कोरोना भाइरस नेपालः साढे तीन सयभन्दा बढी सुरक्षाकर्मी सङ्क्रमित, कसरी फैलियो कोभिड-१९

सशस्त्र प्रहरी
    • Author, उमाकान्त खनाल
    • Role, बीबीसी न्यूज नेपाली, झापा

नेपालमा कोरोनाभाइरसबाट कम्तीमा ३६० सुरक्षाकर्मी सङ्क्रमित भएको पुष्टि भएको सुरक्षा निकायका उच्च अधिकारीहरूले बताएका छन्।

सुरक्षा निकायमध्ये कोरोनाभाइरस महामारीबाट नेपाल प्रहरी सर्वाधिक प्रभावित भएको देखिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार मङ्गलवारसम्म २०६ प्रहरी कोभिड-१९ बाट पीडित भएका छन्।

त्यसैगरी नेपाली सेनामा ७९ र सशस्त्र प्रहरीमा ७५ जनालाई सङ्क्रमण भएको छ।

सीमा सुरक्षा, विदेशबाट आउने नेपालीहरूलाई राख्ने होल्डिङ सेन्टर तथा शव व्यवस्थापनको कामबाट सुरक्षाकर्मीमा कोरोनाभाइरसको सङ्क्रमण बढेको प्रहरी तथा सेनाका उच्च अधिकारीहरूले बताएका छन्।

कसरी बढ्यो नेपाल प्रहरीमा सङ्क्रमण?

गत चैत ११ गते लकडाउन घोषणा गरेपछि पहिलो पटक काठमाण्डूको कालीमाटीमा दुई प्रहरीलाई सङ्क्रमण देखिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

अहिले मोरङ, स्याङ्जालगायत जिल्लाहरूमा ठूलो सङ्ख्यामा प्रहरीहरू सङ्क्रमित भएका छन्।

हाल नेपाल प्रहरीको प्रवक्ताको जिम्मा पाएका प्रहरी वरिष्ठ उपरीक्षक कुवेरसिंह कडायतले २०६ जनामध्ये ९९ जना निको भएर फर्केका छन् भने बाँकी उपचारमा छन्।

उनीहरूलाई सङ्क्रमणका लक्षण देखिएर परीक्षण गराउँदा कोरोनाभाइरस पुष्टि भएकको कडायतले बताए।

उनले भने, “पहिला प्रहरी प्रधान कार्यालयका चार जनालाई देखियो। पछि कन्ट्याक्ट ट्रेसिङ गर्दै लाँदा मुख्यालयमै ३५ जना सङ्क्रमित भेटिए।”

सुरक्षा

सङ्क्रमण कसरी फैलियो भन्नेमा नेपाल प्रहरीले नै निर्क्योल गर्न सकेको छैन।

प्रहरी वरिष्ठ उपरीक्षक कडायतले भने, “प्रहरी सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा हुन्छन्। मानिसलाई नियन्त्रणमा लिनुपर्छ। त्यसरी पनि सरेको हुनसक्छ। तर किटान गरेर भन्न सकिँदैन।”

सशस्त्र प्रहरीमा दुई किसिमले सङ्क्रमण

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार सीमा सुरक्षा तथा क्वारन्टीन सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा सङ्क्रमण देखिएको छ।

नेपाल-भारत सीमा क्षेत्रमा ठूलो सङ्ख्यामा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरू परिचालित छन्। प्रवक्ता अर्यालले नेपाल-भारत सीमा क्षेत्रमा सम्भावित सङ्क्रमित भारतीय नागरिकसँग सम्पर्क हुने भएकाले सङ्क्रमण सरेको हुनसक्ने बताए।

उनले भने, “सीमामा भारतीय नागरिक नेपाल आउन खोज्छन्। त्यहाँ उनीहरूलाई रोक्नुपर्‍यो। नजिक परेपछि सङ्क्रमण भएको भन्ने हाम्रो बुझाइ हो।”

क्वारन्टीन व्यवस्थापनमा बसेका बेला पनि सङ्क्रमित तथा सम्भावित सङ्क्रमितसँग सम्पर्क हुने भएकाले त्यहाँबाट सङ्क्रमण सरेको हुनसक्ने अर्यालको भनाइ छ।

