नेपाल-भारत सीमाः कोभिड महामारीका बेला खटेका सशस्त्र प्रहरीका यस्ता छन् चुनौती

सशस्त्र प्रहरी

तस्बिर स्रोत, APF Nepal

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपालीका लागि

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि बन्द गरिएको नेपाल-भारत सीमामा खटिएको सशस्त्र प्रहरी बलले भौतिक संचरनाको अभावमा पाल र जस्तामुनि बसेर पहरा दिइरहेको अधिकारीहरूले बताएका छन्।

खुला सीमामा लुकीछिपी हुने आवागमन र तस्करी रोक्नका लागि सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीका जवानहरूले स्थायी सुरक्षा चौकीको अभावमा तराई-मधेशको चर्को घाममा घण्टौँ उभिएर पहरा दिनुपरेको गुनासो गरेका छन्।

कोरोनाभाइरसको दोस्रो लहर सुरु भएसँगै सरकारले वैशाख १९ गतेबाट नेपाल-भारत सीमा बन्द गर्दै १३ वटा नाकाबाट मात्र नेपाली नागरिकलाई प्रवेश दिने गर्ने निर्णय गरेको थियो।

सरकारको निर्णयसँगै सीमाबाट हुने आवागमन रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीलाई करिब १,८८० किलोमिटर क्षेत्रमा फैलिएको नेपाल-भारत सीमामा काम गर्नु चुनौतीपूर्ण भएको सशस्त्रका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालले बताए।

"खुला सीमा भएकाले चुनौती छ नै, तर हामीले सक्दो कोसिस गरेका छौँ। बीओपी पनि पोहोरभन्दा हामीले थपेका छौँ। भारततर्फ मात्र अहिले २१७ वटा बीओपी छन्," उनले भने।

भारत तथा चीन दुवैतर्फका सीमावर्ती ४० जिल्लामा सशस्त्र प्रहरीका २२४ सीमा सुरक्षा कार्यालय छन्। तिब्बतसँगको सीमामा रहेका थप सात वटा र बाँकी नेपाल-भारत सीमामा रहेका बीओपीमा गरी कुल २०,००० जनशक्ति सरकारको पछिल्लो निर्णयपछि सीमा सुरक्षामा मात्र खटाइएको अर्यालले बताए।

थपिएका अधिकांश बीओपी अस्थायी संरचनामा

स्थायी संरचनाको अभावमा सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीहरू आफूहरू प्रतिकूल परिस्थितिमा काम गर्नुपर्ने बाध्यता भएको भन्दै गुनासो व्यक्त गरेका छन्।

प्रदेश नं २ अन्तर्गतको बीओपीमा खटिएका तर नाम खुलाउन नचाहने एक कनिष्ठ प्रहरी अधिकारीले मचान र पालमुनि बसेर काम गर्नु कष्टप्रद रहेको बताए।

सशस्त्र प्रहरी

तस्बिर स्रोत, APF Nepal

"सीमा बन्द भएपछि ठाउँठाउँमा पाल टाँगेर बसेका छौँ । कहिले खाना पकाउँदापकाउँदै हुरी आएर पालै उडाउन खोज्छ सर्पको उस्तै डर छ," उनले भने ।

दक्षिण, पूर्व र उत्तरको केही भाग समेत भारतसँग जोडिएको कञ्चनपुरको पुनर्वास नगरपालिकाका प्रवक्ता भारमल सुनार खुला सीमा व्यवस्थापनमा नगरपालिकाले पनि प्रहरीलाई सहयोग गरिरहेको बताउँछन्।

"हाम्रै नगरपालिकामा पनि दुई-चार ठाउँमा पाल टाँगेर उहाँहरूले पोस्ट स्थापना गरेको स्थिति छ। एक-दुईवटा पोस्टमा टिनको छाना र काठको व्यवस्थापन हाम्रो नगरपालिकाले गरिदिएको छ। राज्यले सीमित स्रोतसाधन दिए पनि उहाँहरूले सक्दो प्रयास गरिरहेको देख्छु," उनले बीबीसी नेपाली सेवासँग भने।

सशस्त्रका प्रवक्ता अर्यालका अनुसार गत वर्ष मात्रै थपिएका १२० वटा बीओपीमध्ये अधिकांश भाडाका घर, सरकारी कार्यालय, छोटी भन्सार र अस्थायी संरचनामा छन् ।

