चन्द्रमामा रहेका खाडलको नामाकरण गरिँदा पुरुषभन्दा महिलाका नाम किन थोरै

तस्बिर स्रोत, Getty Images
- Author, इभा ओन्टीभेरस
- Role, बीबीसी विश्व सेवा
चन्द्रमामा क्रेटर भनिने हजारौँ ठूला खाडल छन्। तर के तपाईँलाई थाहा छ? त्यसमध्ये कैयौँको नामाकारण मानिसहरूको नामबाट गरिएको छ।
प्रतिष्ठित वैज्ञानिक, इन्जिनियर र अन्वेषकहरूको नामबाट १,५७७ वटा खाडलको नामाकरण गरिएको छ। तर तीमध्ये ३१ वटाले मात्रै वास्तविक महिलालाई सम्मान गर्ने लक्ष्य लिएको छ।
यहाँ हामीले ती महिला को हुन् र किन उनीहरूको सङ्ख्या थौरै छ भनेर चर्चा गर्दैछौँ।
खाडलका नाम
वास्तविक मानिसहरूजस्तै वैज्ञानिक र दार्शनिकजस्ता अग्रणी व्यक्तित्वका नामका आधारमा क्रेटरहरूको नामाकरण गरिएको छ।
तर केही नामहरू ईश्वर र मिथकीय जीवहरूबाट लिइएका छन्।
प्लेटो, गालिलियो र सर आइज्याक न्यूटनजस्ता नाम क्रेटरहरूलाई दिइएको छ।
पृथ्वीबाट देखिने भनिएको एउटा क्रेटरले चर्चित सङ्गीतकार जोन लेननको नाम पाएको छ।
तर तपाईँले त्यसरी सम्मान पाउने महिलाहरू खोज्नुपर्यो भने बृहत् अनुसन्धान गर्नुपर्छ किनभने मात्रै दुई प्रतिशत क्रेटरहरूले महिला वैज्ञानिकको नाम पाएका छन्।
अझ उल्लेख्नीय कुरा के छ भने लगभग सबै 'महिला' क्रेटरहरू चन्द्रमाको टाढाको क्षेत्रमा छन् जुन पृथ्वीबाट देख्न सकिँदैन।
चन्द्रमामा आफ्नो नाममा क्रेटर रहेकी एक मात्र जीवित अन्तरिक्ष यात्री रुसकी भ्यालेन्टिना टेरेसकोभा हुन्।

तस्बिर स्रोत, Getty Images
सन् १९६३ मा उनी अन्तरिक्षमा पुग्ने पहिलो महिला बनेकी थिइन्। "यदि पृथ्वीमा पुरुष र महिलाले उस्तै जोखिम लिन सक्छन् भने उनीहरूले अन्तरिक्षमा किन त्यस्तै जोखिम लिन सक्दैनन्।"
अन्तरिक्षमा पुग्ने पहिलो भारतीय मूलकी महिला कल्पना चावलाको नाममा पनि क्रेटर रहेको छ।
नाम कसले छनोट गर्छ?
इन्टरन्याश्नल एस्ट्रोनोमिकल युनियनले सन् १९१९ देखि नै खोगलशास्त्रीय वस्तुहरूको नामलाई अनुमोदन गर्ने जिम्मा पाएको छ।
अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीकी अध्यक्ष मेगन डोनाह्युका अनुसार कतिपय नामको इतिहास गालिलियो गालीलेले आफ्नो टेलिस्कोपमार्फत् १६१० मा देखेका दृश्यका आधारमा बनाएका खगोल विशेषताहरूको चित्रहरूसम्म पुग्छ।
"सन् १६५१ मा इट्लीका खगोलशास्त्री जियोभानी रिचिओलीले पहिलो पटक चन्द्रमाका विशेषताहरूको नामाकरण गर्न थालेका थिए," हाल अस्ट्रेलीयन एस्ट्रोनोमिकल अप्टिक्सकी वरिष्ठ प्राध्यापक रहेकी पाकिस्तानी खगोलशास्त्री डाक्टर तैयबा जाफर भन्छिन्।
"रिचिओली आफ्नै नाममा क्रेटरको नामाकरण गर्न सके। तर उनले मानिसको नामका आधारमा नामाकरण गरेका १४७ क्रेटरमध्ये दुईवटा मात्रै महिलाको नाममा छन्। तीमध्ये हाइपेसीया वास्तविक थिइन्। तर सेन्ट क्याथ्रिन अफ एलेक्जेन्ड्रिया वास्तविक नहुन पनि सक्छिन्," प्राध्यापक डोनाह्यू भन्छिन्।

