कोभिड नेपाल: काठमाण्डू उपत्यकामा निषेधाज्ञा थप; अहिलेको भन्दा के फरक छ

तस्बिर स्रोत, RSS
काठमाण्डू उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाण्डूले जनाएको छ।
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको अवस्थामा आगामी दुई सातासम्म निषेधाज्ञा थप गरिएको काठमाण्डू जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
"विवाह, व्रतबन्धजस्ता कार्यक्रमहरू होटल वा पार्टी प्यालेसमा समेत गर्न नपाइने गरी निर्णय गरेका छौँ," पराजुलीले बीबीसीसँग भने।
अत्यावश्यक सामाग्री खरिद गर्नका लागि बिहान दिइएको समय भने एक घण्टा बढाइएको छ।
कम समयमा भिड बढी भएको हुनाले बिहान १० बजेसम्म सरसामग्री खरिद गर्नका लागि समय दिइएको पराजुलीले बताए।
त्यस्तै अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालयहरू बन्द गराउने निर्णय गरिएको उनले बताए।
कार्यालयले जारी गरेको सूचनामा विवाह र व्रतबन्ध १० जनासम्म भेला भएर स्वास्थ्य सावधानीका साथ घर वा तोकिएको स्थानमा गर्न पाउने भनिएको छ।
पछिल्ला निर्णयहरू बिहीवारदेखि कार्यान्वयनमा आउने बताइएको छ।
कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि भन्दै काठमाण्डू उपत्यकामा १५ दिन निषेधाज्ञा थप गर्न जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीले सोमवार सिफारिस गरेको थियो।

तस्बिर स्रोत, RSS
कोरोनाभाइरस सङ्क्रमण फैलिने गति तीव्र हुँदै गएपछि गत वैशाख १६ गते एक हप्ताका लागि निषेधाज्ञा लगाइएको थियो।
पछि त्यसलाई कडा बनाउँदै एक हप्ता थपेर वैशाख मसान्तसम्मका लागि बढाइएको थियो।
के गर्न पाइँदैनः
अघिल्लो पटक निषेधाज्ञा जारी गर्दा निम्न कुराहरू गर्न नपाइने उल्लेख थियो।
- सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनाटर, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना सञ्चालन गर्न
- अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारीसाधन चलाउन
- अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा सञ्चालन
- खाद्य सामग्री र औषधि तथा स्वास्थ्य सामग्रीसम्बन्धी पसल, व्यवसायबाहेक अन्य पसल, व्यवसाय सञ्चालन
जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडान 'बन्द रहने'
अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध जेठ महिनाको १७ गतेसम्म कायम रहने नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा सञ्चालकहरूलाई जानकारी गराएको छ।
गत सोमवार मन्त्रिपरिषद्को निर्णय बमोजिम प्राधिकरणले कोरोनाभाइरस महामारी नियन्त्रण गर्नका लागि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको थियो जसका आधारमा गत बिहीवारबाट अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ।
'एअर बबल' अवधारणा अन्तर्गत सातामा दुई दिन हुँदै आएको काठमाण्डू - दिल्ली उडानमा भने पछिल्लो निर्णयले प्रभाव नपार्ने प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै नेपालबाट वा नेपालका लागि हवाई उडानका लागि अर्को सूचना जारी नभएसम्म बुकिङ नलिन पनि वायुसेवा सञ्चालकहरूलाई भनिएको छ।








