नेपाल-भारत सीमा: झापामा खेती गर्न सीमा पार गर्ने भारतीयहरूको प्रयास, प्रहरीले गर्यो हवाई फायर

नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको पोस्टमाथि भारतीय नागरिकले नेपाल प्रवेश नपाएको भन्दै आक्रमण गरेका हुन्
तस्बिरको क्याप्शन, नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको पोस्टमाथि भारतीय नागरिकले नेपाल प्रवेश नपाएको भन्दै आक्रमण गरेका हुन्
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

नेपाल-भारतबीच सीमामा रहेको सशस्त्र प्रहरी पोस्टमाथि भारतीय नागरिकले आक्रमण गरेको भन्दै प्रतिकारका लागि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताएका छन्।

शनिवार साँझ करिब ७:३० बजेतिर ६/७ जनाको सङ्ख्यामा रहेका सशस्त्र प्रहरी खाना खान गएका बेला भारतीय नागरिकले आक्रमण गरेको कचनकवल गाउँपालिका-१ का वडाध्यक्ष लक्ष्मी यादवले बताएका छन्।

नेपाली भूभागमा जग्गा भाडामा लिएर खेती गर्ने गरेका सिमापारीका पचास जनाभन्दा बढीको सङ्ख्यामा भारतीय नागरीकहरूको समूहले लकडाउनको समयमा नेपाल प्रवेश गरेका उनले जानकारी दिए।

उक्त समूहलाई नेपालको सिमावर्ती गाउँका बासिन्दाले फिर्ता पठाउने प्रयास गरेका बताइएको छ।

गाउँलेको विरोध र सशस्त्र प्रहरीसँगको झडपपछि भारतीय नागरीकहरूको समूह भारत तर्फ नै फर्किएको वडाध्यक्ष यादवले बताए।

केही दिनअघि पनि झापा गाउँपालिकाको सीमा क्षेत्रमा भारतीय नागरीकहरूसँगको भिडन्तमा त्यहाँस्थति सशस्त्र प्रहरीको टोलीले दुई राउण्ड हवाई फायर गरेको थियो।

आक्रमण किन?

झापाको कचनकवल तथा झापा गाउँपालिकाका करिब ५०० बिघा जमिनमा भारतीय नागरिकले खेती गर्दै आएका छन्।

अहिले उनीहरुले मकै लगाएका छन्।

आफ्नो खेतीको हेरचाह गर्न पाउनुपर्ने भन्नै उनीहरू लकडाउनका बेलामा पनि नेपाल आउन चाहने तर सीमामा रहेका प्रहरीले आउन नदिने कारणले गर्दा भिडन्तको अवस्था आउने गरिरहेको स्थानीयबासीले बताएका छन्।

नेपाल-भारत सीमामा रहेको सशस्त्र प्रहरीको पोस्टमाथि भारतीय नागरिकले नेपाल प्रवेश नपाएको भन्दै आक्रमण गरेका हुन्

वडाध्यक्ष यादवका अनुसार सीमा क्षेत्रमा चौपाया चराउन नदिएको भन्दै भारतीय नागरिकले प्रहरीमाथि आक्रमण गरेका हुनसक्छ।

उनले भने, "लकडाउनका बेला प्रहरीले यता आउन नदिएपछि थोरै सुरक्षाकर्मी भएका बेला उनीहरुले आक्रमण गरेका हुन्।'

स्थानीय प्रशासनको जिम्मा

पटकपटक सीमा क्षेत्रका भारतीय नागरिक नेपाल आउन खोज्ने बारम्बारको समस्याको समाधान स्थानीय प्रशासनले नै खोज्ने प्रयास गर्नुपर्ने गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार खेती गर्न आउने भारतीय नागरिकलाई परिचयपत्र दिएर समस्या समाधान गर्न सकिने हुनसक्छ।

उनले भने, "यो समस्या धेरै पटक भयो। समुदायमा नजाने सर्तमा उनीहरुलाई खेतीका लागि मात्र यो प्रावधान लागु गर्न सकिन्छ।"

स्थानीय प्रशासनले भारतीय समकक्षीसँग छलफल गरेर पनि समाधान निकाल्न सक्ने बताएका छन्।

अडिओ क्याप्शन सुरु हुँदैछ, सीमा विवाद टुङ्ग्याउन सरकारले के गर्नुपर्छ?