"छैसट्ठीवटा बीओपीका लागि टेन्डर भएर निर्माण हुने प्रक्रियामा छन्। अब त्यसका लागि केही समय लाग्ला," उनले भने ।

नेपाल-चीन सीमामा गस्ती गर्दै सशस्त्र प्रहरी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सशस्त्र प्रहरी बल नेपाल-चीन सीमामा पनि परिचालित छ

चार वा पाँचदेखि १६-१७ किलोमिटरको दूरीमा स्थापित पोस्टमा ३५ देखि ६० जनासम्मको हाराहारीमा दरबन्दी भए पनि सबै स्थानमा पूर्ण जनशक्ति परिचालन भएको छैन।

"एउटा बीओपी र अर्को बीओपी बीचको भूभागमा हाम्रो टोलीले गस्ती पनि गरिरहेको हुन्छ। एक जना, दुई जना बीचबीचमा बसेर सम्झाउने, बुझाउने, रोक्ने, माइकिङ गर्ने लगायत सबै सम्भव प्रयासहरू गरेका छौँ," उनले भने ।

सीमा बन्द गरेको समयमा प्रवेश गर्न खोज्नेहरूलाई आधिकारिक नाकाबाट आउन भन्दै फर्काइदिने र प्रवेश गरिसकेको भए स्थानीय तहको जिम्मा लगाइदिने गरेको प्रवक्ता अर्यालले जानकारी दिए ।

कतिपय स्थानमा आर्थिक प्रलोभन र चिनजानका आधारमा समेत सुरक्षा निकायले आवतजावत नरोकेको आरोप लाग्ने गरेको छ।

सशस्त्र प्रवक्ता अर्याल प्रलोभनमा परेर आफ्नो सङ्गठनमा कसैले काम नगरेको दाबी गर्छन् ।

"प्रलोभनमा परेर कसैलाई प्रवेश दिने गरेको भन्ने उजुरी अहिलेसम्म आएको छैन," उनले भने।

न बीमाको भुक्तानी न अतिरिक्त भत्ता

पछिल्लो चरणमा मात्रै १०० जनाभन्दा बढी सशस्त्र प्रहरीहरू कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेको र तीमध्ये धेरैजसो सीमा सुरक्षामा खटिएका व्यक्तिहरू रहेको अर्यालले जानकारी दिए ।

सशस्त्र प्रहरी

तस्बिर स्रोत, APF Nepal

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई पर्याप्त मात्रामा व्यक्तिगत सुरक्षाका उपकरण र सामग्री उपलब्ध गराउन नसकिएको प्रवक्ता अर्याल स्वीकार्छन्। सीमामा अन्य कर्मचारीले टाढै बसेर र मास्क लगाएर आफ्नो कर्तव्य निर्वाह गरे पनि कहिलेकाहीँ तनाव वा झडपको स्थिति उत्पन्न हुँदा सशस्त्र प्रहरीले जोखिम मोलेरै भए पनि नजिक जानुपर्ने बाध्यता हुने अर्याल बताउँछन्।

अहिलेसम्म सशस्त्र प्रहरीका पाँच जनाले कोरोनाभाइरसको सङ्क्रमणका कारण ज्यान गुमाइसकेको बताइएको छ।

तर गत वर्ष नै सङ्क्रमित भएकाहरूले समेत अहिलेसम्म कोभिड बीमाको भुक्तानी नपाएको सशस्त्रका एक अधिकारीले बताए ।

अतिरिक्त भत्ताबिनै लामो समय तराईको चर्को गर्मी र अन्य जोखिमका बीच खटिनुपर्दा बीओपीबाट सरुवा माग्नेहरूको सङ्ख्या ठूलो रहेको सशस्त्र मुख्यालयका एक अधिकारीले बताए।

सरकारले अग्रपङ्क्तिमा खटिने सबैलाई जोखिम भत्ता दिने भने पनि १० प्रतिशत सुरक्षाकर्मीहरूलाई मात्रै भत्ता प्रस्ताव गरेपछि असन्तुष्टि जनाउँदै सशस्त्र र नेपाल प्रहरीले भत्ता अस्वीकार गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस सङ्क्रमण जटिल भएको वा नभएको छुट्टाउने चार सङ्केत
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