तस्बिर स्रोत, Getty Images
डाक्टर जाफरका अनुसार त्यस पछाडिका शताब्दीमा महिलाहरू औपचारिक शिक्षा र तालिमको अभाव देखिएकाले पुरुष वैज्ञानिक र ऐतिहासिक व्यक्तित्वको सम्मानमा नै धेरै क्रेटरहरूको नामाकरण गरिएको थियो।
महिलाको नामबाट किन कम नामाकरण?
संयुक्त राज्य अमेरिका र सोभियत सङ्घबीच सन् १९५० को दशकको अन्त्यदेखि सन् १९७० को दशकको सुरुवातमा कुन देश चन्द्रमा पहिला पुग्ने प्रतिस्पर्धा चलेको थियो।
"चन्द्रमाका विशेषताहरूको नाम कसरी गर्ने भन्नेबारे भद्रगोल जस्तै थियो। त्यहीँ भएर सन् १९७३ मा इन्टरन्याश्नल एस्ट्रोनोमिकल युनियनले यसलाई व्यवस्थित बनाउन एउटा समिति गठन गरेको थियो," खगोलशास्त्री रीता सुल्ज भन्छिन्।
वैज्ञानिक आवश्यक्ता भएमात्रै त्यसरी नामाकरण गर्ने निर्णय त्यसबेला गरिएको थियो।
"पुराना नामलाई कायम गरियो। तर अबका दिनमा चन्द्रमामा नाम राख्ने हो भने तपाईँ वैज्ञानिक वा ध्रुवीय अन्वेषक हुनुपर्नेछ र तपाईँको मृत्यु भइसकेको हुनुपर्छ।"
डाक्टर सुल्जका अनुसार इन्टरन्याश्नल एस्ट्रोनोमिकल युनियनले चन्द्रमा राखिने नाम पुरूषको नामका आधारमा र शुक्रमा महिलाको नामका आधारमा नामाकरण गरिने निर्णय गरेको पनि डाक्टर शुल्ज बताउँछिन्।
उक्त निर्णय अहिले कार्यान्वयनमा नरहे पनि नामाकरणको असमानता कायमै छ। पछिल्लो ३० वर्षमा जम्मा सातवटा क्रेटरको नामाकरण महिलाको नामका आधारमा गरिएको छ।

तस्बिर स्रोत, Getty Images
डाक्टर जाफर भन्छिन्, "इन्टरन्याश्नल एस्ट्रोनोमिकल युनियन गठन हुँदा दुई प्रतिशतभन्दा कम क्रेटरको नामकरण महिलाको नामका आधारमा थियो। एक शताब्दी पछाडि उक्त आँकडामा उस्तै छ।"
यो किन महत्त्वपूर्ण छ?
कम सङ्ख्यामा महिलाको नामका आधारमा क्रेटरहरूको नामाकरण गरिनुले कुनै अर्थ राख्छ?
"साँच्चै राख्छ, "२५ वर्षमा पहिलो पटक ग्रह पत्ता लगाएकी र ३१ वर्षकै उमेरमा चारवटा ग्रह पत्ता लगाइसकेकी चिलेकी खगोलशास्त्री मारित्जा सोतो भासकिज भन्छिन्।
"यदि हामी थप महिलाहरू विज्ञानमा संलग्न हुन भन्ने चाहन्छौँ, उपस्थिति एकदमै महत्त्वपूर्ण छ।"
"किशोरीहरूले उनीहरू के अध्ययन गर्न चाहन्छन् भनेर सोच्दा उनीहरूले आफूजस्तै देखिने प्रेरक व्यक्तित्व देख्न पाउनुपर्छ।"
ताइवान न्याश्नल स्पेश अर्गनाइजेशनकी डाक्टर विकी चूले आफूले चन्द्रमाको सतहमा थप महिलाहरू देख्न चाहेको बताइन्।
उनी भन्छिन्, "विशेषगरी माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थीहरूका लागि यसले मद्दत गर्छ।"

तस्बिर स्रोत, Getty Images
"स्वीकार गर्नु र सम्मान गर्नुले सकारात्मक प्रभाव पार्छ," डाक्टर तैयबा जाफर भन्छिन्।
उनले वैज्ञानिक समुदायले महिलाहरूलाई उदाहरणीय बन्ने कुरा स्वीकार गर्दै त्यसका लागि वातावरण बनाउनुपर्ने उल्लेख गरिन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाले सन् २०२४ मा पुन: चन्द्रयान पठाउने र त्यसमा यो पटक एक महिला र एक पुरुषलाई सहभागी गराइने बताइएको छ।
यसअघि सन् १९७२ मा पहिलो पटक मानव सहितको अन्तरिक्षयान चन्द्रमामा अवतरण गरेको थियो।






