संयुक्त राष्ट्रसङ्घको सुडान मिशनमा गएकासहित सशस्त्र प्रहरीका ९३ जना सङ्क्रमित भएका अर्यालले बताए।

तीमध्ये १८ जना सुडानमा र ४७ जना नेपालमा निको भइसकेका उनले बताए।

उनका अनसार सुडानमा भएका १८ जनालाई अझै सक्रिय सङ्क्रमण छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

‘ब्यारेकबाहिर जाँदा सैनिकलाई सङ्क्रमण’

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलका अनुसार नेपाली सेनाका ब्यारेकभित्रबाहेक सरकारले अहिले तोकिदिएको पाँचवटा काममा परिचालित हुँदा कोरोनाभाइरस सङ्क्रमण सैनिकहरूमा देखिएको हो।

उनका अनुसार क्वारन्टीनको सुरक्षा व्यवस्था, नेपाल-भारत सीमाका २० वटा नाकामा भारतबाट आउने नेपालीहरूलाई विश्राम गराउने होल्डिङ सेन्टरको व्यवस्थापन, तेस्रा मुलुकबाट ल्याइएका नेपालीलाई होल्डिङ सेन्टरसम्म लैजाने, विदेशबाट आएकाहरूलाई सम्बन्धित प्रदेशमा पठाउने र कोरोनाभाइरस सङ्क्रमितको शव व्यवस्थापन गर्ने कामबाट नेपाली सेनामा कोरोनाभाइरसको सङ्क्रमण सरेको हो।

प्रवक्ता पौडेलले भने, “गत जेठ ३ गते धनुषामा दुई जनामा सङ्क्रमण देखा परेको हो। अहिलेसम्म ७९ जना सङ्क्रमित भए।”

तीमध्ये बुधवार अपराह्णसम्म ७२ जना निको भइसकेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ बाट मृत्यु भएकाको 'मलामी' बनेको नेपाली सेना

‘मापदण्ड कडाइका साथ लागु गरिने’

सुरक्षाकर्मीहरू जति सङ्क्रमित देखिँदैछन् निको भएर फर्किनेहरू पनि बढिरहेकाले आत्तिनुपर्ने अवस्था नरहेको सुरक्षा निकायका उच्च अधिकारीहरूले बताएका छन्।

तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, नियमित हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजरको प्रयोग गर्ने तथा सुरक्षाकर्मीको पोसाकसरह मास्क लगाउने कुरालाई कडाइ गरिने उनीहरूको भनाइ छ।

सशस्त्र प्रहरीका प्रवक्ता अर्यालले भने, “हामीले पीपीई तथा अनुहार छोप्ने ‘फेस शील्ड’ जस्ता व्यक्तिगत सुरक्षा सामग्री पनि उपलब्ध गराएका छौँ।”

प्रहरी

नेपाल प्रहरीका कर्मचारीले पनि विगत केही दिनेदेखि सीमावर्ती क्षेत्रहरूमा फेस शील्डको प्रयोग गर्दै आएका छन्।

सशस्त्र प्रहरीले सुरक्षाका उपाय सिकाउन चिकित्सकको टोली पनि सीमावर्ती क्षेत्रमा खटाउन लागेको छ।

नेपाली सेनाले भने सङ्क्रमणको सम्भावना भएका स्थानमा काम गर्नेहरूका लागि सेल्फ आइसोलेशनको व्यवस्था मिलाउने प्रवक्ता पौडेलले बताए।

महानिरीक्षक थापा भन्छन्, ‘सडकबाट प्रहरीको उपस्थिति घट्दैन’

सर्वसाधारणसँग प्रत्यक्ष सम्पर्कमा काम गर्दा कोरोनाभाइरस सङ्क्रमण बढ्दै गए पनि कार्यक्षेत्रबाट नेपाल प्रहरी नहट्ने महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताएका छन्।

उनले बीबीसीसँग भने, “प्रहरीमा सङ्क्रमण बढ्यो भनेर प्रहरीको अरनखटनलाई घटाउँदैनौँ। हामीसँग जगेडामा रहेका प्रहरीहरू काम प्रभावित नहुनेगरी खट्छन्।”

महानिरीक्षक थापाले नेपाल प्रहरीले विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसरण गर्ने बताए।