प्रवेश नपाउँदा झडप र आक्रमण

गत वर्ष जेठमा सर्लाहीमा सीमानाका बन्द रहेका बेला जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने समूहले सशस्त्र प्रहरीको बीओपीमा आक्रमण गरेपछि भएको झडपमा एक जना भारतीय नागरिकको मृत्यु भएको थियो।

गत जेठमै झापाको कचलाकवल र साउनमा गौरीगन्जमा रहेका सशस्त्र प्रहरीका अस्थायी चौकीहरूमा भारतीय नागरिकहरूले गरेको भनिएको आक्रमणमा केही प्रहरीहरू घाइते भएका थिए।

पोहोर बाली भित्र्याउन नपाएपछि यो वर्ष भारतीयहरू नेपालतर्फ खेती गर्नै नआएको कचनाकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले बताइन्।

"गत वर्ष सीमा बन्द भएपछि बाली भित्र्याउन नपाउँदा उनीहरूको धेरै नोक्सान भयो। यो वर्ष उनीहरू नेपालतर्फ खेती गर्नै आएनन्," उनले भनिन्। "हाम्रोबाट पनि सस्तोमा सामान पाइन्छ भनेर पारि जानेहरू छन्, तर प्रहरीको सहयोग लिएर हामीले सक्दो रोकेका छौँ।"

सशस्त्र प्रहरीका प्रवक्ता अर्याल सीमा बन्द भएका बेला आउजाउ गर्न खाोज्ने मानिससँग कहिलेकाहीँ "असहज अवस्था" उत्पन्न हुने गरेको स्वीकार्छन् ।

"यताका मान्छेको उता खेती छ , उताको मान्छेले यता खेती गरेका छन्। नातेदारहरू पनि दुवैका दुवैतिर भएकाले आउजाउ गर्न खाोज्छन्। त्यस्ता मानिसलाई सम्झाउन बुझाउन कठिन छ । नबुझेपछि कहिलेकाहीँ समस्या पनि आउँछ," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड बिरामीले भरिएको भेरी अस्पतालमा स्वास्थ्यकर्मीको अवस्था

कागजी निर्णयले मात्र 'सीमा बन्द गर्न सकिँदैन'

सशस्त्र प्रहरीका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा नेपाल र भारतको जस्तो खुला सीमा पूर्ण रूपमा बन्द गर्नै नसकिने भएकाले औपचारिक नाकाहरूबाट हुने आवतजावत प्रोत्साहित गर्दै स्वास्थ्य मापदण्ड पालना गरिनुपर्ने बताउँछन् ।

गत वर्ष महाकालीमा हाम फालेर भए पनि सीमा बन्द भएको बेला भारतबाट नेपाल फर्किन खोजिएको घटना स्मरण गर्दै थापाले भने, "कागजमा विज्ञप्ति निकालेर सील हुने विषय नै होइन हाम्रो सीमा।"

"हाम्रो भूगोल, सीमा सुरक्षामा खटाइएको जनशक्ति, सीमाको व्यवस्थापन र भारतसँगको परनिर्भरताका कारण पनि हामी सीमालाई सहजै ठप्पै गर्न सक्दैनौँ।"

गत वर्ष बैतडीका इन्द्रसिंह खत्री महाकाली नदी तरेर भारतको धार्चुलाबाट नेपालको दार्चुला आएका थिए
तस्बिरको क्याप्शन, गत वर्ष बैतडीका इन्द्रसिंह खत्री महाकाली नदी तरेर भारतको धार्चुलाबाट नेपालको दार्चुला आएका थिए

नेपाल-भारत सीमामा खटिएका सशस्त्र प्रहरीका एक निरीक्षकका अनुसार जनशक्ति र स्रोतसाधनको सीमितताका कारण लुकेर आउनेजाने सबैलाई रोक्न सम्भव हुँदैन।

'सङ्गठनको अनुशासनका कारण' नाम उल्लेख नगरिदिन आग्रह गर्दै उनले भने, "हामीले देख्दा रोकिरहेकै हुन्छौँ, तर खुला सीमा भएका कारण मानिसहरू हाम्रो आँखा नपरेको ठाउँबाट लुकीछिपी गरिरहेकै हुन्छन्।"

"हाम्रो जनशक्तिले सबै ठाउँमा रोक्न सम्भवै छैन ।"