कोभिड महामारीः नेपाली कम्पनीले गर्‍यो रेम्डेसिभिरको परीक्षण उत्पादन

    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली

कोभिड-१९ का बिरामीको उपचारमा प्रयोग गर्ने गरिएको रेम्डेसिभिर औषधि उत्पादनको अनुमति पाएको नेपाली कम्पनीले त्यसको परीक्षण उत्पादन गरेको जनाएको छ।

औषधि व्यवस्था विभागका अनुसार वीरगन्जस्थित न्याश्नल हेल्थकेअर प्राइभेट लिमिटेडलाई रेम्डेसिभिर उत्पादन गर्ने अनुमति एक साताअघि दिइएको थियो।

"हामीले कम्पनीको उत्पादन क्षमता, पूर्वाधार तथा आवश्यक कच्चा पदार्थ उपलब्ध हुने अवस्था लगायतका पक्ष हेरेर उत्पादन अनुमति दिएका हौँ," विभागका सूचना अधिकारी सन्तोष केसीले भने।

विभाग र कम्पनीका अनुसार नेपालमा कोभिड महामारीको दोस्रो लहर शुरू भएदेखि रेम्डेसिभिर उत्पादन गर्नेबारे कुरा चलिरहेको थियो।

परीक्षण उत्पादन

"हामीले रेम्डेसिभिरको ट्रायल ब्याच उत्पादन नै गरिसक्यौँ। औषधि व्यवस्था विभाग त्यसलाई हेर्ने प्रक्रियामा छ," कम्पनीका उपाध्यक्ष अजय पाण्डेले भने।

"औषधि उत्पादनका लागि चाहिने कच्चा पदार्थ ल्याउन चिनियाँ कम्पनीलाई हामीले पैसा पनि तिरिसकेका छौँ। अहिले माग धेरै भएकोले हामी पालो कुरिरहेका छौँ।"

मे महिनाको अन्त्यतिर कच्चा पदार्थ आइपुग्ने आफूहरूको आशा रहेको नेपालमै उत्पादित रेम्डेसिभिर आउँदो जून महिनाको मध्यसम्म बजारमा उपलब्ध हुनेगरी प्रयास गरिरहेको पाण्डेले बताए।

औषधिको गुणस्तर लगायतका पक्ष आफूहरूले हेरेपछि बजारमा आउने विभागका केसीले जानकारी दिए।

अधिकारीहरूका अनुसार नेपालले हाल बाङ्ग्लादेशबाट र छिमेकी मुलुक भारतबाट उक्त औषधि आयात गर्दै आएको छ।

के मूल्य सस्तो होला?

नेपालमा पछिल्लो समय कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहँदा रेम्डेसिभिर औषधिको माग पनि बढेको व्यापारीहरू बताउँछन्।

माग बढेसँगै मूल्य अचाक्ली बढाइएको गुनासोबीच केही दिनअघि मात्रै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मूल्य प्रतिभाएल रेम्डेसिभिरको ४,९०० रुपैयाँ तोकेको थियो।

"नेपालमै उत्पादन हुने भएपछि भारत र बाङ्ग्लादेशबाट आएकाभन्दा पक्कै केही सस्तो नै हुन्छ," उपाध्यक्ष पाण्डेले भने।

यसअघि रेम्डेसिभिर अफ्रिकी मुलुकमा महामारीको रूप लिएको इबोला भाइरसविरुद्ध उपचारमा प्रयोग हुँदै आएको थियो।

रेम्डेसिभिरको कति प्रभावकारी?

संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी निकाय एफडीएले रेम्डेसिभिरको आपत्‌कालीन प्रयोग अनुमति दिएको छ।

उसको निर्देशिकामा भनिएको छः "अस्पतालमा भर्ना भएका अक्सिजन दिनुपर्ने बिरामीहरूमा यसको प्रयोगका लागि अनुमति दिइएको छ।"

"यद्यपि मेकानिकल भेन्टिलेशन आवश्यक पर्ने बिरामीको हकमा प्रयोग गर्न यो सामान्यतया सिफारिस गरिँदैन किनकि रोगको यस्तो चरम अवस्थामा यो उनीहरूका लागि फाइदाजनक हुन्छ भनेर देखाउने पर्याप्त तथ्याङ्क छैनन्।"

कोरोनाभाइरसबाट सङ्क्रमित हुनासाथ र कुनै लक्षण नदेखिए पनि बिरामीलाई रेम्डेसिभिर दिइहाल्नपर्ने औषधि नभएको पल्मोनरी एन्ड क्रिटिकल केअरसम्बन्धी विज्ञ प्राध्यापक डा. अर्जुन कार्की बताउँछन्।

"अक्सिजनको मात्रा नै घटेर नाकबाट अक्सिजन दिनुपर्ने चरणमा पुगेपछि रेम्डेसिभिर दिने हो। रोग गम्भीर अवस्थामा पुगिसकेपछि यसको धेरै प्रभावकारिता देखिएको छैन।"

"कोभिड हुनासाथ सबै बिरामीलाई यो लगाइहाल्नुपर्छ र यो लगाउने बित्तिकै सब ठिक हुन्छ भन्न बुझाइ सत्य होइन," कार्कीले थपे।

कोभिड-१९ का बिरामीलाई रेम्डेसिभिरको सट्टा डेक्सामिथासोन प्रयोग हुने भए पनि यो महामारीमा त्यसले त्यति चर्चा नपाएको सङ्क्रामक रोगसम्बन्धी अनुसन्धानकर्ता प्राध्यापक डा. बुद्ध बस्न्यात बताउँछन्।

"शरीरमा अक्सिजनको मात्रा कम भएपछि डेक्सामिथासोनको प्रयोग गर्न सकिन्छ। यो सस्तो र सुलभ पनि छ," उनी भन्छन्।

यद्यपि बिरामीको शरीरमा अक्सिजन कम हुनासाथ डेक्सामिथासोनको प्रयोग गरिहाल्न नहुने चिकित्सकहरूको सुझाव छ।

"आफूखुशी प्रयोग गर्नुभएन। चिकित्सकलाई भेटेर सल्लाहबमोजिम लिनुपर्ने हुन्छ। निःसन्देह यसका साइड इफेक्टहरू पनि छन्," प्राध्यापक बस्न्यात भन्छन्।

बिरामीका सबै पक्षको विश्लेषण गरेपछि विशेषज्ञ चिकित्सकले सघन उपचार कक्षमा दिने औषधि भएकोले आफैँले प्रयोग गर्न नहुने डा. कार्कीको पनि सुझाव छ।