाबाहेक दूरस्थ ताराहरूमा पनि ग्रहण पर्छ।

"पचास प्रतिशतजति ताराहरू दुई वा बढी तारा भएको प्रणालीमा छन्," बीयामिन आफ्नो पुस्तकमा लेख्छन्।

"हाम्रो आकाशगङ्गामा धेरै ताराहरू छन्। तीमध्ये बाइनरी अर्थात् द्वि-आङ्गिक ताराहरू पृथ्वीसँग सीधा रेखामा पर्नेगरी आफ्नो अक्षमा घुम्छन्। आफ्नो अक्षको कुनै भागमा एउटा तारा अर्कोको अगाडिबाट जाँदा त्यसले पछाडि पर्ने ताराको उज्यालो छेकिदिन्छ," उनी भन्छन्।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी गरिन्छ अन्तरिक्षमा शौच